भर्खरै :

सहकारीभित्रका विकृति अन्त्य आवश्यक

– सुविज्ञा
देशमा ६२ औँ राष्ट्रिय सहकारी दिवस मनाइरहँदा धेरैले सहकारी आन्दोलनको महत्व र व्यापकतामा जोड दिए । सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बा बनाउनुपर्छ भन्नेमा असहमति छैन । सहकारी संस्थामा प्रायः गरिब र निम्न वर्गका जनता सदस्य बनी आफ्ना समस्या समाधान गर्ने र आवश्यकता पूरा गर्ने मान्यता हो । सहकारीले समुदाय र सिङ्गो देशकै आर्थिक र सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । सहकारीका सिद्धान्त भनेका स्वेच्छिक र खुला सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता र स्वाधीनता, शिक्षा, तालिम र सूचना, सहकारीहरूमाझ आपसी सहयोग र समुदायप्रतिको उत्तरदायित्व हुन् । देशका धेरै सहकारीले सहकारीको सिद्धान्त परिपालना गरिरहेका छन् भनी मान्न सकिए पनि उत्तिकै सहकारीहरूले सिद्धान्त पालना नगर्ने र सहकारी संस्थाका नेतृत्वले आफूखुसी सिद्धान्त, नियम र विनियमको व्याख्या गर्ने प्रवृत्ति बढेको देखिएका र सुनिएका छन् । सहकारीमा आबद्ध सबै नै हामी भन्ने भावना हुनुपर्नेमा त्यहीभित्र आफ्ना र अरु, हामी र तिमी भनी विभाजन र भेदभाव गरिएको पनि देखेका छौँ । आफ्नाका लागि सबै कारोबारको नियम र विनियम खुकुलो र अरुका लागि कडाइ गर्ने, तालिम, अध्ययन भ्रमण आदि सबै अवसर आफू र आफ्नालाई नै मात्र पार्ने, सहकारी र समुदायको नेतृत्व र हितका लागि सक्रिय भूमिका निर्वाह गर्नेभन्दा ख्याती र भत्ताका लागि सञ्चालक समितिमा पद ओगटेर बस्ने प्रवृत्ति सहकारीमा अबका दिनमा आँखा चिम्लेर बस्न नसकिने विकृति– विसङ्गति हुन् । समुदायप्रतिको दायित्वको नाममा समुदायलाई आवश्यकभन्दा पनि आफ्नो व्यवसायलाई सघाउ पुग्ने गतिविधि आयोजना गर्ने, राजनीतिक आस्थाको आधारमा भेदभाव गर्ने, सहकारीको रकमलाई आफ्नो खल्तीको बिटोजस्तो सञ्चालन गर्ने, सहकारी सदस्यहरूको आलोचना र सुझावलाई मनन गर्ने र लागू गर्ने त के सुन्नै नचाहने असहिष्णुहरू नेतृत्वमा रहनु पनि सहकारी आन्दोलनका विकृति हुन् । सहकारीहरूमा बढेका यस्ता विकृति, विसङ्गतिहरु समयमै अन्त्य नगर्ने हो भने त्यसले सहकारी आन्दोलनलाई कमजोर बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *