भर्खरै :

निरङ्कुश सोचलाई परास्त गरौँ ः असान्जको पक्षमा उभिऔँ !

– जोन पिल्गर
सन् २०१२ मा विश्वप्रसिद्ध अनलाइन पत्रिका विकिलिक्सका सम्पादक तथा ह्याकर जुलियन असान्ज लन्डनमा बेलायती प्रहरी र अमेरिकी गुप्तचर संस्था – सीआईएका एजेन्टहरूबाट पक्राउ नपर्न वा जोगिन भागिरहेका थिए । त्यसैबेला तत्कालीन इक्वेडरका वामपन्थी राष्ट्रपति राफेल कोर्रेया र उनका विदेशमन्त्री रिकोर्डो पेटिनोले असान्जलाई लन्डनमा रहेको आफ्नो देशको दूतावासमा शरण दिएका थिए । इक्वेडरमा राफेल कोर्रेयाको सरकार रहुञ्जेल असान्ज आवश्यक सम्पूर्ण सुविधाका साथ नै रहेका थिए । तर, जब इक्वेडरमा २०१६ मा सरकार बदलियो र विश्वासघाती लेनिन मोरेनो सरकार बलियो हुँदै गयो असान्जलाई दिइएको सुविधा एक–एक गरी कटौती गर्दै उनलाई दूतावासबाट निकाल्ने तयारी ग¥यो । मोरेनो सरकारले असान्जमाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै पनि बेला असान्जलाई दूतावासबाट निकाल्ने तयारी गरेको विकिलिक्स पत्रिकाले नै जानकारी दिएको छ ।
असान्जमाथि लगाइएका झूटा मुद्दा खारेजी तथा उनको स्वतन्त्रताको माग गर्दै लन्डन, उनको आफ्नै देश अष्ट्रेलिया र विश्वका विभिन्न देशमा ऐक्यबद्धता अभियानहरू चलिरहेका छन् । सोही क्रममा सिडनीमा भएको ऐक्यबद्धता सभामा विश्वप्रसिद्ध खोज पत्रकार तथा वृतचित्र निर्माता जोन पिल्गरद्वारा व्यक्त मन्तव्य यहाँ प्रस्तुत छ – अनु. ।
जहिले पनि असान्जलाई एउटै कोठामा मात्र भेटघाट गर्न दिइन्थ्यो । त्यहाँ एउटा खाली टेबुल र भित्तामा इक्वेडरका केही तस्वीरहरू थिए । त्यहाँ दराज भरिभरि किताब त थिए तर न ती कहिल्यै खुलेका वा पुस्तक बदलिएका हुन्थे न त त्यहाँको झ्यालबाट पर्दा कहिल्यै हटेको हुन्थ्यो ¤ त्यसैले त्यहाँ प्राकृतिक प्रकाश र हावा पनि नछिर्नाले सधैँ ओसिलो हुन्थ्यो । त्यो कोठा नं १०१ हो ।
कोठा नं १०१ मा प्रवेश गर्नुपूर्व मैले आफ्नो पासपोर्ट र सेलफोन त्यहाँ बुझाउनुपथ्र्यो । मेरो खल्ती र जीउभरि छामिन्थ्यो । मैले लगेका खानेकुरा पनि निरीक्षण गरिन्थ्यो र मैले नै पहिले खाएर देखाउनुपथ्र्यो ।
कोठा नं १०१ को पहरेदारी गर्ने मानिस त्यहाँ पुरानो टेलिफोन बक्सजस्तै अडिग भई बस्थ्यो । ऊ स्क्रिनमा जुलियनमाथि ध्यान दिएर हेरिबस्थ्यो । त्यहाँ अरू पनि नदेखिने गरी राज्यका गुप्तचरहरू हेरेर र सुनेर बसेका हुन्थे ।
त्यस कोठामा अरू पनि सीसीटिभी क्यामेरा थिए । क्यामेरा छल्न हामी कोठाको कुनामा भित्तामा उभिएर कुरा गथ्र्यौं । त्यहाँ साउती गरेको पनि सुनिने माइक लगाइएको हुनाले हामीले नोटपायडमा लेखेर कतिपय गोप्य कुरा आदानप्रदान गर्नुपथ्र्यो । त्यसरी कयामेरा छल्नुपर्दा कहिलेकाहीँ हाम्रो हाँसो पनि छुट्थ्यो ।

असान्जमाथि लगाइएका झूटा मुद्दा खारेजी तथा उनको स्वतन्त्रताको माग गर्दै लन्डन, उनको आफ्नै देश अष्ट्रेलिया र विश्वका विभिन्न देशमा ऐक्यबद्धता अभियानहरू चलिरहेका छन् ।

हामीलाई ३० मिनेटमात्र भेट्ने समय छुट्याइएको हुन्थ्यो, समय सिधिएको १–२ सेकेन्डमै गार्ड आउँथ्यो र ‘समय सकियो’ भन्दै बाहिर पठाइहाल्थ्यो । नयाँ वर्षको दिन भने मलाई थप आधा घण्टासम्म बस्न दिइएको थियो । गार्डले मलाई नयाँ वर्षको शुभकामना पनि दियो तर जुलियन असान्जलाई भने शुभकामना दिएन । सायद गार्डलाई हक्वेडर सरकारको तर्फबाट त्यसको अनुमति थिएन ।
कोठा नं. १०१ लाई जर्ज अर्वेलको काल्पनिक उपन्यास ‘१९८४’ मा झैँ बनाइएको छ, जहाँ प्रहरीले दिनरात हेरिरहन्छन् र कैदीहरूलाई यातना दिइन्छ, जबसम्म ती मानिसहरूले मानवता र सिद्धान्त परित्याग गर्दैनन् र ‘बिग ब्रदर’ को आदेश पालना गर्दैनन् ।
जुलियन असान्जले कुनै बिग ब्रदर या शासकहरूको आदेश मान्नेछैनन् । उनको धैर्य र साहस अच्चमलाग्दो छ । यद्यपि उनको स्वास्थ्य बरोबर बिग्रिरहेको छ ।
जुलियन एक विशिष्ट अष्टे«लियाली हुन् । उनले धेरै मानिसहरूमा आफ्नो देशको पाखण्डी सरकारविरुद्ध सोच्ने तरिका नै बदलिदिएका छन् । त्यसका लागि उनी राजनीतिक शरणार्थी बन्न बाध्य छन् र संयुक्त राष्ट्र सङ्घले उनको स्थितिलाई ‘अप्रत्यक्ष कैद’ भनेको छ ।
संयुक्त राष्ट्र सङ्घले उनलाई स्वतन्त्ररूपमा हिँड्डुल गर्ने अधिकार छ भन्छ तर उनलाई त्यो अधिकार प्रदान गरिएको छैन । उनलाई पक्राउको डरविना स्वास्थ्योपचार गर्ने अधिकार छ तर त्यो पनि दिइएको छैन । न उनलाई कुनै किसिमको क्षतिपूर्ति प्रदान गरिएको छ ।
विकिलिक्स अनलाइन पत्रिकाका संस्थापक तथा सम्पादक असान्जले अँध्यारो युगमा उज्यालो छर्ने अपराध गरेका छन् । विकिलिक्ससित विश्व राजनीतिको अतुलनीय तथ्यको अभिलेख र आधिकारिकता छ, जुन आजका कुनै समाचार पत्र, टेलिभिजन च्यानल, रेडियो स्टेशन बीबीसी, न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट वा गार्जियन कसैसित पनि छैन । बरु त्यसका तथ्यले अरू सञ्चारमाध्यमको पनि पोल खोलिदिन्छ । असान्जलाई किन सजाय दिइँदैछ भन्ने प्रश्नको जवाफ पनि विकिलिक्समा प्रकाशित खुलासाहरूले नै दिन्छन् ।
विकिलिक्सले संरा अमेरिकाले कसरी आफ्ना मित्र राष्ट्रहरूमा गुप्तचरी गरिरहेको छ ? सीआईएले कसरी हामीले प्रयोग गर्ने आईफोनमार्फत हामीमाथि निगरानी गरिरहेको छ भनी खुलाउनका साथै संरा अमेरिकाका राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले वालस्ट्रिटका व्यापारीहरूसित ठूलो रकम चन्दा लिइसकेपछि, आफू राष्ट्रपति निर्वाचित भएपछि ती बैङ्कर र व्यापारीहरूको हितमा काम गर्ने भनी बताएको भाषणसमेत सार्वजनिक गरेको छ ।
सन् २०१६ मा विकिलिक्सले क्लिन्टन र मध्यपूर्वका सङ्गठित जिहादी आतङ्कवादीहरूको सम्बन्ध रहेको खुलासा गरेको थियो । तीमध्ये एउटा इ–मेलले क्लिन्टन विदेशमन्त्री रहेको बेला तिनलाई साउदी अरेबिया र कतारले त्यस इस्लामिक स्टेट आतङ्कवादी समूहलाई हतियार र ठूलो रकम सहयोग गरिरहेको थाहा थियो ।
त्यति थाहा हुँदाहुँदै पनि तिनले साउदी अरेबियासित विश्वकै सबैभन्दा ठूलठूला हतियार बिक्रीहरूलाई स्वीकृत गरिन् । ती हतियारहरू आज यमनका जनताको ज्यान लिन प्रयोग भइरहेका छन् ।
विकिलिक्सले रुसको राष्ट्रपति भवन क्रेमलिनसँग सम्बन्धितलगायत रुसका ८ लाख गुप्त फाइलहरू खुलासा गर्दै त्यस देशको शक्तिको यान्त्रीकरण र त्यसको खतराबारे हामीलाई बताइसकेको छ ।
यो वास्तविक पत्रकारिता हो । यसलाई खतरनाक किसिमको पत्रकारिता मान्ने गरिन्छ, जुन आजको मूलधारको पत्रकारिताको धारविरुद्ध छ । वास्तविक पत्रकारिताले नै मात्र जनताको वास्तविक शत्रुबारे बताउँछ । भिची पत्रकारिताले झूटको खेती गर्छ । दोस्रो विश्वयुद्धको क्रममा नाजीहरूको सहयोगबाट फ्रान्समा स्थापना भएको भिची सरकारको नियन्त्रित र झूटो प्रचारको शैलीलाई आजका मूलाधारका सञ्चारमाध्यमहरूले अपनाइरहेको कामलाई भिची पत्रकारिता भन्ने गर्छौँ ।
अष्ट्रेलिया सरकार र संरा अमेरिकाबीच जुलियन असान्जलाई उनको हकबाट वञ्चित गर्ने र उनलाई चुप लगाउने भनी भएको सम्झौता आजका भिची पत्रकारिताको रुचिको विषय बनेको छैन ।
सन् २०१० मा तत्कालीन अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड देशको सङ्घीय प्रहरी मुख्यालयमा गएर असान्ज र विकिलिक्सविरुद्ध अनुसन्धान गर्न र तिनीहरूमाथि मुद्दा चलाउन आदेश दिएकी थिइन् । तर, जब अष्ट्रेलियाली सङ्घीय प्रहरीले तिनीहरूले कुनै अपराध गरेको नदेखिएको बतायो तिनी निराश हुँदै फर्किएकी थिइन् ।
जुलियन असान्जका पिता रिचार्ड ब्रेट असान्जले तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुललाई पत्र लेखी आफ्नो छोराको स्वतन्त्रताका लागि कूटनीतिक पहल गर्न अनुरोध गरे । पिता असान्जले प्रधानमन्त्री टर्नबुलसित आफ्नो छोरा जुलियनले जीवितै इक्वेडरियाली राजदूतावास छोड्न नपाउने हो कि भनी चिन्ता जाहेर गरेका थिए ।
तत्कालीन अष्ट्रेलियाली विदेशमन्त्री जुली विशपसित जुलियनलाई घर फर्काउन बेलायत र संरा अमेरिकासित कूटनैतिक समाधान खोज्ने अवसर पनि थियो । तर, तिनले त्यो आँट गर्न सकिनन् । त्यस्तो कदम उठाउन आफू एउटा सार्वभौम र स्वाधीन राज्यको मन्त्री हुँ भन्ने साहसी भावना चाहिन्थ्यो तर टर्नबुल र विशप कठपुतली थिए ।
त्यसको सट्टा जुली विशपले आफूले आफ्ना ब्रिटिश समकक्षी जेरेमी हन्टसित कुनै विरोधाभास राख्न नचाहेको र जुलियनले कयौँ गम्भीर अभियोग सामना गरिरहेको बताएकी थिइन् । के अभियोग ? जुलियनमाथिका अभियोग र आरोप सबै झूटा र बनावटी हुन् । संरा अमेरिकी षड्यन्त्रको गोप्यता भ· गरिदिएकोमा अमेरिकी शासकहरू उनलाई जीवनभर कैद गर्न वा ज्यानै लिन चाहन्थे र चाहन्छन् । त्यसैले उनीहरूले संरा अमेरिकासित सुपुर्दगी सन्धि भएको देश स्विडेनमा दुई जना देहव्यापारका महिलाहरूलाई किनेर उनीविरुद्ध बलात्कारको अभियोग लगाउन लगाए । असान्जले स्वीडिस अदालत वा सरकारसमक्ष समर्पण गरेको केही दिनमै उनलाई संरा अमेरिका सुुपुर्दगी गर्ने निश्चितै थियो ।
अष्ट्रेलियाली सरकार आफ्नो देशका एक नागरिकको अधिकारका बारे बोल्न, उनीमाथि लगाइएको अभियोग, मुद्दा मामिला केही पनि होइन र उनी निर्दोष छन् भनी बोल्ने कर्तव्यबाट समेत च्यूत भएको छ ।
अष्ट्रेलियाकी विदेशमन्त्री विशपले आफ्ना नागरिकमाथि, एक अष्टे«लियाली पत्रकारमाथि भएको अन्यायको विरोध गर्नुपर्ने कर्तव्यलाई त्यागिन् तर अमेरिकी नेतृत्वमा इराकका ७ लाखभन्दा बढी महिलाहरूलाई विधवा बनाइएको हमला र कब्जामा भने अष्ट्रेलियाली सेना सामेल गर्ने सैन्यवादी कदममा निर्धक्कसाथ सही गरिन् ।
त अब के गर्न सकिएला ? जनताको अभियानकै बलमा बहराइनमा यातना र मुद्दा खेपिरहेका एक फूटबल खेलाडी हकिम अल अरैवीलाई उद्धार गर्न एउटा अष्ट्रेलियाली सरकार तयार भएको थियो । के यही सरकारले जुलियन असान्जलाई घर फर्काउन सक्ला ?
क्यानवेरास्थित विदेश मामिला विभागले संयुक्त राष्ट्र सङ्घको घोषणालाई मान्न र जुलियन असान्जलाई ‘अप्रत्यक्ष कैद’ को पीडित मान्न अस्वीकार गरिदिएको छ । साथै, असान्जको स्वतन्त्रताको आधारभूत अधिकार अन्तर्राष्ट्रिय कानुनको अक्षर र भावनाको लज्जास्पद उल्लङ्घनलाई पनि अस्वीकार गरिदिएको छ ।
किन अष्ट्रेलियाली सरकारले असान्जलाई मुक्त गर्न गम्भीर प्रयास गरेको छैन ? किन जुली विशप दुई विदेशी शक्तिको अगाडि झुकिन् ? किन अष्ट्रेलियाको प्रजातन्त्रलाई मित्र राष्ट्रहरूसितको सम्बन्धका लागि बन्धकमा राखिँदैछ र कानुनविहीन विदेशी शक्तिहरूसित एकीकरण गरिंदैछ ?
जुलियन असान्जमाथिको दुव्र्यवहार र यातनाले हामी सबैलाई एकत्रित गरेको छ । असान्जको साहसी कदमले नै हाम्रो स्वाधीनता, हाम्रो आत्मसम्मान, हाम्रो बौद्धिकता, हाम्रो आस्था, हाम्रो राजनीति र संस्कृतिलाई एकिकृत गरेको छ ।
त्यसैले कम्प्युटरमा÷ल्यापटपमा मात्र समाचार खोज्न बन्द गरौँ, आन्दोलनको आयोजना गरौँ, कब्जा गरौँ, आग्रह गरौँ र दबाब सिर्जना गरौँ । आवाज बुलन्द गरौँ । प्रत्यक्ष रूपमा क्रियाकलापमा संलग्न होऔँ । वीर बनौँ वीर, बनेर रहौँ ¤ निरङ्कुश सोचलाई परास्त गरौँ ।
युद्ध शान्ति होइन, स्वतन्त्रता दासता होइन, अज्ञानता तागत होइन । यदि जुलियन उठ्न सक्छन् भने हामी पनि सक्छौँ । हामी सबै जुलियनका साथ जुलियनका पक्षमा उभिऔँ !
अनुवादः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *