भर्खरै :

सुप विश्वविद्यालय तीन महिनादेखि पदाधिकारीविहीन

कञ्चनपुर, २४ चैत । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महिनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा. द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।
पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महिना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताउनुभयो ।
उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमानदारीपूर्वक काम नगरेको, पदअनुकूलको आचरण नगरेको, तालिम र भ्रमण भत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए ।
विवादमा आएपछि सरकारले गत पुसमा दुवैलाई पदमा रहेर काम नगर्न पत्र पठाएको थियो । गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारबाहीको बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलार्ई बुझाएको थियो ।
छानबिनको प्रतिवेदन अध्ययनपछि उपकुलपति र रजिष्ट्रारको काम कारबाहीको निर्णय गर्ने भनिए पनि हालसम्म सरकारले उपकुलपति र रजिष्ट्रारको टुङ्गो लगाउन सकेको छैन । सरकारले निर्णय नगर्दा उपकुलपति र रजिष्ट्रारबाट सम्पादन हुने काम लगायत विश्वविद्यालयको सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भइरहेको पन्तले बताउनुभयो ।
यसैगरी, गत माघ २३ गते परीक्षा नियन्त्रक भाष्करदत्त जोशीको तीनवर्षे कार्यकाल पूरा भएपछि हाल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ । सरकारले उपकुलपति र रजिष्ट्रारलाई नै पदमा नराखेपछि उहाँहरूकै सहमतिमा नियुक्त हुने परीक्षा नियन्त्रक हालसम्म नियुक्त हुन नसकेको पन्तले बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालय सहपरीक्षा नियन्त्रकको भरमा सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *