भर्खरै :

भारतीय चुनावका रमाइला प्रचारहरू

भारतमा गर्मीसँगै चुनावी तातो पनि बढिरहेको छ । चुनावी प्रतिस्पर्धामा आ–आफ्नो पक्षलाई जिताउन पार्टीहरूले विभिन्न तिकडम र चलाखी पनि गरिरहेका छन् । चुनाव सुरु हुन एक दिन अघि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने कार्यक्रम बनेको थियो । तर त्यहाँको निर्वाचन आयोगले सो चलचित्रको प्रदर्शन चुनावअवधि भरको लागि रोक लगाएको छ ।
मोदीले अघिल्लो चुनावमा आफू चिया बेच्ने केटो भएको भन्दै चायवालाको प्रचार व्यापक बनाइएको थियो । यो पटक आफू देशको चौकीदार भएको भन्दै ‘चौकीदार’ शब्द निकै व्यापक बनाए । भाजपाका प्रमुख नेताहरूले समेत आफ्ना सामाजिक सञ्जालका एकाउन्टको नामअघि चौकीदार शब्द झुण्ड्याए ।
चुनाव हुन केही दिन अघि भारतका विभिन्न भेगमा चल्ने रेलका यात्रुलाई निःशुल्क चिया बाँडियो । त्यो चिया राखिएको कागजको गिलासमा लेखिएको थियो, चौकीदार चिया ।
यस्तै शिलशिलामा हालै सामाजिक सञ्जालमा एउटा तस्वीर ज्यादै हिट भयो । तस्वीरमा हालै विवाह गरेका बलिउडको स्टार जोडी मानिएको रणवीर सिंह र दिपिका पाडुकोणले ‘भाजपालाई भोट’ लेखिएको खादा लगाएका थिए । तस्वीरको तल लेखिएको थियो,‘कमल चिन्हमा बटन थिच्नुस्, दशेको प्रगतिको भागीदार बन्नुहोस् ।’
एक बिहारी एक सय पे भारी नामको फेसबुक पेजले पोस्ट गरेको सो तस्वीर चार हजारभन्दा बढी पटक सेयर भइसकेको थियो । मे भी चौकीदार नामको भाजपाको चुनावी एकाउन्टले समेत त्यो तस्वीर सेयर गरेको देखियो ।
तर छानबिन गर्दै जाँदा त्यो तस्वीर नक्कली भएको पत्ता लाग्यो । ३० नोभेम्बर २०१८ को दिन मुम्बईको सिद्धिबिनायक मन्दिर बाहिर खिचिएको रणवीर सिंह र दिपिकाको सो तस्वीरमा मिलाएर भाजपाको समर्थनमा त्यस्तो कुरा लेखिएको पत्ता लाग्यो ।
असली तस्वीरमा पनि उनीहरूले गेरु वस्त्रको खादा लगाएका थिए । तर, त्यसमा भाजपाको समर्थनमा केही लेखिएको थिएन । कम्प्युटरको फोटोसप प्रोग्रामबाट त्यो तस्वीरलाई त्यस्तो बनाइएको फेला प¥यो ।
भारतीय चुनावमा यस्ता धेरै रमाइला रमाइला घटना भइरहेका छन् । त्यसैले त भारत संसारकै सबभन्दा ठूलो लोकतन्त्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *