भर्खरै :

भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ, २६ चैत (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन कार्यालय प्रमुख लालु गिरीसहित सात जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उन्नति कार्यक्रमअन्तर्गत भोजपुर–टक्सार कोट गगने सडक स्तरोन्नति गर्ने ठेक्कामा निर्माण व्यवसायीलाई नक्कली बैंक ग्यारेण्टी पेश गरी भुक्तानी दिएको आरोपमा तत्कालीन कार्यालय प्रमुख गिरीविरुद्ध रु एक करोड १० लाख ८० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । यस्तै सोही कार्यालयका लेखापाल रामबहादुर दाहाल, तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक माधवप्रसाद खनालसमेतलाई रु एक करोड १० लाख ८० हजार बराबरको भ्रष्टाचारको आरोप लागेको छ । यस्तै वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठलाईसमेत रु एक करोड १० लाख ८० हजार बराबरकै भ्रष्टाचारको अभियोग लागेको छ । यस्तै एमकेवाईपी जेभीका आधिकारीक प्रतिनिधि रणधीर तुम्बाविरुद्ध रु ५५ लाख ३० हजार र देवजङ शाहीविरुद्ध रु पाँच लाख ५५ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । निर्माण व्यवसायी एमकेवाईपी जेभीका तर्फबाट दुई पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी मोबिलाइजेशन रकम माग गरी कृषि विकास बैंक मुख्य शाखा कार्यालय रत्नपार्कबाट पेश भएको बैंक ग्यारेण्टी रकमको वैधताको सोधपूछ नगरी भुक्तानी दिइएको पाइएको छ । नक्कली बैंक ग्यारेण्टी पेश गरी सरकारी स्रोतको दुरुपयोग गरेको आधारमा छानबिन गर्दा बदनियत देखिएको र भ्रष्टाचारजन्य गतिविधि भएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले आजै ललितपुर महानगरपालिकाको कार्यालय नक्शा शाखाका अमिन वीरेन्द्रबहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थलगत नाप जाँच गरी घरबाटो सिफारिश गर्ने कामका लागि सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोगमा केही दिन पहिले उनी पक्राउ परेका थिए । त्यसैगरी आयोगले पोखरा महानगरपालिका कार्यालयका नक्शा शाखामा कार्यरत कार्यालय सहयोगी भीमराज शाहीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । घर नक्शाको प्रतिलिपि उपलब्ध गराइदिने बहानामा शाहीले एक सेवाग्राहीसँग रु छ हजार घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगले यातायात व्यवस्था कार्यालय बिर्तामोडका सवारी चालक अनुमतिपत्र मिलाइदिने भन्दै घुस माग्ने विचौलिया सराफ शेखलाई रु १७ हजारसहित आज पक्राउ गरेको छ । एक सेवाग्राहीसँग शेखले घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *