“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २९ चैत । ३९ औँ शिक्षक दिवसको सन्दर्भमा सामुदायिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको आयोजनामा शुक्रबार आदर्श आजाद माविमा निवृत्त शिक्षक तथा कर्मचारी सम्मान र उत्कृष्ट डायरी लेखन पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षकहरूले सुयोग्य, देशभक्त र सक्षम नागरिक तयार गर्न कर्तव्यनिष्ठ भई अध्यापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समसामयिक विषयमा जानकारी दिँदै अध्यक्ष रोहितले भन्नुभयो, “राजदूतहरू परराष्ट्र मामिलामा जानकार हुनुका साथै राष्ट्रको प्रतिनिधित्व गर्नसक्ने क्षमताको खुबी भएको हुनुपर्छ ।”
सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिँदै उहाँले सामुदायिक विद्यालयले शिक्षामा गुणस्तर वृद्धि गर्न सकेमात्र विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्नेछ भन्नुभयो ।
शिक्षकहरूले पनि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले देश र जनताको हितमा राजनीति गर्नु शिक्षकहरूको कर्तव्यभित्र पर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतूले मावि तहसम्मको शिक्षा निःशुल्क र आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुने संवैधानिक व्यवस्थालाई बेवास्ता गरी निजी विद्यालय यथावत सञ्चालन गर्न पाउने शिक्षा ऐन बनाउनु संविधानको भावनाविपरीत भएको बताउनुभयो ।
लामो समयसम्म अस्थायी सेवामा कार्यरत शिक्षकहरूलाई सेवाबाट हटाउनुको सट्टा सेवामा निरन्तरता गराउनुपर्ने विचार उहाँले राख्नुभयो ।
सेवा निवृत्त शिक्षक राजाराम सुवालले शिक्षकहरू सङ्गठित भई न्यायको पक्षमा लड्नुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसी, शारदा माविका प्राचार्य रोशनराज तुइतुईलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छें्रले सेवा निवृत्त १५ जना शिक्षकहरूलाई सम्मान र ३२ जना शिक्षकहरूलाई उत्कृष्ट शिक्षक डायरी लेखनवापत पुरस्कार वितरण गर्नुभएको थियो ।
भक्तपुरमा शिक्षक दिवस
शिक्षक दिवसको अवसर पारी नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा शुक्रबार शिक्षक भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले पञ्चायत हुँदै बहुदलीय शासन व्यवस्थाका सरकारहरूले शैक्षिक प्रगतिको कुरा गरे तापनि यथार्थमा सरकारहरू शिक्षाविरोधी देखिएको व्यवहारले पुष्टि गरेको बताउनुभयो ।
निजी शिक्षालाई प्राथमिकता दिनु समाजवाद नभएको बताउँदै शिक्षाको दायि हात झिक्दै जानुले सरकार पुँजीवादको बाटोमा लागेको प्रस्ट छ, उहाँले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “शिक्षकहरूले आफ्नो व्यक्तित्व विकासको साथै विद्यार्थीहरूको लवाइ, खवाइमा समेत ध्यान दिन आवश्यक छ ।”
नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतूले हालसम्मको शिक्षकहरूको उपलब्धि आन्दोलनको परिणाम भएकाले पीडित शिक्षकहरूको आन्दोलनमा सङ्घले ऐक्यबद्धता जनाउने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका उपाध्यक्ष सन्तराम दुलालको सभापतित्वमा भएको भेलामा सचिव गणेशराम थुसा, सदस्य सुनिता घटुवा, शिवराम बोहजू, शिक्षक सङ्घर्ष समितिका अध्यक्ष जीवन सुवाललगायतले शिक्षक दिवसको महत्वबारेमा आ–आफनो विचार राख्नुभएको थियो ।
काभ्रेमा शिक्षक दिवस
शिक्षक दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिले काभ्रेको मण्डन देउपुरमा शिक्षक दिवस मनायो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय प्रतिनिधि नारायणबहादुर दुवालले विगतमा शिक्षकहरुले गरेको आन्दोलनको फलस्वरुप शिक्षकहरुले निर्दलीय पञ्चायत कालमा पनि सङ्गठन गर्ने अधिकार प्राप्त गरी स्थायी हुने अवसर, सञ्चयकोष, स्वास्थ्य उपचार सुविधालगायत प्राप्त गर्न सकेको हो भन्नुभयो । उहाँले संविधानले मौलिक अधिकारको रूपमा स्थापित अधिकारलाई निःशुल्क र अनिवार्य गर्न गराउनको लागि पुनः सङ्घर्षको आवश्यकता छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले हालै शिक्षक सेवा आयोगले गरेको शिक्षकहरुको नतिजा प्रकाशनमा अस्थायी शिक्षकहरुप्रति गरेको अन्यायको विरुद्घ सङ्घर्षको आवश्यकता औँल्याउँदै सङ्घर्षबाटै हिजो शिक्षकहरुको हक अधिकार स्थापित भएको बताउनुभयो । शैक्षिक क्षेत्रमा रहेको बेथिति, विसङ्गति हटाउन आन्दोलन र सङ्घर्ष नै विकल्प हो उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका सदस्य कृष्णबहादुर तामाङले राजनैतिक चेतना नभएकोले काम गरी खाने मजदुर किसानको बाहुल्यता भए पनि शोषकहरुले शैक्षिक, आर्थिक, राजनैतिक फाइदा उठाइरहेको छ, मजदुर किसानका छोराछोरीहरुलाई राजनैतिक रुपमा सचेत र सङ्गठित गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा शिक्षक कर्मा वाइबा र जगन्नाथ सुजखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply