भर्खरै :

क्रान्तिकारी महिलाहरूको जीवनीबारे अन्तरक्रिया

भक्तपुर, २१ चैत । नेपाल कर्मचारी समाज प्रभात मावि एकाइ समितिको आयोजनामा ‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले विसं २००७, ०४६ र ०६२÷६३ को आन्दोलन क्रान्ति नभई जनतामाथि दमन गर्ने पात्रहरूमात्र फेरिएको बताउनुभयो ।
क्रान्तिमा कामदार वर्गले मुक्ति पाउने उल्लेख गर्दै उहाँले कामदार वर्गमाथि शोषण र दमन गर्नेहरूलाई क्रान्तिले पत्तासाफ गर्छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “क्रान्तिबाट आएको सरकार भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसँग घुँडा टेक्दैन । निर्वाचनमा सत्ताको दुरूपयोग गर्दैन, गुण्डा प्रयोग गर्दैन ।”
“नेता पनि गुरू नै हुन् । नेतृत्वमा बौद्धिकता नै प्रमुख हुन्छ । भौतिक बल वा हतियार उठाएकाहरू सबै जनताका नेता होइनन्”, उहाँले भन्नुभयो ।
पुस्तकमा उल्लेख क्रान्तिकारी महिलाहरू महिलावादी नभई कम्युनिष्ट भएको उल्लेख गर्दैै सचिव सुवालले भन्नुभयो, “कम्युनिष्टहरूको उद्देश्य मजदुर वर्गको सेवा गर्नु हो । पुँजीपति वर्गको सरकारले मजदुर वर्गको समस्या समाधान गर्दैन । नेपालमा अहिले नामको मात्र कम्युनिष्ट पार्टीको सरकार छ कामले होइन ।”
“नेकपाको सरकारले भारतकै निर्देशनमा नागरिकता ऐन संशोधन गर्न विधेयक ल्याएको हो । भारतसँग खुला सीमा भएकोले नेपालको नागरिकता खुकुलो बनाउनु हुँदैन”, उहाँले भन्नुभयो ।
प्रदेश नं. ३ का सभासद् सृजना सैंजूले क्रान्तिकारी सिद्धान्तविना क्रान्तिकारी अभियान सफल नहुने चर्चा गर्दै महिलाको अनुहारमा समाजको चित्र चित्रित हुने बताउनुभयो ।
पुँजीवादी व्यवस्थाको अन्त गरी वर्गविहीन समाज स्थापनामा सङ्घर्षरत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले क्रान्तिकारी महिलाहरूको क्रान्तिकारी भावनाबाट सिकी समाजको लागि योगदान गर्नुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवा, विद्यालयका प्राचार्य कृष्णबहादुर प्रजापति, राजेन्द्र खड्का, कञ्चन ज्याख्व, राज्यश्वरी गाइजू, रामकेशरी कोजू, मनिष गोरा, सविना कासुला, मन्दिरा कैँटी, केशरी ब्याञ्जूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *