भर्खरै :

आठौँ बृहत् राष्ट्रिय खेलकुद

– कुमार चौलागाईं/मुना कार्की
काठमाडौँ, १७ चैत । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १ हजार ३०७ पदकका लागि ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा ५ हजार २११ जना खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला खेलाडीहरूको सहभागिता रहनेछ ।
प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सातौँ राष्ट्रिय खेलकुदमा रु. १० हजार व्यवस्था गरिएकोमा आठौँ राष्ट्रिय खेलकुदमा यसमा वृद्धि गरी रु. १५ हजार र सामूहिक स्पर्धातर्फ सातौँ राष्ट्रिय खेलकुदमा रु. ५ हजार व्यवस्था गरिएकोमा आठौँमा त्यो रकम वृद्धि गरी रु. ७ हजार पु¥याइएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही रु. २५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा टोली प्रशिक्षक ६४० र टोली व्यवस्थापक ४६१ को सहभागिता रहनेछ । प्रतियोगितामा ३५ खेलहरू फूटबल, एथलेटिक्स, बक्सिङ्ग, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, व्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटीएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराँते र हक्की रहेका छन् ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरी जम्मा १ हजार ३९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियलसमेत गरी १० हजारको सहभागिता रहने राखेपले जनाएको छ ।
प्रतियोगितामा विभागीय टोलीबाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि रु. ४ करोड ६७ लाख १७ हजार २०० खर्च लाग्नेछ भने रेफ्रीहरूको यातायात र निर्णायक भत्तातर्फ रु. ५६ लाख ३३ हजार ५०० लाग्ने परिषद्ले जनाएको छ ।
जिल्लास्तरीय खेलाडी छनौटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरी ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनौट सम्पन्न गरिसकिएको र यसका निमित्त रु. ३ करोड ५ लाख ४० हजार खर्च भएको परिषद्ले जनाएको छ ।
प्रदेश प्रतियोगिता तथा छनौट, बन्द प्रशिक्षण, यातायातसमेतका लागि सातै प्रदेशलाई रु. १९ करोड ९० लाख निकासा गरी प्रदेश नं. ३ र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो छनौटबाहेक ३५ वटै खेलका खेलाडीहरू छनौट भइसकेका छन् । प्रदेश नंं ३ को तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २३ देखि २५ गतेसम्म हुने र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २० देखि २२ गतेसम्म हुने परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई खेलाडी छनौट तथा खेल सामग्रीका निमित्त रु. ७ लाखका दरले रु. २१ लाख निकासा गरिसकिएको र सम्बन्धित विभागबाट खेलाडी छनौट भई विभागमै प्रशिक्षणरत रहेका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को तर्फबाट नौ देशका २४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा १२५ ‘भोलेन्टियर’ प्रशिक्षकलाई ७७ जिल्ला खेलकुद विकास समिति र सातै प्रदेशमा प्रशिक्षण गराउने गरी नियुक्ति दिई कामकाजमा लगाइएको छ ।
प्रतियोगिताका लागि रु. ४३ करोड ८५ लाख ५१ हजार ६५० खर्च लाग्ने र चालू आ.व. मा विनियोजित रु. १७ करोड ८४ लाख ५९ हजार र अर्थ मन्त्रालयले थप निकासा गरेको रु. १५ करोड गरी रु. ३२ करोड ८४ लाख ५९ हजार राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा भइसकेको तथा बाँकी नपुग रकम रु. ११ करोड ९२ हजार ६५० निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरिएको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री, खेल सङ्घ प्रतिनिधिको सङ्ख्या तथा कोटा निर्धारण भइसकेको तथा प्रतियोगिताका निमित्त खेल सामग्रीको व्यवस्था भइसकेको छ । आठौँ राष्ट्रिय खेलकुदको समुद्घाटन नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्यरूपमा गरिने छ भने समापन वैशाख ११ गते साँझ नेपालगञ्ज रङ्गशालामै सम्पन्न गरिनेछ ।
यसअघि परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०७५, आर्थिक कार्यविधि तथा खर्चका मापदण्डसहित मन्त्रिपरिषद्को निर्णयबमोजिम स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।
वैशाख ५ गते औपचारिक उद्घाटन गरिने भए पनि प्रतियोगितामा समावेश केही खेल भने चैत २७ गतेदेखि नै सुरु गरिने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका खेलहरू बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ ।
बाँकेमा पुरुष फूटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
त्यसैगरी दाङमा महिला फूटबल, एथलेटिक्स, कराँते, व्याटमिन्टन, बास्केटबल, आइटीएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकोले कास्की र काठमाडौँमा गर्न लागिएको हो । प्रत्येक दुई÷दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदको सुरुका तीन संस्करणबाहेक कुनै पनि राष्ट्रिय खेलकुद दुई वर्षको अवधिमा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *