भर्खरै :

त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट अब २४ घण्टामा

– शरद शर्मा
काठमाडौँ, २० चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घण्टामा नै उपलब्ध गराउने भएको छ । सुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी गराउनुभयो । त्रिविले ‘टीयु एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयरमार्फत निवेदन दिएको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो ।
ट्रान्सक्रिप्टका लागि सबै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’ मा सार्ने काम अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार कानुन र विज्ञान सङ्कायका विद्यार्थीको तथ्याङ्क सार्ने काम अन्तिम चरणमा पुगेको छ । त्रिविले विद्यार्थीको २०५४ सालदेखिको तथ्याङक सार्न थालेको हो । त्यसअघि त्रिविले हस्तलिखित ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो । त्रिविले शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको एक वर्षपछि अन्य सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको हो ।
विसं २०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । “हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियांै तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो” उहाँले भन्नुभयो, “अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छाँै ।”
त्रिविले मानविकी सङ्कायको (बिए) यसैहप्ताबाट ट्रान्सक्रिप्ट दिन थालेको हो भने व्यवस्थापन र विज्ञान सङ्कायको ट्रान्सक्रिप्ट चाँडै नै दिने तयारी थालिएको परीक्षा नियन्त्रक जोशीले जानकारी गराउनुभयो । त्रिविले सबै सङ्कायको ट्रान्सक्रिप्टका लागि एकद्वार प्रणालीमार्फत विवरण गर्ने छ । अहिले सङ्कायपिच्छे फरक÷फरक ठाउँबाट ट्रान्सक्रिप्ट दिने गरेको त्रिविले ‘ट्रान्सक्रिप्ट युनिट’ खडा गरेर एकद्वार प्रणालीबाट सबै सङ्कायका ट्रान्सक्रिप्ट दिइने उहाँले बताउनुभयो । त्रिविले स्नातकपछि स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट दिने भएको छ ।
परीक्षाफल तीन महिनामा
यसैगरी त्रिविले परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ । यसअघि परीक्षा दिएको नौ महिनासम्म परीक्षाफल प्रकाशित गर्ने गरेको त्रिविले अब तीन महिनामा परीक्षाफल प्रकाशित गर्ने छ । “अहिले परीक्षा दिएको पाँच महिनामा परीक्षाफल प्रकाशित गर्ने गरेका छौं” उहाँले भन्नुभयो, “अब हामीले परीक्षाफल तीन महिनामा प्रकाशित गर्ने गरी काम गरिरहेका छौं ।”
जनशक्ति कम
परीक्षा नियन्त्रक जोशीले कार्यालयमा कम जनशक्ति भएका कारणले काममा सहजता नभएको बताउनुभयो । उहाँले पहिलेकै जनशक्तिले काम गर्नुपरेकाले काममा ढिलाइ भएको बताउनुभयो । “क्याम्पसको सङ्ख्या बढेर अहिले करिब १ हजार २२४ रहेका छन्, ती क्याम्पसको सबै परीक्षाको कामदेखि ट्रान्सक्रिप्ट दिने काम हामीले गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर हामीले पुरानै जनशक्तिकै भरमा काम गरिरहेका छौं, जसले गर्दा काम छिटो हुन सकेको छैन ।”
प्रादेशिक कार्यालय स्थापना गरिने
यसैगरी परीक्षा नियन्त्रण कार्यालय प्रादेशिक तहमा जाने भएको छ । अहिले विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा क्षेत्रीय कार्यालयमार्फत काम गरिरहेको कार्यालय अब प्रादेशिक तहमा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *