भर्खरै :

दुई दाजुभाइ

लेफ ताल्स्तोइ
दुई दाजुभाइसँगै यात्रामा निस्किए । मध्यान्हमा उनीहरू विश्राम गर्न पल्टिए एउटा वनमा । जब उनीहरू सुतेर उठे, उनीहरूले देखेँ, उनीहरूको आडैमा एउटा ढुङ्गो छ, ढुङ्गामा केही लेखिएको पनि छ । उनीहरूले छानबिन गर्न थाले, अनि यस्तो पढे ः
“जसले यो ढुङ्गा फेला पार्छ, ऊ सिधै वनतिर जाओस् सूर्य उदाउने दिशामा । वनमा ऊ नदीमा आइपुग्नेछ, नदी तरोस् अनि अर्को किनारतिर जाओस् ऊ । उसले एउटी भालुनीलाई देख्नेछ आफ्ना बालबच्चाहरूसँग, भालुनीबाट उसका बाल–बच्चाहरू खोस र पछाडि फर्केर नहेरिकन दगुरेर सिधै पहाडमा जाऊ । पहाडमा एउटा घर देख्नेछौ तिमीले अनि पाउनेछौ त्यो घरमा खुसी ।”
दाजुभाइले पढे के लेखिएको थियो, अनि कान्छोले भन्यो, “ल सँगै जाऔँ । हामी नदी तरौँला, भालुका बच्चाहरूलाई त्यो घरसम्म लैजाऔँला, अनि सँगै खुसी पनि पाऔँला कि ?”
अब दाजु चाहिँले भने, “म भालुका बच्चाहरूको लागि वनमा जान्नँ र तँलाई पनि सल्लाह दिन्नँ । पहिलो कुरा ः कसैलाई पनि थाहा छैन– यो ढुङ्गामा साँचो कुरा लेखिएको छ भनेर, हुनसक्छ, यो सब हँसी मजाकको लागि लेखिएको हो । अँ, यो पनि हुनसक्छ, हामीले ठीक ढङ्गले बुझेका छैनौँ । दोस्रो कुरा ः अँ, साँचो नै लेखिएको होस् तापनि –हामी वनमा जान्छौँ, रात पर्छ अनि हामी नदीमा पुग्दैनौँ र अलमलमा पर्छाैँ । ल नदी फेला पा¥यौँ नै भने तापनि, अनि हामीले कसरी त्यो तरौँला नि ? हुनसक्छ, नदी तीव्र बहावको र चौडा छ ? तेस्रो कुरा ः नदी त¥यौँ नै भने पनि –भालुनीसँग बच्चाहरू खोस्नु के सजिलो काम हो ः उसले हामीलाई चिथोर्ने छ, अनि हामी चाहिँ, खुसीको सट्टा, त्यतिकै लापत्ता हुनेछौँ बेकारमा ।
चौथो कुरा ः यदि हामीलाई भालु–बच्चाहरू चोर्न भाग्यले साथ दियो नै भने पनि, हामी विश्राम नगरीकनै पहाडसम्म कुदेर जान सक्नेछैनौँ । मुख्य कुरा चाहिँः भनिएकै छैन– “हामीले यो घरमा कस्तो खुसी पाउने छौँ त ? हुनसक्छ, हामीलाई त्यो घरमा यस्तो खुसीले प्रतिक्षा गरिरहेको छ, जो हामीलाई आवश्यक छैन ।”
भाइले भन्यो, “मेरो विचारमा, त्यस्तो होइन । बेकारमा ढुङ्गामा लेख्न लागिरहने थिएनन् होला । अनि सब प्रस्टसँग लेखिएको छ । पहिलो कुरा ः हामीलाई कुनै दुःख आइपर्नेछैन, प्रयास ग¥र्यौँ नै भने पनि । दोस्रो कुरा ः हामी गएनौँ भने अरु कसैले ढुङ्गाको लेखोट पढ्नेछ, अनि खुसी पाउनेछ उसैले र हामी चाहिँ नकहीँकै रहनेछौँ । तेस्रो कुरा ः कोशिश नगर्दा र कामै नगर्दा, केहीले पनि संसारमा खुसी ल्याउने छैन । चौथो कुरा ः चाहँदिनँ म, मानिसहरूले सोचेको , म कुनै कुराबाट डराएको हुँ भनेर ।
त्यसपछि दाजुले भने, “उखानले पनि यसो भन्छ ः रोगीको लागि खुसी खोज्नु थोरै गुमाउनु हो ः अँ, अर्को कुरा ः सारसलाई आकाशमा वाचा नगर्नु बरु चराहरूलाई हातैमा देऊ ।”
भाइले भन्यो, “मैले चाहिँ सुनेको थिएँ –ब्वाँसोको डर लाग्छ, वनमा र्जादै नजानु, अँ अर्को पल्टिरहेको ढुङ्गामुनि पानी बग्दैन । मेरो विचारमा, जानुपर्छ ।”
भाइ गयो, दाजु चाहिँ पछि हटे ।
भाइ वनभित्र पसेको मात्र के थियो, ऊ नदीमाथि जाइलाग्यो, नदी त¥यो, अनि त्यहीँ किनारमा भालुनीलाई देख्यो । ऊ सुतेकी थिई । अब उसले भालु–बच्चाहरूलाई समात्यो र पहाडतिर कुद्यो पछाडि फर्केर नहेरिकनै । माथिसम्म कुदेको मात्र के थियो, उसलाई स्वागत गर्न जनता निस्किए उसको लागि बग्गी लिएर, उसलाई सहरमा लगे र राजा बनाए ।
उसले पाँच वर्ष राजकाज चलायो । छैठौँ वर्षमा, उसमाथि धावा बोल्यो नयाँ राजाले, ऊभन्दा बलियो, सहर जित्यो, अनि उसलाई हटाइदियो । त्यसपछि भाइ पुनः यात्रातिर लाग्यो, पछि दाजुकहाँ आइपुग्यो ।
दाजु गाउँमै बस्थे, उनी धनी थिएनन्, न त गरीबै । दाजुभाइ खुसी भए, आफ्नो सब जीवनबारे चर्चा गर्न लागे ।
दाजु चाहिँ भन्छन्, “यी यहाँ मेरो सच्चाइ निस्कियोः म सबै बेला शान्त र राम्रोसँग बसेँ, तर तैँले चाहिँ, राजा नै भए तापनि, धेरै दुःख देखिस् ।”
भाइले भन्यो, “ म त्यस्तो शोकै त गर्दिन, त्यसबेला वनमा गएँ भनेर, मलाई अहिले पनि दुःख छन्, तर मेरो जीवन सम्झिने केही कुराहरू छन्, तिम्रो चाहिँ सम्झिने त केही छैन नि ।”
राजा र कमिज
एकजना राजा बिरामी परेछन् र भनेछन् , म आधा राज्य नै दिनेछु त्यसलाई, जसले मलाई निको पार्ला ।
यसपछि सबै दिग्गजहरू भेला भए, अनि तर्क गर्न थाले कसरी राजालाई निको बनाउने भनेर । कसैलाई केही सुझेको होइन । मात्र एकजना प्रबुद्धले भने, राजालाई निको पार्न सकिन्छ भनेर । उनले भने , सुखी मान्छे फेला परेमा, उसको कमिज खोलिदिने र राजाको जीउमा लगाइदिने, राजा निको हुन्छन् ।
राजाले खोज्न पठाए त्यस्तो सुखी मान्छेलाई पूरा राज्यभरि, राजाका दूतहरू निकै बेर डुले देशभरि तर सुखी मान्छे पाउन सकेनन् । एउटै मान्छे थिएन, जो पूरापुर सन्तुष्ट भएको होस् । कोही धनी हुन्थ्यो, तर रोगी । कोही निरोगी हुन्थ्यो, तर गरीब, कोही स्वस्थ पनि हुन्थ्यो र धनी पनि हुन्थ्यो, तर स्वास्नी खराब हुन्थी, कसैको बालबच्चा खराब हुन्थे । सबैजना केही न केही गुनासो गर्थे ।
कुनै दिन बेलुका अबेरतिर राजाका छोरा एउटा झोपडी भएर जाँदै रहेछन्, अनि उनले सुनेछन् – कोही बोलेको ः
अहा ¤ हे भगवान, टन्न काम गरेँ, पेटभरि खाएँ, अब सुत्छुः मलाई अरु के नै चाहियो र ? राजाको छोरा प्रसन्न भए, अनि आदेश दिए, यो मान्छेबाट कमिज फुकाल्ने, उसलाई यसको सट्टामा पैसा दिने चाहेको जति, पछि कमिज राजाकहाँ पु¥याइदिने ।
दूतहरू सुखी मान्छेकहाँ पुगे, उसबाट कमिज खोल्न चाहे तर सुखी मान्छे यति तन्नम रहेछ कि उसको जीउमा कमिजै रहेनछ ।
दुई सहयात्री
कुनै एकदिनको कुरा हो । दुईजना साथी वनतिर गएछन् । एकजनासँग बन्दुक रहेछ भने अर्कोसँग चाहिँ रहेनछ । उनीहरू वनमा एकआपसमा गफ गर्दै डुल्दै रहेछन् ।
पत्तै नपाई उनीहरूले नजिकै एउटा भालु देखेछन् । यसपछि बन्दुक बोकेको साथी खुब डराएछ र एकाएक रुखमा चढेछ । बन्दुक नभएको साथी चाहिँ बाटोमा एक्लै परेछ । उता भालु भने ऊतिरै आएछ । अब उसले झटपट एउटा जुक्ति निकालेछ– ऊ मरेतुल्य भएर त्यहीँ बाटोमा लम्पसार परेछ । यसो उसले किन गरेछ भने भालुहरू मरेका मान्छे खाँदैनन् भन्ने उसलाई थाहा रहेछ । अब भालु उसको नजिकै आएछ, उसलाई सबैतिरबाट सुँघेछ र वनतिर लागेछ ।
यता भालु वनतिर लागेपछि रुखमा चढेको साथी पनि रुखबाट तल भुइँमा झरेछ, ऊ साथीकहाँ नजिकै गएछ र सोधेछ, “ए मित्र ¤ भन्भन् भालुले तँलाई कानमा खुसुक्क के भन्यो, हँ ?”
साथीको यस्तो प्रश्न सुनेपछि भुइँमा सुतेको पनि उठेछ र भनेछ, “उसले मलाई के भन्यो थाहा छ ?” उसले मलाई भन्यो, “साँचो साथीले आफ्नो मित्रलाई दुःखमा कहिल्यै पनि एक्लै छोडेर जाँदैन ।”
अनुवाद ः प्रा.बलराम अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *