भर्खरै :

सुरवीरलाई चेस उपाधि

भक्तपुर, १९ चैत । श्रमजीवी साकोसको २१ औँ स्थापना दिवस तथा ६२ आँै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित चन्द्रनारायण शुद्धाकार स्मृति खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले सहकारीले बचत तथा ऋण लिने व्यक्तिलाई सम्मान गरेजस्तै खेलाडीहरूलाई पनि सम्मान गर्नु सकारात्मक भएको चर्चा गर्दै खेल आपसी मित्रताको लागि हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद सुवालले संस्थाका सदस्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि जानकारी हासिल गर्नुपर्ने उल्लेख गर्दै आन्तरिक उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने काममा सहकारीले पनि लगानी गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी सिद्धान्तमा आधारित भई साकोसले खेल आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष गणेशलाल फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका युवा तथा समाज कल्याण उपसमितिका संयोजक लक्ष्मीनारायण कुसाथाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा पूर्वराष्ट्रिय च्याम्पियन सुरवीर लामा विजयी हुनुभएको छ । स्वीस लिग सात चरणमा उहाँले ५ जीत र दुई बराबरी खेल्नुभएको थियो । सुरबीरले उपाधिसँगै नगद १० हजार जित्नुभएको छ ।
दुईदिने टुर्नामेन्टमा समान ६ अङ्क भए पनि टाइब्रेकमा आयोजक श्रमजीवी साकोसका वर्तमान राष्ट्रिय च्याम्पियन मदनकृष्ण कायस्थ दोस्रो, मखन चेस क्लवका फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ तेस्रो हुनुभयो ।
आयोजक श्रमजीवीका गणेशमान दुवाल चौथो, काभ्रेका क्षितिज भण्डारी पाँचौँ, श्रमजीवीका राजेश कक्षपति छैटौँ, थापाथली चेस पार्कका सुमन राई सातौँ, काठमाडौँ चेस क्लवका केशव श्रेष्ठ आठौँ, दोलखाका आशिष फुँयाल नवौँ र ललितपुरका रत्न व्यन्जनकार दसौं हुनुभयो ।
स्थानीय खेलाडीमा भक्तपुर साकोसका विजय जति, अनरेटेडमा सिराहाका डा. जितेन्द्रकुमार साह, भेट्रानमा सङ्कटा क्लवका नवीन तण्डुकार उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *