भर्खरै :

“अभिभावक स्वयम् पनि शिष्ट र नम्र बन्न जरुरी”

भक्तपुर, २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मजदुर किसानका छोराछोरीहरूलाई शिक्षित गर्ने उद्देश्यले नै भक्तपुरमा विद्यालय स्थापना गरेको बताउनुभएको छ ।
बाल विकास सेकेण्डरी स्कूलको मङ्गलबार आयोजित ३१ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रोहितले देश र जनताको विरोध गरेर समाज भड्काउने अभिभावकका सन्तानले अरूका छोराछोरीलाई बिगार्ने हुँदा त्यस्ता अभिभावकका छोराछोरीलाई भर्ना लिंदा विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।
अतिथि बिजुक्छेँले विद्यालयबाट प्रकाशित स्मारिका पनि विमोचन गर्नुभएको थियो ।
“महँगो स्कूलमा पढाउने ढँटुवा अभिभावकहरूबाट पनि विद्यालय जोगिनुपर्छ”, उहाँले भन्नुभयो ।
अभिभावकले आफ्ना सन्तानहरूको अगाडि शिष्ट र नम्र व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “बच्चाहरूले आफूले सिकेको बोली वचन अरू साथीहरूसमक्ष राख्ने हुँदा अभिभावकहरूले बच्चाहरूको अगाडि मनपरी गाली गर्नुहुँदैन ।”
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने उद्देश्यले खोलेको बाल विकास स्कूल देशकै एउटा राम्रो विद्यालय भएको बताउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिभावान नागरिक तयार गरेर विद्यालयले समाजमा महत्वपूर्ण योगदान गर्ने चर्चा गर्दै उहाँले भनपाले नयाँ पुस्तालाई सुसूचित पार्न साहित्य, सामाजिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूको चिनारी दिन पाठ्यक्रमको तयारी गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले सामूहिक प्रयास र समुदायको सहयोगले विद्यालय निरन्तर प्रगतिको बाटोमा लम्किरहेको उल्लेख गर्दै विद्यालयले समाजको सेवा गर्ने र एक्काइसौँ शताब्दी सुहाउँदो गुणस्तरीय शिक्षा दिएर योग्य र दक्ष नागरिक तयार गर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले स्वतः अवकासको नाउँमा हजारौँ शिक्षकहरूलाई विस्थापित गरेर र स्थायी शिक्षक नियुक्ति नगरी सरकारले सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई डावाडोल बनाउन लागिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
संवैधानिक प्रावधान पालना गरे सरकारले मावि (निजी र सामुदायिक) मा शिक्षा निःशुल्क गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “शिक्षाको दायित्व राज्यको हो भने माविसम्म निःशुल्क गरेर जनतामा परिवर्तनको अनुभूति दिनुपर्छ ।”
सार्वजनिक शैक्षिक गुठी पनि सामुदायिक विद्यालय हुँदा सरकारी शिक्षक खटाएर पठनपाठन गराए अभिभावकमा आर्थिक भार न्यून हुने उल्लेख गर्दै उहाँले बाल विकास सेकेण्डरी स्कूल अनुशासित र योग्य नागरिक तयार गर्ने देशको नमुना विद्यालय हो भन्नुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले विद्यार्थीहरूको विदेश पलायनले देशको शिक्षा नीति गलत भएको पुष्टि गरेको बताउनुभयो ।
इसानले व्यवहारिक शिक्षासँगै तालिम र अतिरिक्त क्रियाकलाप गरिरहेको उल्लेख गर्दै उहाँले विद्यालय राम्र्रो भए समाज पनि राम्रो हुने र विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले कामदार जनता र पछाडि परेका जनताका छोराछोरीलाई शिक्षा दिने उद्देश्यले विद्यालय स्थापना भएको चर्चा गर्दै भन्नुभयो, “सुन्दर र सुसंस्कृत समाज निर्माण गर्नेबाहेक विद्यालयको कुनै स्वार्थ छैन, जनताका विद्यालयले समाजलाई उज्यालो छर्न र सही ज्ञान दिने काम गर्छ ।
कार्यक्रममा लगातार १० वर्ष सेवा गरेका शिक्षक, कर्मचारी, वर्षका उत्कृष्ट शिक्षक तथा २०७५ मा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
उद्घाटनपछि सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
सोही कार्यक्रममा समाजसेवी एवम् शिक्षासेवी गोपीकृष्ण प्रजापतिका पुत्र दीपक प्रजापतिले छात्रवृत्ति कोषका लागि रु. २ लाखको चेक प्रिन्सिपल सुरेन्द्रराज गोसाईलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *