भर्खरै :

सिन्च्याङदेखि सिस्वानबानासम्म–३

नीरज लवजू
बेलुका सिन्चाङ प्रान्तको चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा पार्टीका केन्द्रीय सदस्य छेन छ्वान कोले विभिन्न देशबाट विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गरी आएका प्रतिनिधिमण्डल सदस्यहरूको स्वागतमा रात्रिभोज आयोजना गरेका थिए । छोटो औपचारिक कार्यक्रमपछि रात्री भोज आरम्भ भयो । अलग–अलग टेबुलमा चिनियाँ र विभिन्न देशबाट आएका प्रतिनिधिहरू बस्ने बन्दोबस्त गरिएको थियो । हामी २१ नं टेबुलमा थियौं । हामीसँगै थिए, मई चिङ । उनीसँग मैले पुरानो भेटको कुरा उप्काएँ । उनले हामी चीन पुग्नुअघि नै मेरो तस्वीरबाट मलाई चिनिसकेको बताए । सन् २०१३ मा हाम्रो भेटपछि केही समय उनी पाकिस्तानस्थित चिनियाँ राजदूतावासमा काम गरेका थिए । उनको पाकिस्तान बसाईबारे छोटो कुराकानी भयो ।
हाम्रो आडैमा थिइन्–छियान शेनान । बिहान मुस्लिम इन्स्टिच्युटमा उनीसँगै चीनमा धर्म परिवर्तनबारे केही कुराकानी भएको थियो । संयोग रात्रीभोजमा हामी एउटै टेबुलमा प¥यौं । उनी इन्डोनेसियाली भाषाबोल्ने अनुवादिका हुन् । चिकपा अन्तर्राष्ट्रिय विभागअन्तर्गत विभिन्न भाषाको अनुवाद गर्ने सयौं युवामध्ये उनी पनि एक जना हुन् । उनले चार वर्ष लगाएर इन्डोनेसियाली भाषा सिकेको बताएकी थिइन् । उनलाई अङ्गे्रजी भाषामा भन्दा इन्डोनेसियाली भाषामा आफ्ना कुरा भन्न सहज लाग्ने बताइन् । इन्डोनेसियामा उनको आवतजावत भइरहने पनि बताइन् ।
नेपालबारे उनलाई एउटै कुरा थाहा रहेछ–नेपालमा अभिवादन गर्न ‘नमस्ते’ भन्नुपर्छ ।
चीनका नयाँपुस्ता पुरानो पुस्ताका चिनियाँक्रान्तिका नेताहरू माओ त्सेतुङ, तङ स्याओपिङबारे कममात्र ध्यान दिन्छन् भन्ने कुरामा कतिको सत्यता छ भनी सोध्दा उनले सिधै नकारिन् । बिदाको समयमा चीनका विभिन्न प्रान्तका किशोर–किशोरी र युवाहरू पेइचिङ जाँदा माओको स्मारक हेर्न ठूलो लाइन बस्ने गरेको र विद्यालयको पाठ्यपुस्तकमा पनि चिनियाँ क्रान्तिको इतिहासबारे पढाइ हुने बताइन् ।
सी चिनफिङ पूर्ववर्ती नेताहरू हु चिन्ताओ र च्याङ चमिनभन्दा शक्तिशाली भएको हो भनी सोध्दा उनले निकै सटिक उत्तर दिएको महसुस भयो । भनिन्–सबै नेताहरूले आ–आफ्नो समयमा भूमिका खेले । अहिले सीले खेलिरहेका छन् । कुनै पनि विचारधारा कोही एक जना व्यक्तिको मात्र विचार हुने गर्दैन । बरु त्यो नेतृत्वको सामूहिक कार्यको नतिजा हुने गर्दछ ।
अर्को कुसीमा चिकपा अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल र भारतको डेक्स हेर्ने युवा कार्यकर्ता थिए– मिस्टर ल्यु । उनीसँग नेपालको राजनीतिक परिस्थितिबारे कुराकानी भयो । नेपालको अवस्थाबारे उनलाई विशेष चासो थियो । नेपालमा कम्युनिष्ट नाम राखेको पार्टी नेतृत्वको सरकारले किन कम्युनिष्ट सरकारले गर्नेजस्तो काम गर्न सकेन भन्ने विषयमा उनको चासो देखियो ।
नामले कम्युनिष्ट भएर काम नवउदारवादी नीतिलाई नै अँगाल्दा नेकपाको सरकारले कम्युनिष्ट सरकारले गर्ने काम गर्न नसकेको विषय उठ्दा नजिकै पल्लो कुर्सीमा बसेका ब·लादेशी मित्रले सहमति जनाउँदै भने, नवउदारवादी अर्थनीति नै समस्या हो । नवउदारवादी नीति अँगालेर समाजवादी कार्यक्रम लागू गर्न सकिंदैन ।
ल्युलाई सोधियो, चिनियाँ युवाहरू आफ्नो जीवन कस्तो भयो भने जीवन सफल भएको मान्छन् ?
उनको जवाफ मलाई चित्तबुझ्दो लाग्यो । “हामीभन्दा अघिको पुस्ताको जीवनभन्दा हाम्रो पुस्ताको जीवन राम्रो भयो । हाम्रो जीवनको लक्ष्य भनेको हामीभन्दा पछिका पुस्ताको जीवन हाम्रो पुस्ताको भन्दा अझ सुन्दर बनाउने हो । त्यसको निम्ति हामीले मिहिनेतपूर्वक काम गर्नु नै जीवनको लक्ष्य हो ।”
२७ फेब्रुअरी २०१९ (१५ फागुन २०७५)
राति झण्डै ८ बजे युनानको कुन्मिङमा आइपुगेका थियौं । झण्डै चार घण्टाको विमानयात्रा पछि सिन्च्याङको उरुम्चीबाट यहाँ पुगेको केही बेर भयो । हामीसँगै आएका चिनियाँकम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका साथीहरूले भोलि बिहानै सिस्वानबानाको लागि उड्ने जानकारी दिए । आजको रात यहाँ सुत्ने मात्र भएकोले लगेज पनि उनीहरूले नै राखेका थिए ।
हिउँको सिरक ओडेको उरुम्ची सहर छोडेर काठमाडाँैकै हावापानीसँग मिल्दोजुल्दो कुनमिङमा आइपुगेका थियौं । बाहिर शीतल हावा चलिरहेको थियो । उरुम्चीको ठिहि¥याउने हावालाई बिदा गरेको पनि पाँच– छ घण्टा भइसकेको थियो । पाकिस्तानका सात, ब·लादेशका आठ र नेपालका आठ जना प्रतिनिधिमण्डल सदस्य तीन चार दिनका लागि सँगै थियौं ।
सिन्च्याङको राजधानी उरुम्चीमा बिहान भ्रमणकै सबभन्दा प्रमुख कार्यक्रम सम्पन्न भयो । सिन्च्याङमा हामी बसेको होटेलको आडैको सिटी हलमा आदिबासी जनजाति जनताको जीवनस्तर उकास्न चीनले गरिरहेका गतिविधि, उपलब्धि र सिकेका पाठबारे भव्य कार्यक्रम भएको थियो । झण्डै ५ तल्लाको भव्य भवनको सबभन्दा माथिल्लो तल्लामा रहेको विशाल सभा कक्षमा सयौं विदेशी तथा चिनियाँ अधिकारीहरूको सहभागितामा सो सम्मेलनको आयोजना गरिएको थियो । ३० देशका पचास पार्टीका दुई सय विदेशी प्रतिनिधिहरू सो कार्यक्रममा सहभागी थिए ।
सिन्च्याङका विभिन्न क्षेत्रमा क्रियाशील तीन जना चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूले आ–आफ्नो क्षेत्रमा आदिबासी र अल्पसङ्ख्यक जनताको जीवनस्तर उकास्न भइरहेका कार्यक्रम तथा समुदायमा रहेका विभिन्न जाति–जनजातिबीचको एकता र सद्भावपूर्ण सम्बन्धका गतिविधिबारे बोलेका थिए । चिनियाँ कम्युनिष्ट पार्टी अक्सुका सचिव नियाज असिमले आफ्नो क्षेत्रका आदिबासी उइगुर र हान जातिबीचको मेलमिलापपूर्ण सम्बन्धका विभिन्न उदाहरण प्रस्तुत गरेका थिए । उनले हान दम्पत्तीले उइगुर जातिका दुई केटीलाई छोरी बनाएर शिक्षादिक्षा दिएको, हान र उइगुर व्यवसायीबीच व्यापारिक साझेदारी बढेको तथा विभिन्न सामुदायिक केन्द्रमा सबै स्थानीय जातिहरूबीच सद्भावपूर्ण सम्बन्ध कायम रहेका उदाहरण सचित्र प्रस्तुत गरेका थिए ।
हान जातिका मानिसले रचना गरेका उइगुर भाषाका गीत अक्सुमा निकै लोकप्रिय भएको जस्ता रोचक कुरा पनि उनले जानकारी दिए ।
चिनियाँकम्युनिष्ट पार्टी खासगर प्रिफेक्चरको शुफु काउन्टीका ताङ लिमिङले भने आफ्नो क्षेत्रको विकासका लागि अवलम्बन भइरहेको नयाँ मोडेलबारे चर्चा गरे । चीनका पूर्वी तटीय सहरहरूले अन्तर्राष्ट्रिय जगतलाई समेत माथ पार्ने तहको विकास र समृद्धि हासिल गरिसकेका छन् । चालीस वर्षअघि चीनले थालेको सुधार र खुलापनको नीतिले विशेषतः समुद्र छेउछाउका सहरमा विकास र समृद्धिको बहार ल्यायो । चीनका क्वानचाओ, साङ्घाई आदि सहरले छोटो समयमै ठूलो आर्थिक प्रगति गरे । तर, विशाल चीनका धेरै क्षेत्र भने पछौटेपन र गरिबीको दलदलमा फसेकै थियो । सन् १८४० को दसकमा भएको अफिम युद्ध यता लगातार विदेशी थिचोमिचो सामना गर्दै आएको चीनमा सन् १९४९ मा जनवादी गणतन्त्र स्थापना भयो । उपनिवेशवादी शासनबाट मुक्त भए पछि चीनमा आर्थिक विकास र समृद्धिको आधार तयार भयो । त्यही जगमा झण्डै पौने शताब्दी पछि चीनले सुधार र खुलापनको नीति अङ्गाल्यो । सो नीतिको सफल कार्यान्वयनले चीनलाई आजको शक्तिशाली र समृद्ध देश बनाएको छ । तर, सम्पूर्ण चीनमा सन्तुलित विकास गर्नु भने अझै पनि चुनौती नै हो । विशेषतः तिब्बत र सिन्च्याङ जस्ता दुर्गम प्रान्तमा विकास र समृद्धि भर्खरै तर तीब्रतर गतिमा अघि बढिरहेको छ ।
लिमिङले दिएको जानकारीअनुसार चीनका विकसित पेइचिङ, क्वानचाओ, साङ्घाई जस्ता सहरबाट शिक्षक, चिकित्सक र अन्य क्षेत्रका विज्ञहरू सिन्च्याङका विभिन्न क्षेत्रका जनताको जीवनस्तर उकास्न परिचालित छन् । हजारौंको सङ्ख्यामा स्वंयसेवकहरू सिन्च्याङमा शिक्षकको रूपमा काम गरिरहेका छन् । साथै, ती सहरका विभिन्न उद्योग सिन्च्याङमा स्थापना गरी त्यहाँका जनतालाई रोजगारी दिने काम भइरहेको छ । कृषि प्रविधि र पशुपालनका नयाँ–नयाँ प्रविधि र बजार बिस्तारले सिन्च्याङका जनतालाई गरिबीबाट उकास्न मात्र सहयोग गरिरहेको छैन, बरु सि·ो चीनलाई सन्तुलित विकासको पथमा हिँडाउन खोजिंदैछ ।
विशेषतः शिक्षा र आर्थिक स्तरको उन्नतिले सिन्च्याङको अवस्थामा परिवर्तन गर्न चीन लागिरहेको देखिन्छ ।
मध्य र मध्यपूर्वी एसियाका विभिन्न मुसलमान बाहुल देशमा भइरहेका हिंसात्मक अस्थीरताप्रति चीन सचेत छ । प्राकृतिक र साधन–स्रोतका हिसाबले समृद्ध ती देशलाई आफ्नो नियन्त्रणमा राख्न पश्चिमा देशहरूले नै त्यहाँ कुनै न कुनै नामका युद्ध र अस्थीरता लादिरहेका हुन्छन् । प्रजातन्त्र र मानवअधिकारलाई आफ्नो ठेक्का जस्तै बनाई त्यसै आवरणमा पश्चिमा देशहरूले ती विकासशील देशमाथि हस्तक्षेप र हमला गर्दै आएका छन् । इराक, अफगानिस्तान, सिरिया, कुवेत आदि यसका उदाहरण हुन् । पश्चिमा देशहरूकै आडमा इजरायलले प्यालेस्टाइनलाई क्रमशः संसारकै नक्साबाट हटाउन खोजिरहेको छ । सके आफ्नो तखतमा राख्ने नभए कुनै एउटा बहाना बनाई आफ्नो नियन्त्रणमा बस्न नमान्ने देशलाई सिध्याउने वा कमजोर बनाउने पश्चिमा देशहरूको निकै पुरानो रणनीति हो । भेनेजुयलालाई आज त्यसको शिकार बनाउन खोजिंदैछ । चीन आज पश्चिमा देशहरूको लागि पन्छाउनै नसकिएको चुनौतीको रूपमा उदय भइरहेको छ । संसारभरको आफ्नो प्रभुत्वलाई चुनौती दिने चीनको आर्थिक उदयलाई नियन्त्रण गर्न पश्चिमा शक्तिहरू हरेक प्रकारका जालझेल गरिरहेका हुन्छन् । कतिबेला व्यापार युद्ध, कतिबेला मानव अधिकार उल्लङ्घन, कतिबेला कम्युनिष्ट ‘तानाशाही’ त कतिबेला धार्मिक अत्याचारका बहानाबाजीमा चीनको बदनाम गर्न उनीहरू लागिरहेका हुन्छन् । कुनै बेला सोभियत सङ्घको विकास र शक्ति पश्चिमा देशहरूको लागि असह्य भएको थियो । संशोधनवादलाई मलजल गरी सोभियत सङ्घलाई पराजीत गरे पछि अहिले चीन पश्चिमा देशको निशाना बनिरहेको छ । तर, चीन हिजोको गल्ती दोहो¥याउने पक्षमा छैन अथवा त्यसबारे ऊ निकै सचेत छ । पश्चिमा शक्तिले कुनै पनि छिद्र प्रयोग गरी चीनलाई कमजोर बनाउन सक्नेमा चिनियाँ नेतृत्व सजग छ ।
संसारभर मुसलमान बाहुल्यता भएका देशमा अतिवादी शक्तिलाई नै प्रयोग गरी पश्चिमा देशहरूले आफ्नो दुनो सोझ्याइरहेको परिस्थितिमा सिन्च्याङ उइगुर क्षेत्रमा बाक्लै बसोबास रहेका उइगुर मुसलमान समुदायको काँधमा बन्दुक राखी चीनको समृद्धि र विकासमाथि हमला हुन सक्नेप्रति सचेत बन्दै चीनले आज सिन्च्याङलाई विकासको मुलधारमा हिंडाउन खोजिरहेको छ ।
सिन्च्याङ चीनको ‘सिग्नेचर प्रोजेक्ट’ एक क्षेत्र–एक बाटो (वान बेल्ट वान रोड) परियोजनाको लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण क्षेत्र हो । सिन्च्याङ हुँदै एक क्षेत्र–एक बाटोअन्तर्गतको अन्तर्राष्ट्रिय मार्ग इरान र युरोपसम्म बिस्तार भइसकेको छ । चीनले प्राचीन रेशम मार्गलाई पुनर्जीवन दिई आजको युगको सेवा गर्न लागिरहेको छ । त्यही प्राचीन रेशममार्गको प्रमुख केन्द्र नै सिन्च्याङ हो । पश्चिमा शक्तिहरू विशेषतः संरा अमेरिका चीनको ‘एक क्षेत्र–एक बाटो’ परियोजनालाई संसारमा चीनको प्रभाव बिस्तारको रूपमा बुझेर त्यसलाई विफल बनाउन हरप्रयास गरिरहेको छ । आफूले भन्दा मान्ने देशलाई चीनको उक्त परियोजनामा सामेल नहुन दबाब मात्र दिने गरेको छैन, बरु यो कार्यक्रमको प्रतिरोधमा विभिन्न क्षेत्रीय गठबन्धन समेत निर्माण गर्न थालेको छ ।
यस्तो परिस्थितिमा सिन्च्याङ चीनको प्राथमिकतामा पर्नु स्वाभाविक हो । सिन्च्याङका सबै धर्म र जातिका जनतालाई चीनको आर्थिक विकास र समृद्धिको दिशामा अघि बढाउन चीनले लगानी गर्नुका साथै संसारलाई वास्तवमा सिन्च्याङको अवस्था पश्चिमा सञ्चारमाध्यमले प्रचार गरेभन्दा निकै फरक भएको देखाउन खोजिरहेको छ ।
शरीरको एक ठाउँमा चोट लागे जसरी पूरै शरीरमा पीडा हुन्छ, त्यसरी नै चीनको कुनै पनि क्षेत्रमा कुनै प्रकारको समस्या वा अस्थीरता भए त्यसले सि·ो चीनको विकास र समृद्धिको बाटोमा अवरोध गर्ने वास्तविकताबाट चीनको नेतृत्व सचेत देखिन्छ । कुनै पनि देशमा असन्तुलित विकास पनि विद्रोह र अस्थीरताको कारण बन्ने गर्दछ । त्यसकारण चीनकै विकसित सहरहरूले सिन्च्याङसँग आज सहकार्य र सहयोग गरिरहेका छन् ।
सम्मेलनमा सिन्च्याङमै आधारित गोल्डिङ कम्पनीका प्रबन्धक ऊ काङले आफ्नो कम्पनीले बेल्ट एण्ड रोड कार्यक्रममा समेटिएका विभिन्न देशमा निर्माण गरेको वायु ऊर्जा केन्द्रबारे जानकारी दिए । उत्तर अमेरिकामा मात्र सो कम्पनीले ६८१.२ मेगावाट बराबरको ऊर्जा उत्पादन गर्ने वायुउर्जा केन्द्र बनाइसकेको बताइयो । उत्तरी चीनमा सोही कम्पनीले १२,६३४.९ मेगावाट उर्जा उत्पादन गरिरहेको छ । सिन्च्याङकै सो कम्पनीका प्रबन्धकको प्रस्तुतिले सिन्च्याङ आधुनिक प्रविधिको विकासमा पनि तीब्र गतिमा अघि बढिरहेको देखाएको छ । सो कम्पनीले पाकिस्तानको सिन्ध उपत्यका, उत्तरपूर्वी पाकिस्तानको मरुभूमि क्षेत्र, टर्कीको अत्याधिक हिउँ पर्ने क्षेत्र, मध्यपूर्व र अफ्रिकामा पनि वायु उर्जा केन्द्र अत्यन्त प्रतिकूल परिस्थितिबीच स्थापना गरेको काङले बताए । अस्टे«लियामा पनि त्यो कम्पनीले विभिन्न ठाउँमा ऊर्जा केन्द्र स्थापना गर्न मद्दत गरेको जानकारी रोचक थियो ।
क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *