पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
– सुशील दर्नाल
काठमाडौँ, २४ चैत । लहान नगरपालिका–१४ बस्तीपुरका रसलाल राम जान्नेबुझ्ने भएदेखि नै साहुको घरमा हरवा–चरवा बस्दै आएका छन् । रसलालका बाजेले साहुसँग लिएको एक क्विन्टल धान फिर्ता गर्न नसक्दा उनी अहिलेसम्म पनि हरवा–चरवा बस्नुपरेको हो । साहुकै जमीनमा झुपडी बनाएर जमीन जोत्दै आएका रसलाललाई यतिबेला साहुले बसिरहेको जमीन छाड्न भनिरहेको छ ।
झुपडी हाल्न आफूसँग एक टुक्रा पनि जमीन नभएका कारण आफ्ना लालाबालालाई कहाँ लगेर राख्ने हो भन्ने चिन्ताले पिलोरिइरहेको छ रसलाललाई । “म अहिले पनि साहुकै घरमा हरवा–चरवा बस्दै आएको छु, मसँग अहिले एक टुक्रा पनि जमीन छैन, साहुले बसिरहेको ठाउँ छाड्न भनिरहेका छन्, सरकारले कुनै वास्ता गर्दैन, अब हामी कहाँ जाने ?” रसलालले भने ।
सिरहा, भवानीपुर–२ का श्यामसुन्दर सदाले साहुसँग एक लाख रुपैयाँ ऋण लिए बापत अहिले साहुकै घरमा हरवा–चरवा बस्दै आएका छन् । हरवा–चरवा बस्दै आए पनि ऋण लिएको एक लाख रुपैयाँ कट्टा हुनुको साटो उल्टै ब्याज बढेर तीन वर्षमा एक लाख पचास हजार रुपैयाँ पुगेको छ । श्यामसुन्दर अहिले सुकुमवासी जग्गामा बस्दै आएका छन् । त्यही जग्गामा बाटो बनाउन सरकारले डोजर लगाउने भएको छ । “हाम्रो न जमीन छ, न कुनै श्रीसम्पत्ति, बस्दै आएको जग्गा पनि सरकारले नै लिने भएको छ, हामी कतिञ्जेल साहुकामा दास बनेर बस्नु ?” श्यामसुन्दरले भने । यसरी आफ्ना बाबु÷बाजेले लिएको ऋण तिर्न नसक्दा पुस्तौँपुस्ता हरवा–चरवा बस्ने दलितहरूमध्येका हुने रसालाल र श्यामसुन्दर ।
साहुको ऋण तिर्न नसकेका कारण २ नं प्रदेशअन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलगायतका जिल्लामा दलित समुदायभित्रका मुसहर, पासवान, डोम, खत्वे, जोलाहा, चमार, सदार र बाँतर जस्ता मधेशी दलितहरू अहिले पनि हरवा–चरवा बस्न बाध्य छन् । वर्षौंदेखि विभिन्न स्थानमा ओत बनाई बस्दा पनि उनीहरू स्वामित्वविहीन रहेका छन् । बिना ज्याला श्रम गर्न बाध्य यो समुदायले आज पनि दास वा बन्धककै रूपमा जीवन बिताइआएका छन् । बँधुवा प्रकृतिका रूपमा काम गर्ने हरवा– चरवाहरूको जीवनस्तर अत्यन्त नाजुक छ ।
मैथिली, भोजपुरी, बज्जिका, अवधिलगायतका नेपालको तराई–मधेशका भाषिक क्षेत्रमा मध्ययुगीन सामन्तवादी समाजमा सुरु भएको विभिन्न प्रकारका बाँधा प्रथाहरूमध्येको आज पनि जीवित एक कठोर प्रथा हो हरवाह–चरवाह वा हरवा–चरवा । हलो जोत्नेलाई हरवा र वस्तुभाउ चराउनेलाई चरवा भन्ने गरिन्छ । यो प्रथा केही वर्ष अघिसम्म नेपालको पश्चिम पहाडमा घोषित रूपमा रहेको हलिया प्रथाजस्तै हो । एकातिर हरवा–चरवा बस्नु पर्दाको पीडा, अर्कोतिर जातीय भेदभाव र छुवाछूत । अशिक्षा, बेरोजगारी र स्वास्थ्य लगायतका समस्या त छँदैछन् । दैनिकी चलाउने विकल्प नभएपछि जग्गाधनीसँग सधैँ उसको खेतमा हलो जोत्ने शर्तमा ऋण लिँदा पुस्तौँपुस्ता हरवा–चरवा बस्नुपर्ने र बासका लागि झुपडी बनाउने जमीन नहँुदा जग्गाधनीसँग झुपडी बनाउने जमीन लिए बापत सधैँभरि जग्गा धनीकामा हरवा बस्न राजी हुनुपर्ने अवस्थाबाट उनीहरू गुज्रन परिरहेका छन् ।
Leave a Reply