भर्खरै :

न्यायाधीश छनोटको आधार

सर्वोच्च अदालत र उच्च अदालतका रिक्त न्यायाधीश पदमा नियुक्तिका निम्ति सिफारिसको घटनासँगै नेपालको न्यायप्रणालीको दिशाहीनताबारेको चर्चा पनि चुलिएको छ । आफ्ना मानिससमेत भरपर्दा नभएर किनिएका मान्छेको भर गर्ने हदको समाज बनिरहेको परिवेशमा न्यायमूर्तिहरू छनोट प्रक्रिया अगाडि बढेको छ । समाजको यो प्रतिबिम्ब न्यायाधीश प्रस्ताव गर्ने न्यायपरिषद् बैठकमा देखिएकोमा नेपाली जनता आश्चर्यमा नहुनुपर्ने हो ।
सर्वसाधारणको निम्ति न्याय किन दुरुह बन्दैछ भन्ने कुरा न्यायाधीश पदमा हिजोदेखि आजसम्म भएका नियुक्तिका सिफारिसले छर्लङ्ग पार्दैछ । अब छनोट हुने न्यायाधीशहरू पनि शपथग्रहणपछि सीधै आ–आफ्नो पार्टी कार्यालयमा गई नेताहरूलाई आशीर्वाद थाप्न जानेछन् । व्यक्ति वा पार्टीप्रतिको जवाफदेहिताको उच्च मूल्याङ्कन हुनेछ, थप पुरस्कारको आदान–प्रदान निरन्तर हुनेछ । शासक वर्गको सत्ता र शक्ति अक्षुण्ण भइरहनेछ ।
नुनको सोझो गर्ने नेपाली संस्कृतिलाई नै आधार बनाएर नेता तथा उच्चपदस्थ व्यक्तिहरूले आ–आफ्ना मानिस भर्ती गर्ने होडको निर्लज्ज प्रस्तुति गर्न सकेको भन्दा फरक पर्दैन होला । तर एउटा कुरा निश्चित छ, कोही उच्चपदस्थ व्यक्तिको आफ्नो मानिसदेखि पार्टी र त्यसभित्रको गुट र नेताको आफ्नो नातागोता नै न्यायाधीश छनोटको आधार बनाइए पछि भोलि न्यायको निम्ति ती नै नेताका ढोका नचहारी नेपालीले सुख पाउन्नन् । कोही नेताका भाञ्जा, कोही भतिजा, कोही ज्वाईंँ वा नभए आफूलाई टुपी तानेर पदासीन बनाउनेका आफन्तजन हुनु नै न्यायाधीश बन्ने निम्नतम योग्यता बनाइएपछि फेरि पनि नेपालको न्याय ‘दैव’ ले पनि जान्दैन ।
त्यसै पनि मरेपछि औषधि भनेजस्तै न्यायको आशामा नेपाली मरिरहेको अवस्था छ । नेपाली न्यायप्रणालीको अलिखित इतिहासमा चोरलाई चौतारी र साधुलाई सुलीजस्ता फैसलाका हजारौं प्रमाण भेटिन्छन् । बजारमा सामान किनेसरि दलालहरूमार्फत न्याय किन्ने वातावरण बनिरहेको अवस्था वर्तमान पुँजीवादी व्यवस्थाकै सबभन्दा विकृत तथ्य हो । ढिलो न्याय पनि अन्याय भन्नेहरूले नै पीडितमाथि झन् पीडा थप्ने गरी फैसला दिने न्यायाधीशहरू पुरस्कृत गर्दा अब सर्वसाधारणले कहिल्यै अदालतको ढोका नचहारे भो भन्ने सन्देश प्रवाह भइरहेको छ ।
गोजीबाट न्यायाधीशको नाम प्रस्ताव गर्नेले सोचून्, सिता खाएर गीता गाउनेबाट भोलि धोका हुन्न भन्ने के ठेगान ? त्यस्ता न्यायाधीशले अर्को कुनै ‘स्वामी’ को भजन गाउन्न भन्ने के ग्यारेन्टी ? भोलि तिनले उनीहरूलाई मात्र होइन देशैलाई धोका दिनसक्छन् ।
न्यायाधीश छनोटको आधार के ? न्यायाधीश बन्न सबभन्दा मुख्य पक्ष भन्नु उनको योग्यता, दक्षता र इमानदारी हो । कुनै पनि लोभलालचमा नभुली निष्पक्ष न्याय दिने व्यक्तिमात्र न्यायाधीश बन्न योग्य हुन्छ । कुनै अस्वाभाविक धन आर्जन गर्ने मानिस कदापि न्यायमूर्ति बन्ने योग्यता राख्दैन । चोखो र योग्य व्यक्तिहरूबीच प्रतिस्पर्धा वा निर्वाचनको आधारमा न्यायाधीश छनोटको उपाय उपयुक्त हुन्छ । न्यायाधीशका उम्मेदवारले आफू योग्य, चोखो, इमानदार, निष्पक्ष भएको आफै पुष्टि गरोस् । त्यसबारे बहस होस्, छलफल होस् । न्यायाधीशहरूबीचको प्रतिस्पर्धाबाट छनोट भएका सर्वोच्च तथा उच्च अदालतका न्यायाधीशहरू ती नै न्यायाधीशहरू प्रति उत्तरदायी भएर काम गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *