इमानदार, अनुशासित र जिम्मेवार विद्यार्थीले सभ्य तथा सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने
- भाद्र २९, २०८३
भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सही राजनीति नभए देश अन्धो हुने बताउनुभएको छ ।
लिशा इङ्गलिश सेकेण्डरी स्कूलको ३१ औँ वार्षिकोत्सव तथा प्रि – स्कूल दीक्षान्तको उपलक्ष्यमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक समारोहमा अध्यक्ष रोहितले भन्नुभयो, “राजनीति देश र जनताको हितमा गर्ने हो । असल मान्छेले राजनीति नगरे देश कङ्गाल हुन्छ ।”
विद्यालयले समाजकै निम्ति सेवा सम्झेर शैक्षिक क्षेत्रमा सहयोग गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले समाज बिग्रे समाजका बालबालिका पनि बिग्रने हुँदा आदर्श समाज निर्माणमा शिक्षक र अभिभावककोे ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
त्याग र सेवाको भावना नराखी पैसा नै सबथोक सम्झेर अघि बढे आफूलाई सङ्कट पर्दा जनताले मद्दत नगर्ने चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “स्कूल किनबेच गरेर नाफा खोज्नेहरू माफिया हुन्, त्यो एक अपराध हो ।”
महँगा स्कूलमा पढ्ने विद्यार्थीहरू कुलतमा फसेर लागूपदार्थ सेवनमा लागेको घटनाको स्मरण गर्दै उहाँले कुलतमा लागेका विद्यार्थीहरू समाजको इज्जत फाल्छन्, आफ्नै आमाबुबालाई समेत गन्दैनन् भन्नुभयो ।
विद्यार्थीहरूलाई टोल र स्कूल र स्कूल वरपर सरसफाइ अभियान र समाज सेवामा प्रेरित गर्नुपर्ने आवश्यकता आँैल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो, “देश र जनताको कुनै वास्ता नगर्ने, खालि पैसा कमाउने र विदेशमा जाने कुरा गरेर देश बन्दैन, जनताको जीवन सुनिश्चित हुँदैन ।”
नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले सचेत र शिक्षित अभिभावकका सन्तान राम्रो हुने विचार व्यक्त गर्दै विद्यार्थीलाई झैँ अभिभावकको लागि पनि निर्देशिका, प्रशिक्षण आवश्यक छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा विकृति र विसङ्गगति बढ्ने उल्लेख गर्दै उहाँले आ–आफ्ना सन्तानलाई आवश्यक वातावरण बनाउन अभिभावकहरू जिम्मेवारीबोधका साथ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेश नम्बर ३ को नेमकिपाका सांसद सृजना सैंजूले साँच्चैको असल मानिस बनाउन, सुसंस्कार र सुसंस्कृतिको समाज बनाउन शिक्षाले महत्वपूर्ण योगदान गर्ने विचार राख्दै युग सुहाउँदो शिक्षा दिनु आजको आवश्यकता हो भन्नुभयो ।
कम्युनिष्टको सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क, अध्ययन स्वदेशमै रोजगारी, सामाजिकीकरण, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन खोल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश जोगाउन र परिवर्तन गर्न सुझबुझ र शिक्षित महिलाहरूको सक्रियताको खाँचो छ भन्नुभयो ।
“अन्धविश्वास र कुरीति अन्त्य गर्न र महिलामाथि हुने शारीरिक र मानसिक यातना दिने र शोषणविरुद्ध लड्न राजनीतिक सुझबुझ भएका मान्छेको आवश्यकता छ”, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, आँखा विशेषज्ञ भोजराज पोखरेल, प्रसिद्ध प्रिस्कूल किताब प्रकाशनकी लेखिका एवम् मन्टेश्वरी ट्रेनर नीता श्रेष्ठ, विद्यालयका प्रिल्सिपल लिशा प्रजापति, अभिभावक प्रतिनिधि हरिसुन्दर कुसी, विद्यार्थीहरू नविना गिरी र प्रिज्मा प्रजापतिले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन बाँसुरी बाजाको धुनमा अतिथि बिजुक्छेँले गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रम देखाइएको सो कार्यक्रममा अथिति बिजुक्छेँले २०६३ देखि शिक्षा क्षेत्रमा निःस्वार्थपूर्वक योगदान गर्ने क्रियटिभका सदस्यहरू र १० वर्षभन्दा माथि शिक्षण सेवामा लागेका शिक्षक शिक्षिकालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
Leave a Reply