भर्खरै :

शहीद भीमसेन दाहाल स्मृति दिवस

कास्की, २६ चैत , विसं. २०६२÷०६३ को जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालले सहादत प्राप्त गर्नुभएको १३ औँ स्मृति दिवसको अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानको आयोजनामा आज दाहालको शालिकमा पुष्पगुच्छाले माल्यार्पण गरी स्मरण गरियो ।
कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतले शहीदको स्मरण गर्दै उनीहरुले देखेका सपना अझै पूरा नभएको धारणा राखे ।
सो अवसरमा गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माले दाहाल देश र जनताको स्वतन्त्रताका लागि बलिदानी गर्ने एक योद्धा भएको बताउनुभयो ।
स्मृति दिवसको दिनमा शहीदको शालिकमा फूल चढाएर मात्र उनीहरुप्रति सम्मान नहुने भएकाले शहीदले देखाएको बाटोमा हिँड्न सकेमात्र सच्चा सम्मान हुने उहाँको भनाइ छ ।
शहीद पत्नी एवम् प्रतिष्ठानका अध्यक्ष सविता पौडेल दाहालले प्रतिष्ठानले एकल महिला एवम् गरीब परिवारका एक जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको प्रवन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विसं २०६२ चैत २६ गते दोस्रो जनआन्दोलनका क्रममा दाहालको पोखरा महानगरपालिका–९ स्थित महेन्द्रपुलमा सुरक्षाकर्मीले चलाएको गोली लागि निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *