भर्खरै :

भ्रष्टाचारले खस्कायो विश्वविद्यालयको स्तर

भक्तपुर, १८ चैत । “कुनै पनि विषयलाई सूक्ष्म तथा गहन ढङ्गले अध्ययन गर्नु आवश्यक छ । सर्वहारा वर्गको हुकुम कार्ल माक्र्सको राजनीतिशास्त्रमा महत्वपूर्ण योगदान हो । मजदुर वर्गले नै पुँजीवादी व्यवस्थालाई समाप्त गरी समाजवाद स्थापना गर्छ । ”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल प्राध्यापक समाजद्वारा प्रकाशित ‘द एकेडेमी’ बुलेटिन विषयमा ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको आयोजनामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
मजदुरहरूको श्रम शोषणबाट नाफा सिर्जना हुने चर्चा गर्दै उहाँले अतिरिक्त मूल्य मजदुरहरूको श्रमको चोरी हो भन्नुभयो ।
भ्रष्टाचारले गर्दा नै विश्वविद्यालयहरूको गुणस्तर खस्किरहेकोले सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, “भनपाबाट सञ्चालित कलेजहरू भ्रष्ट प्रवृत्तिबाट टाढा हुनुपर्छ ।”
पुँजीपतिहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने उल्लेख गर्दै अध्यक्ष रोहितले पुँजीवादमा अनेक प्रकारको भ्रष्टाचार हुने चर्चा गर्नुभयो ।
“नेपाललाई भारतमा गाभ्ने भारतीय विस्तारवादको योजना रहेको थियो र छ । ठूलो ओहदामा बस्ने नेपालका केही माथिल्ला कर्मचारीहरू भारतीय विस्तारवादको चङ्गुलमा फसेका छन् र थाहै नपाई नेपालको अहितमा काम गरिरहेको जानकारी देशभक्त नागरिकहरूलाई छ” अध्यक्ष रोहितले भन्नुभयो ।
“वीरगञ्जको सुख्खा बन्दरगाह, भारतीय वाणिज्य दूतावासको कार्यालय र लुम्बिनीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल भारतीय विस्तारवादको स्वार्थअनुसार बनिरहेको हुँदा ती योजनाले नेपाललाई भन्दा भारतीय एकाधिकार पुँजीलाई धेरै फाइदा पुग्नेछ”, उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ठगहरूको घेरामा परेको र सरकारले घुमाइ–फिराइ भारतीय एकाधिकार पुँजीको हितमा सेवा गरिरहेको संसद्मा चर्चा चलेको अध्यक्ष रोहितले बताउनुभयो ।
सैद्धान्तिक र व्यावहारिकरूपमा सशक्त नयाँ पुस्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले विद्यालय र कलेजहरूबाट देश र जनतामा समर्पित हुने युवाहरू तयार हुने विश्वासका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यार्थीहरूलाई विवेकशील र देशभक्त बनाउन शिक्षकहरूले मेहनत गर्नैपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बौद्धिक समुदाय राजनीतिमा लाग्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “इमानदार व्यक्तिले राजनीति गरेन भने राजनीति मूर्ख, बेइमान र भ्रष्टाचारीहरूको नेतृत्वमा जाने र अन्ततः देश र जनताले दुःख पाउने हुँदा समाजका प्रबुद्ध वर्गले देश र कामदार जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यले राजनीति गर्नुपर्ने हुन्छ  ।”
शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र हुनुपर्ने मान्यता राख्दै भनपाले कलेज र जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भनपाका कलेजहरू देशको उदाहरणीय शैक्षिक संस्थाको रूपमा रहेको बताउनुभयो ।
“भनपाको अगुवाइमा सञ्चालन हुने ख्वप विश्वविद्यालयले बढीभन्दा बढी जनताको सेवा गर्नेछ”, उहाँले भन्नुभयो ।
“देश नवउदारवादको चङ्गुलमा फस्दै गएको छ । विदेशीको हित हुने गरी कानुनहरू संशोधन हुँदैछ । नेपालका प्राकृतिक स्रोत–साधनहरू एक–एक गर्दै साम्राज्यवादीहरूले कब्जा गरिरहेका छन् । यसबारे जनतालाई सचेत बनाउँदै देशको सार्वभौमिकता रक्षार्थ शिक्षकहरूले भूमिका खेल्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले समाजबारे चिन्तन गर्ने विद्यार्थी तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै जीवनमा निराशाको भावना नआउने गरी शिक्षकहरूले विद्यार्थीहरूलाई शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठ, शिक्षक तथा कर्मचारीहरू विष्णुप्रसाद किसी, कमिनिका न्याइच्याई, मीरा प्रजापति, जनकराज दास, प्रतिभा श्रेष्ठ, गोकर्ण दुलाल र उमा भट्टले बुलेटिनबारे अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *