भर्खरै :

विदेशीको सहायतामा देश चलाउन खोज्नु गलत

भक्तपुर, १७ चैत । ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहको शैक्षिकसत्र २०७५÷७६ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सिद्धान्तअनुसारको व्यवहार हुनुपर्नेमा जोड दिंँदै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू भक्तपुर नगरलाई देशकै नमुना बनाउन लागिरहेको बताउनुभयो । सरकारमा गएका दलहरूले जनताको भावनाअनुसार काम नगरेको बताउँदै भनपा प्रमुखले सहकारीको पैसा सञ्चालन नगरी विदेशीको सहायतामा देश चलाउन खोज्नु देशलाई विदेशीको नियन्त्रणमा राख्नु हो भन्नुभयो ।
सरकारले ललितपुरको बोङा र खोकनामा आधुनिकताको नाउँमा स्थानीय जनताको उठिवास गर्न नहुने विचार उहाँले राख्नुभयो ।
विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि जहाँ बसे पनि जहाँ काम गरे पनि अनुशासित भएर देश र जनताको पक्षमा एउटा इँटा थप्ने काम गनुपर्ने बताउँदै प्रमुखले सरकारले रोजगारीको व्यवस्थापन गर्न सक्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर शिक्षाको नमुनाको केन्द्र बनाउन लागेको र ख्वप अस्पतालको निर्माण कार्य भइरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ.सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य र ई.सुनिल दुवालले कलेजहरूको उद्देश्यका बारेमा बताउनुभयो । प्राध्यापक मोहनमूर्ति पन्तले सहरी विकास र योजना र डा.सुवेगमान बिजुक्छेंले भूकम्पीय क्षती न्यूनीकरणबारेमा प्रस्तुतीकरण दिनुभएको सो कार्यक्रममा अर्थक्वेक इन्जिनियरिङ विभागमा प्रमुख डा.मन्जिप शाक्य र अर्वान डिजाइन एण्ड कन्जरभेसन विभागका प्रमुख लिवास फैजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *