भर्खरै :

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

–सञ्चिता घिमिरे
काठमाडौँ, २५ चैत (रासस) ः भूकम्पको पाँच वर्ष बित्न लाग्दा ललितपुरवासीको धार्मिक आस्थाको धरोहरे रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माण सकेको छैन । गुठी संस्थानले तीन वर्ष पहिले दुई वर्षमा सम्पन्न गर्ने गरी प्रेरा, भेगिम र तुल्सी जेभी गरेर तीन ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरे पनि ठेकेदारले समयमा काम नगर्दा ढिलाइ भइरहेको छ ।
। विसं २०७२ को भूकम्पले काठमाडौँ उपत्यकाका धेरै स्मारक क्षतिग्रस्त बनाएको थियो । त्यति बेलादेखि नै देवतालाई अस्थायी टहरामा राखिएको छ ।
गुठी संस्थान मातहतको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले अवधि सकिँदा पनि काम नसकेपछि अर्काे छ महीना थप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “थप भएको अवधि सकिए पनि अझै काम ३५ देखि ४० प्रतिशत मात्रै सकिएको छ ।” भूकम्प गएकै वर्ष माघ २ गते पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले बुङमतीबाट नै भूकम्पले क्षति गरेको संरचनाको पुनःनिर्माणको शुरुआत गर्नुभएको थियो । यो मन्दिरको गत वर्ष नै ठेक्का सम्झौता अवधि सकिएको कार्यालयका प्रमुख प्याकुरेलले बताउनुभयो । उहाँका अनुसार गत सम्झौता अवधि सकिएपछि छ महीना थप भएको थियो । उहाँले भन्नुभयो, “थप भएको छ महीनामा पनि अपेक्षा गरे जसरी काम हुन सकेन ।”
रातो मछिनद्रनाथको मन्दिर निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी दुःखी छन् । यो मन्दिर निर्माणको ठेक्का सम्झौता भएपछि नै ठेकेदारले विभिन्न बहाना देखाएर निर्माणमा ढिलाइ गरिरहेको मछिन्द्रनाथको पानेजु सङ््घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । ठेकेदारले निर्माण शुरु भएदेखि मन्दिरको पुनःनिर्माणमा निर्माण सामग्रीको अभाव लगायत कारण देखाएर ढिलाइ गरेको उहाँले बताउनुभयो । मन्दिर निर्माणमा प्रयोग भएको इँटामा अङ्ग्रेजी शब्द लेखिएको भन्दै स्थानीयवासीसमेतले केही समय काम अवरुद्ध गरेका थिए । उहाँले भन्नुभयो, “दक्ष कामदार थोरै जना मात्रै निर्माणमा लगाउनु पनि ढिलाइको अर्काे कारण हो ।”
टहरामा राख्दा मूर्ति असुरक्षित हुने यहाँका पानेजु शाक्यले बताउनुभयो । अहिले दुई सातादेखि काम ठप्प छ । उहाँका अनुसार मन्दिर निर्माणमा दक्ष जनशक्ति नहुँदा पटक पटक समस्या आइरहेको छ । निर्माण सामग्री र जनशक्ति दुवैमा ठेकेदार कम्पनीले हेलचेक्य्राइँ गरेको उहाँले बताउनुभयो ।
मन्दिरको निर्माण शुरु गर्दा जगदेखि नै समस्या आइरहेको उहाँले बताउनुभयो । जगमा ढुङ्गा हाल्दा तहतहमा गरेर हाल्नुपर्ने भए पनि कुनै ठाडो र कुनै तेर्साे गर्दा स्थानीयवासीले विरोध गरेका थिए । मन्दिर निर्माणमा ठेकेदारले तराईबाट सस्तो मूल्यमा इँटा झिकाएको थियो । उहाँले भन्नुभयो, “हामीले कहिले ढुङ्गा, इँटा कहिले जनशक्तिका विषयमा ठेकेदारलाई भनिरहेका थियौँ ।” मन्दिर निर्माणको प्रगति हेर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली बुङ्मती पुग्दा काममा तदारुकता देखाए पनि काममा ढिलाइ गर्ने गरेको स्थानीयवासीले बताए ।
शिखरशैलीको सो मन्दिरमा ३६ फिट लामो काठको खाँचो पर्छ । एउटै काठबाट बनाउन नसकिने हुनाले तीन वटासम्म जोडेर बनाउनुपर्ने प्रमुख प्याकुरेलले बताउनुभयो । शिखरशैलीको सो मन्दिरको निर्माण सुस्त भएको स्थानीयवासीले गुनासो गरेपछि ठेकेदारले केही महीना पहिले मन्दिर परिसरमा नै काम गरेको थियो ।
गुठी संस्थानले ठेकेदारमार्फत गरिरहेको पुनःनिर्माण सबै ढिला भएको ललितपुर महानगरपालिकाले जनाएको छ । रातो मछिन्द्रनाथको मन्दिर जस्तै यहाँका धेरै सम्पदा निर्माणमा ढिला भइरहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँका अनुसार सरकारले ठेकेदारमार्फत गरिरहेको काम समयमा सम्पन्न हुन सकेको छैन । पछिल्लो समयमा महानगरपालिकाले सम्पदाको मर्मत वा पुनःनिर्माणमा सकेसम्म स्थानीयवासीलाई नै सहभागी गराउने योजना राखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ढिलाइको कारण खोजेर सम्पदाको पुनःनिर्माण चाँडो गर्नुपर्छ ।”
पाटन दरबार क्षेत्रमा रहेका ११ स्मारकको पुनःनिर्माण काठमाडौँ उपत्यका संरक्षण कोष(केभिपिटी) ले गरेको थियो । तीमध्ये कृष्ण मन्दिरलगायत नौ स्मारकको पुनःनिर्माण भइसकेको छ । चार नारायण र हरिशङ्कर गरेर दुई मन्दिर निर्माण भइरहेको छ । भीमसेन मन्दिर, भाइदेगु, उग्रचण्डी मन्दिरलगायतमा स्थानीयवासी सक्रिय रुपमा पुनःनिर्माण गर्न लागेका छन् । रातो मछिन्द्रनाथ, कुम्भेश्वरलगायत ठेकेदारमार्फत भइरहेको पुनःनिर्माणले गति लिन सकेको छैन ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *