भर्खरै :

जडीबुटीको जामले चालक र यात्रु हैरान

सञ्चिता घिमिरे
काठमाडौँ, २६ चैत । पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार किलोमिटर दूरीमा पुग्न १५÷२० मिनेट लाग्ने भए पनि जडीबुटीमा दैनिक हुने जामका कारण उहाँ एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुहुन्छ ।
एक घण्टापहिले निस्कँदासमेत कहिलेकाहीँ समयमा पुग्न नसक्ने उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “जडीबुटीमा दैनिक १५÷२० मिनेटदेखि आधा घण्टासम्म जाममा परिन्छ भन्ने सोचेर नै घरबाट निस्कने गरेको छु ।”
थापाजस्तै मूलपानीकी रञ्जना शर्मा दैनिक आधा घण्टा जडीबुटीको जाममा पर्ने गरेको गुनासो गर्नुहुन्छ । बालकुमारीस्थित एउटा सहकारी संस्थामा कार्यरत उहाँ दैनिक हुने जामका कारण हैरान हुनुहुन्छ । एकातिर बसले छोटो दूरीमा रोकिरहने अर्कातिर दैनिक हुने जामका कारण कोटेश्वर पुग्नै घण्टौँ लाग्ने गरेको छ । बर्सेनि सवारीको चाप बढेसँगै यहाँ लामो समयसम्म सडक नखुल्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त जाम बढ्दै गएर पेप्सीकोला चोकसम्म नै पुग्छ ।”
जडीबुटी चोकमा दैनिक हुने जामका कारण सवारीचालक र यात्रु हैरान छन् । काठमाडौँ उपत्यकाका बढी जाम हुने ठाउँमध्ये जडीबुटी चोक पनि रहेको छ । यो चोकमा दैनिक आधा घण्टासम्म जाम हुने गरेको छ । कहिलेकाही एक घण्टासम्म सडक नखुल्ने स्थानीयवासी बताउँछन् । चोकमा ट्राफिक बत्ती नहुँदा ट्राफिक प्रहरीले नै सडक व्यवस्थापन गरिरहेका छन् । अरनिको राजमार्गबाट आएका सवारीसाधनलाई भन्दा पनि पेप्सीकोला चोकतर्फबाट आएका सवारीसाधनलाई ट्राफिक प्रहरीले बढी समयसम्म रोक्ने गरेको गुनासो सवारी चालक गर्छन् ।
एकातिर काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक जिल्लाबाट आउने गाडीसँगै भक्तपुर नयाँ बाटो हुँदै आउने सवारीसाधन त अर्कातिर मूलपानी, गोठाटार, काँडाघारी र भक्तपुर पुरानो बाटो हुँदै आउने सवारीसाधनका कारण यो सडकमा सधैँ व्यस्त हुने गरेको छ । जडीबुटीबाट कोटेश्वरसम्म निस्कने वैकल्पिक सडक नहुँदा यात्रु जति जाम हुँदा पनि यही सडकबाट हिँड्न बाध्य छन् ।
सडक विभागले भने जडीबुटीमा दैनिक हुने जाम हटाउने उपायको खोजी सुरु भएको जनाएको छ । यहाँको जामको कारण र समाधानको उपाय खोज्नका लागि सडक विभागको समन्वयमा जापानिज सहयोग संस्था (जाइका) ले अध्ययन गरिरहेको छ । यही आर्थिक वर्षभित्रमै यहाँको जाम हटाउनका लागि के गर्न सकिन्छ भन्ने खाका आइसक्ने विभागका सहप्रवक्ता अर्जुन सुवालले बताउनुभयो । यस ठाउँमा ‘अण्डर पास’ वा ‘फ्लाइओभर’ मध्ये कुन उपयुक्त हुन्छ भन्ने खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “यो आवभित्रमा के गर्ने भन्ने टुङ्गो लागेपछि आगामी वर्षमा काम सुरु हुनेछ ।”
माइतीघरदेखि सूर्यविनायकसम्म ६ लेनको सडक निर्माण गरेको जापान सरकारले जडीबुटीको जाम हटाउन आवश्यक संरचना बनाउन पनि इच्छुक भएको सहप्रवक्ता सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जाइकाले गरिरहेको प्रारम्भिक अध्ययनपछि नै विस्तृत रूपमा अध्ययन हुनेछ । उहाँले भन्नुभयो, “यस्तो संरचना निर्माण गर्दा जडीबुटीको जाम हट्न सक्ने भन्ने टुङ्गो लागेपछि सरकारको जाइकासँग निर्माणका लागि सम्झौता हुनेछ ।”
यहाँको जाम कम गर्नका लागि नै विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘ट्राफिक डात्र्सन’ सुरु गरेको सडक विभागले जनाएको छ । भक्तपुर नयाँ बाटो हुँदै आएका सवारीसाधनलाई मनोहरा खोला करिडोरबाट जडीबुटी नआई ललितपुरतर्फ जान भनिएको हो ।
सडकमा सूचना राखेर र ट्राफिक प्रहरीले मौखिक रूपमा चालकलाई ‘डात्र्सन’ को जानकारी दिइरहेको छ । जडीबुटीचोकको १५ देखि २० प्रतिशतसम्म सवारी चाप कम भएको सहप्रवक्ता सुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “चालकले जानकारी पाउँदै जाँदा करिडोरको प्रयोग बढ्ने र जडीबुटी चोकको जाम कम हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *