भर्खरै :

हुरी पीडितहरूलाई चोटसँगै भविष्यको चिन्ता

सरोज साह
वीरगञ्ज, २० चैत । चैत १८ गतेको भीषण हावाहुरीका कारण बारा र पर्साका प्रभावित क्षेत्रका अधिकांश जनता घरवारविहीन भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स अञ्जना श्रेष्ठका अनुसार हावाहुरीको दिन करिब २०० जनाको त्यस अस्पतालमा उपचार गरिएको थियो । तीमध्ये हाल १८ जनाको वार्डमा उपचार भइरहेको छ । उहाँका अनुसार एकजनालाई काठमाडौँ न्युरो अस्पतालमा रिफर गरिएको छ ।
बारा जिल्ला फेटा गाउँपालिका वडा नं. १ की ३० वर्षीया लाइचीदेवी मुखियाको टाउकोमा गम्भीर चोट लागेको छ । उनको ९ जनाको परिवारमा ६ जना घाइते भए । घाइतेमध्ये मुखियाका ससुराको सर्वोत्तम अस्पताल पानीट्याङ्कीमा उपचार भइरहेको छ भने दुई छोरी र सासूआमाको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका श्रीमान् जोखु मुखियाको हातमा गम्भीर चोट लागेको छ । तथापि परिवारका अन्य सदस्यको हेरचाहमै श्रीमान्को दिनचर्या बितिरहेको छ । अस्पतालमा बिरामीहरूको लागि खानाको व्यवस्था भएकोले तत्काललाई खानको लागि कुनै समस्या नभएको मुखिया परिवारले बताए । घाउ सामान्य भएर डिस्चार्ज भई घर फर्केपछि जीवन कस्तो होला भन्ने पीरले सताएको लाइचीदेवीले सुनाइन् ।
बाँकी पृष्ठ ८ मा
हुरी…
“घर भत्किसकेको छ । सम्पत्तिको नाममा त्यही एउटा घर थियो । घरका सबै सदस्य घाइते भएकाले घर फर्केपछि के खाने, कहाँ बस्ने ?”, उनले चिन्ता व्यक्त गरिन् । लाइचीकी श्रीमान् ज्यामी काम गर्छन् । परिवार श्रीमान्कै आम्दानीले चलिरहेको थियो । श्रीमान् आफैं ज्यामी काम गर्न नसक्ने भएपछि परिवार कसरी चल्ने हो ? यही चिन्ताले आफूलाई सताइरहेको उनले बताइन् । परिवारमा आम्दानीको अरु कुनै स्रोत नभएकोले छोराछोरीको पढाइ कसरी बेहोर्ने हो, उनलाई थाहा छैन ।
गाउँमा पीडितहरूलाई राहत वितरण भइरहेको खबर सुनेकी छिन् लाइचीले । तर, परिवारका सबै सदस्य अस्पतालमै कुर्नु पर्दा केही राहत सामग्री पाउन नसकेको दुःखेसो उनले पोखिन् । अस्पतालबाट फिरेपछि आफूले राहत पाउने या नपाउनेमा उनको चिन्ता छ ।
तराईमा दिनानुदिन बढ्दो गर्मी बढेकोले सरकारले पीडितको तत्काल उचित बन्दोबस्त गर्न ध्यान दिनुपर्ने देखिन्छ । त्यसो गर्न नसक्दा आगामी दिनमा पीडित गाउँमा नयाँ नयाँ समस्याले जनतालाई थप पिरोल्नेछ । हावाहुरी पीडितको उचित व्यवस्थापन नगर्दा स्वास्थ्य, सामाजिक र आर्थिक समस्या आउनेछ ।
१६ वर्षका घाइते हरिष पटेल प्रसौनीस्थित बेगा साह माविमा कक्षा ९ का विद्यार्थी हुन् । उनी वार्षिक परीक्षा सकाएर घर बसिरहेका थिए । हावाहुरीले घर भत्किँदा उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको परिवारमा पनि ८ जनामध्ये ४ जना घाइते छन् । उनका बुबा, आमा र भाउजू घाइते छन् । उनीहरूको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पटेलका पिताले अनिश्चित भविष्यबारे चिन्ता व्यक्त गर्र्दै भने, “२०७२ सालको भूकम्प पीडितलाई सरकारले अहिलेसम्म उचित राहत दिन सकेको छैन । हामीले कहिले राहत र सहयोग पाउने खोइ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *