अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
नीरज
चैत ७ गतेका दिन विश्व कविता दिवसको अवसर पारेर भक्तपुरको नमुना घरमा आयोजित कविता वाचन कार्यक्रममा लेखक प्रकाश सायमी पनि सहभागी थिए । सायमीलाई लेखकमात्र भन्दा धेरैलाई चित्त नबुझ्ला किनभने उनको व्यक्तित्वका अरु पनि धेरै आयाम छन् । चलचित्र निर्देशक, चलचित्र समीक्षक, कवि, नाटककार, नाटक निर्देशक आदि धेरै पत्र छन्, सायमीको व्यक्तित्वका । तथापि उनले लेखेको पुस्तकबारे चर्चा गर्दै गर्दा उनलाई लेखककै विशेषण प्रयोग गर्दा अत्युक्ति नहोला ।
संयोग, चैत ७ गते लेखक सायमीको जन्म दिन पनि थियो । गीतकार हरिहर तिमिल्सिनाले मीठो पारामा उनलाई जन्म दिनको शुभकामना दिंदै भने, “विश्व कविता दिवसको कार्यक्रममा तीनवटा काम गर्न पाइन्छ । पहिलो, कविता सुन्न पाइन्छ । दोस्रो, कविता सुनाउन पाइन्छ र तेस्रो, सबभन्दा रमाइलो प्रकाश सायमीलाई जन्म दिनको शुभकामना दिन पाइन्छ ।”
जन्म दिनको सन्दर्भ जोडेर आयोजक नुवागीले लेखक सायमीको हालै प्रकाशित पुस्तक ‘काठमान्डू मोन्ताज्’ लेखकको हस्ताक्षरसहित बिक्री गरेको थियो । त्यहीं हात लाग्यो, लेखकको पछिल्लो कृति ‘काठमान्डू मोन्ताज्’ उनको हस्ताक्षरसहित । हस्ताक्षरभन्दा माथि लेखिएको छ, विश्व कविता दिवसमा शुभकामनासहित ।
‘काठमान्डू मोन्ताज्’ कलाकार, निर्देशक, गायक, सङ्गीतकार, रङ्गकर्मी, गीतकार, साहित्यकारहरूबारे लेखिएका २६ निबन्ध सङ्ग्रहित कृति हो । लामो समयदेखि लेखक सायमी कलासाधनामा अनवरत लागिरहेका स्रष्टा भएकाले आफ्नो साधनाकर्ममा सङ्कलन गरेका जानकारी र भोगेका अनुभवलाई नै कृतिमा सङ्ग्रहित गरेका छन् । २६ मध्ये ‘जेरेनियम, तिम्रो नाम के हो ?’ ‘राहत’, ‘फ्रान्सको मौनता’ र ‘फोटो यात्रा’ फरक प्रसङ्गका निबन्ध हुन् भने बाँकी सबै निबन्ध रङ्गकर्म, गायकी र साहित्यलेखनमा जीवन बिताएका मुर्धन्य स्रष्टा कलाकारको विविध आयाममाथिको चिन्तन–चर्चा हो । चर्चाको शिखरमा पुगेका स्रष्टा कलाकारहरूजस्तै नेपालको सन्दर्भमा नारायणगोपाल, अम्बर गुरुङ, धर्मराज थापा, लक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटवाल, मह जोडी आदिबारे प्रकाशमा नआएका प्रसङ्ग सायमीले निबन्धमा निर्बन्ध व्याख्या गरेका छन् । उनले ओझेलमा परेका स्रष्टा कलाकारहरू प्रकाश थापा, दिव्य खालिङ, फत्तेमान राजभण्डारी, शरण प्रधान, कमला श्रेष्ठ आदिलाई स्पटलाइटमा ल्याएका छन् । विशेषतः चलचित्र कर्म र गीत–सङ्गीतसँग जोडिएका कलाकारको टुक्राटुक्रा निबन्धमा चर्चा गर्दै सायमीले नेपाली चलचित्र र सङ्गीतको इतिहास पुस्तकमा पस्केका छन् ।
राजा, राजदरबार र राजनीतिमा मात्र सीमित नेपालको इतिहास लेखनको परम्परा ती चौघेरा नाघेर बल्ल फराकिलो आकाशको खोजी गरिरहेको छ । सर्वसाधारण जनताको सामान्य विषय पनि इतिहास हो र इतिहास बन्न सक्छ भन्ने चेतना ज्ञानको संसारमा बल्ल उदाइरहेको छ । गीत गाउने गायक, सङ्गीत रचना गर्ने सङ्गीतकार, नाच्ने नृत्याङ्गना, नाटक लेख्ने नाटककार र अभिनय गर्ने कलाकार, गीत लेख्ने गीतकारको पनि इतिहास हुन्छ र इतिहास लेख्नुपर्छ भन्ने मान्यता स्थापित हुन थालेको धेरै भएको छैन । अझ शासककै वरपर बसेका र टिकेका कलाकारको मात्र चर्चा गरिने परम्परा चल्तीमै छ । ‘काठमान्डू मोन्ताज्’ लाई नेपालको कला र सङ्गीतको समग्र इतिहास लेखनको एउटा सिलसिला मान्न सकिन्छ । यो कृतिले इतिहास कुनै शासकको घोडा होइन, बरु हिजोको समयको अभिलेखीकरण हो जसमा आज हामी गौरव गर्नसक्छौँ भन्ने कुरा उजागर गरिएको छ ।
कला, नाटक, सङ्गीत र चलचित्र क्षेत्रमा प्रकाश सायमीको अध्ययन, अनुसन्धान र आराधना गहिरो भएको ‘काठमान्डू मोन्ताज्’ को पठनबाट अनुभव हुन्छ । सिर्जना कर्ममा स–साना भूमिकाको पनि निकै ठूलो महŒव हुन्छ । तर, समयक्रममा ती स–साना भूमिकामा रहेका कलाकार र स्रष्टा ओझेलमा पर्दै जान्छन् । इतिहासको गर्तमा उनीहरू विलिन भएर जान्छन् । प्रकाश सायमीजस्ता अध्येताको कलमले इतिहासको भण्डारगृहमा पसी त्यस्ता कलाकारलाई हराउन दिंदैन । उनीहरूलाई जीवन दिने गर्छन् । पुस्तक पढ्दा यस्ता धेरै व्यक्तिका नाम सायमीले लेखेका छन्, जसको नाम आजको पुस्ताले कहिल्यै पनि सुनेनन् न त तिनको चर्चा नै कहीं सुनिन्छ । सायमीको यो कृतिले ती छायाँ परिसकेका पात्रलाई फेरि पनि जीवन दिने प्रयास गरेका छन् । लेखक स्वयम् एक जना कुशल रङ्गकर्मी हुनुको नाताले यो उनको अग्रजप्रतिको सम्मान र आफू साधनारत क्षेत्रप्रतिको गौरव पनि हो ।
नेपालको सङ्गीत र कलाको इतिहास अध्ययन गर्दा दार्जिलिङलाई कसै गरे पनि अलग्ग गर्न सकिन्न । अझ भनौं कुनै समय नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रको नेतृत्व पनि दार्जिलिङले गरेको वास्तविकता मान्नुपर्छ । दार्जिलिङ, कालिङपोङबाट आएका लैनसिंह बाङ्देल, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, पारिजात, ईश्वर बल्लभजस्ता लेखकले नेपाली साहित्यमा पु¥याएको योगदानभन्दा कम थिएन अम्बर गुरुङ, दिव्य खालिङ, शरण प्रधान, अरुणा लामा आदि स्रष्टाले सङ्गीतको क्षेत्रमा गरेका योगदान । यो इतिहासलाई अझै गहिरो गरी प्रकाश सायमीले आफ्ना निबन्धमा चर्चा गरेका छन् ।
‘काठमान्डू मोन्ताज्’ को परिधि भने काठमाडाँैमा मात्र सीमित छैन । निबन्धकारले दक्षिण एसियाली र संसारका विभिन्न देशका कलाकार र कविहरूका प्रसङ्गले पुस्तकलाई सृङ्गारेका छन् । गालिबदेखि सत्यजीत रेसम्मको चर्चा, अमिताभ बच्चनदेखि राजेश खन्नासम्मको चर्चाले सायमीको जानकारीको विराट आकार प्रतिबिम्बित गरेको छ । लामो समय भारतको रङ्गनगरी बम्बईमै बसेर चलचित्रसम्बन्धी ज्ञान हासिल गरेका सायमीले त्यत्तिबेलाका धेरै अनुभव र जानकारीको पन्टुरो नासो मानी सबै पाठकसमक्ष खोलेका छन् । सायमीले अमेरिकी नायिकाका मर्लिन मुनरोदेखि फ्रान्सको हास्यव्यङ्ग्य पत्रिकामा भएको कट्टरपन्थी हमलासम्मका प्रसङ्गलाई पुस्तकमा समेटेका छन् ।
मिठासपूर्ण र स्तरीय भाषाशैली र अनुभवको कलेवर मिसिंदा कृति त्यसै पनि सुन्दर र पठनीय हुन्छ । ‘काठमान्डू मोन्ताज्’ सायमीको ओजिलो भाषा र मनग्य जानकारीसहितको पठनीय पुस्तक हो । प्रकाश सायमीको कृतिमध्ये पहिलो पटक ‘काठमान्डू मोन्ताज्’ पढ्ने पाठकले उनका अरु कुनै कृति कुनै पुस्तक पसल वा प्रदर्शनमा देखे भने लोभ नमानी हात अघि बढाइहाल्नेछन् ।
‘काठमान्डू मोन्ताज्’ पुरस्कृत गर्न योग्य कृति भएको भनी चर्चा चल्यो । तर, सायमी कुनै पनि पुरस्कार नलिने स्रष्टा हुन् ।
‘राहत’ निबन्धमा लेखकले चर्चा गरेको २०४५ सालको भक्तपुर काण्डसम्बन्धी प्रसङ्गले उनीसँग सो घटनाबारे केही अस्पष्टता भएजस्तो भान महसुस गर्न सकिन्छ । त्यो राज्यले गरेको षड्यन्त्र थियो भन्ने वास्तविकतामा उनी प्रस्ट नभएजस्तो भान पार्छ ।
सायमीका निबन्धको फराकिलो क्षितिजले उनको जानकारीको परिधिमात्र रेखाङ्गित गरेको छैन, बरु उनको जीवनको सक्रियतालाई उजागर गरेको छ । ‘काठमान्डू मोन्ताज्’ प्रकाश सायमीको सक्रिय जीवनको दसी पनि हो । त्यसै पनि उनी युवा छन्, उनको सक्रियताले उनको आयु अझ बढ्ने नै भयो ।
Leave a Reply