के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
–राकस्था
प्रदेश नम्बर दुईमा बिहीबार र शुक्रबार अनिवार्य विज्ञान र सामाजिक शिक्षाको एसईई प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि शिक्षा मन्त्री, गृह मन्त्री, शिक्षा अधिकारीलगायतको क्षमता र व्यवस्थापनमाथि प्रश्न उठेको छ ।
प्रश्नपत्रको सुरक्षा र परीक्षा सञ्चालनको जिम्मेवारी पाएका व्यक्ति तथा निकायहरूको असावधानी वा निहीत स्वार्थको कारण प्रश्नपत्र बाहिर आएकोमा कुनै शङ्का छैन । केही व्यक्तिको बदमासीको कारण हजारौँ विद्यार्थीको समय र श्रममात्र होइन देशकै लगानी पानीमा मिलेको विषयलाई राज्यले सानो घटनाको रूपमा लिनु गलत हुनेछ । यसले लाखौं विद्यार्थीमा जीवनपर्यन्तको निम्ति नकारात्मक असर पर्ने सम्भावनाप्रति गम्भीर भई घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नु आवश्यक छ ।
नेपालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक प्रदेश स्तरबाट एसईई परीक्षा लिइएर पनि हरेक वर्षझैँ यसपटक पनि प्रश्नपत्र बनाउने जिम्मा केन्द्र सरकारको रहेको हो । प्रश्नपत्रको सुरक्षाको जिम्मेवारी प्रहरीको भएको हिसाबमा पहिलो प्रश्न देशको गृहप्रशासन संयन्त्रमा जान्छ । रक्षक नै भक्षक भएसम्म कुनै पनि संरचनाले काम गर्दैन, तसर्थ नेपालको प्रहरी प्रशासनमा व्यापक परिवर्तनको आवश्यकता हुन्छ । अर्कोतिर शिक्षाका ठेकेदारहरू भ्रष्ट प्रहरीको भर्याङ चढेर आपराधिक कर्म लीन हुनु अर्को गम्भीर पक्ष हो । एकातिर विद्यार्थीलाई उचित शिक्षादीक्षा नदिने अर्कोतिर विद्यार्थीलाई अपराधउन्मुख बनाउनु अर्को घातक पक्ष हो ।
प्रदेश नम्बर दुई तुलनात्मक रूपमा शिक्षामा पछाडि परेको मानिन्छ । यो प्रदेश विगतमा यस्तै राष्ट्रिय परीक्षामा चिट चोरीका घटना अत्यधिक हुने क्षेत्रको रूपमा दुर्नाम छ । तराईमा सक्रिय भनिएका मधेशवादी पार्टीहरूले त्यस क्षेत्रको शिक्षाको विकासमा कति काम गरे भन्ने परीक्षामा हुने अनियमितताले पनि झल्काइरहेको विश्लेषण हुनु स्वाभाविक हो । विद्यार्थीलाई चिट चोर्न बाध्य पार्ने शिक्षक, प्रधानअध्यापकलगायतले आफ्नो प्रदेशसमेतको बदनामीको मूल्य तिर्नुपर्छ । विद्यार्थीले पनि गलत उपाय गरी परीक्षामा उत्तीर्ण गरी नक्कली प्रमाणपत्र पाउनुको कुनै औचित्य नहुने बरु त्यो जीवनको निम्ति नै धोका हुने मनन गर्नु आवश्यक छ ।
Leave a Reply