–वीरेन्द्र कर्ण
वीरगञ्ज, २० चैत: पचहत्तर वर्षीया तसलिमा खातुनका ४० वर्षीया छोरी मुस्कीमा खातुन र छोरीकी २० वर्षीया गुलाबसा खातुनको एउटै चिहान भए पनि उहाँलाई अहिलेसम्म कतैबाट भरपर्दो राहत र क्षतिपूर्ति उपलब्ध नहँुदा पीडा झन बल्झिएको छ ।
आइतबार साँझ आएको विनाशकारी हावाहुरीले बाराको फेटा गाउँपालिका वडा नं १, ३, ६ र ७ को भलुही, पुरैनिया र भरवलीयामा सबैभन्दा बढी धनजनको क्षति भएको छ । तीन महीनाको दूधेबालकलाई काखमा च्यापेर चर्को घाममा आफ्नो भत्केको घर नियाल्दै ३५ वर्षीया नुरजाहा खातुनले बिलौना गर्दै भन्नुभयो, “काखे बालक पटकपटक दूध खान रोइरहेका छन् तर राहत नपाउँदा दूधेबालकसहित पाँच वर्षको छोरालाई बचाउन गाह्रो परेको छ ।”
हावाहुरीले खातुनको घर उडाउँदा घाइते भएका ६० वर्षीय ससुरा कमरुल अन्सारी, ४० वर्षीय पति हदिस अन्सारी र नौ वर्षका छोरा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेकाले बालकलाई लिएर राहत लिन कहाँ जाने भन्ने चिन्ताले सताइरहेको छ । हावाहुरीबाट पीडित फेटा गाउँमा अहिले राहत वितरण गर्ने सङ्घसंस्थाको सङ्ख्या बढ्दै गए पनि वास्तविक पीडित भने राहत पाउनबाट वञ्चित देखिन्छन् ।
“काखे बालक पटकपटक दूध खान रोइरहेका छन् तर राहत नपाउँदा दूधेबालकसहित पाँच वर्षको छोरालाई बचाउन गाह्रो परेको छ ।”
“नत ओत लाग्ने ठाउँ छ नत खानेपानी र शौचालयको व्यवस्था छ, पीडित त महामारीको चपेटामा पर्ने सम्भावना बढेर गएको छ”, जमियत उल्माए नेपालका महासचिव मोहम्द खालिद सिद्धिकीले भन्नुभयो, “हावाहुरीले पीडित भएकाको घरमा नत झुल नै छ नत खानेपानीको भरपर्दो व्यवस्था छ, पीडित समुदायको जीवन झन कष्टकर बन्दै गएको छ ।”
एकद्वार प्रणालीअनुसार राहत वितरण नहुँदा पीडित बढी आहत भएका छन् । पीडित बस्तीको निरीक्षणपश्चात् कुरा गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले भन्नुभयो, “राहत वितरण प्रक्रिया गलत भएको छ, नेताले राहत भन्दा आहत दिने गरेको तथा नेता हुल बाँधेर गाउँमा पस्दा धुलो उडेर पीडितको स्वास्थ्यमा असर पर्ने गरेको छ ।”
“हावाहुरीले पीडित भएकाको घरमा नत झुल नै छ नत खानेपानीको भरपर्दो व्यवस्था छ, पीडित समुदायको जीवन झन कष्टकर बन्दै गएको छ ।”
भिषण हावाहुरीबाट प्रभावित पीडितलाई राहत र पुनःस्थापनामा गम्भीर समस्या देखिएको छ । “गाउँभरि पालैपालो भीड लिएर नेता आउँछन् राहतका ठूलठूला घोषणा गर्छन्, राहत वितरण क्याम्प खडा गर्छन् तर राहत नदिएर हामीलाई गिज्याउने काम मात्र गर्छन्”, फेटा गाउँपालिका–६ पुरैनियाका लैस मियाले भन्नुभयो, “मान्छे नै मान्छे गाउँभरि छन् तर राहतको नाउँमा पाए पनि चिउराबाहेक केही छैन ।”
राहत वितरणमा देखिएको समस्याबारे बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण प्रक्रिया अव्यवस्थित भएपछि वास्तविक पीडितको लगत खडा गरी फेटा गाउँपालिकामार्फत् राहत वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । विनाशकारी हावाहुरीले सबभन्दा बढी फेटा गाउँपालिका वडा नं १, ३, ६ मा सबभन्दा बढी धनजनको क्षति भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मापदण्ड पु¥याएर निर्माण नगरेका पक्की भनिएका घरमा इँटाले थिचिएर अधिकांशको मृत्यु भएकाले अब निर्माण हुने संरचना मापदण्ड पु¥याएर निर्माण गरिने छन् ।”
दुई वर्ष वैदेशिक रोजगारको क्रममा कतारमा रही कमाएको रकमबाट गाउँमा पक्की घर निर्माण गरेका पुरैनियाका सहाबुद्धिन अन्सारीले भन्नुभयो, “हावाहुरीले त्यही पक्की घरमा थिचिएर आमा, श्रीमती र दुई छोरीले ज्यान गुमाउँदा मैले सबैथोक गुमाउनु परेको छ, कसैको घर छैन, कसैको परिवार छैन, कसैको खाने बस्ने, ओढ्ने, ओछ्याउने व्यवस्था नहँुदा ओतलाग्न समस्या छ ।”
“मापदण्ड पु¥याएर निर्माण नगरेका पक्की भनिएका घरमा इँटाले थिचिएर अधिकांशको मृत्यु भएकाले अब निर्माण हुने संरचना मापदण्ड पु¥याएर निर्माण गरिने छन् ।”
मङ्गलबार साँझसम्म बारा र पर्सामा गरी ३० को मृत्यु भएको छ भने करीब ७०० भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Leave a Reply