यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– हिक्मतबहादुर नेपाली
दुल्लु, २ वैशाख । ‘दही खानु दैवले लैगो, मही खानु हराई गो ।’ हुन त यो पश्चिमेली लवजको पुरानो गीत हो । तर, यही गीत यहाँका नागरिकका लागि वास्तविकतामा परिणत भएको छ । साठी वर्षीया खडके वडले आफ्नो व्यथा सुनाउँदै गुनगुनाएको यो गीतले यहाँका नागरिकको कथा र व्यथा समेटेको छ । भित्र्याउने तरखरमा रहेको हिउँदे बाली चैत २२ गते साँझ आएको असिनापानीले सखाप पारेपछि यहाँका नागरिकहरूलाई सहिनसक्नु पीडा भएको छ । चैत २५ गते ती गाउँ पुग्दा केही पनि बाँकी नरहेजस्तो उजाड देखिन्थ्यो । पहेलपुर गहुँबाली सबै ढलेका थिए । मानिसहरू मलिन अनुहारमा कहिले घर भित्र त कहिले बाहिर गरिरहेका थिए । केही असिनापानीले नष्ट पारेको उजाड बारी हेरिरहेका थिए । असिनापानीले बाली स्वाहा पारेकाहरू राहतका लागि स्थानीय सरकारसँग हारगुहार गरिरहेका थिए । उनीहरू छिनछिनमा भक्कानिन्थे ।
हारगुहार गर्ने पीडितमध्येका एक थिए, खडके वड । बोल्ने वाक्य ऊसँग थिएन । गहभरिका आँसु खसाल्दै पीडा सुनाउन उनी अघि सरे, एकैछिन रोकिए र भने – “जेनतेन ६ महिना खान पुग्ने गहुँ लगाएका थियौँ, त्यो पनि असिनाले लग्यो । हामी अब के खाएर बाँच्ने ?” यतिभन्दा पनि उनका पीडा सकिएका थिएनन् । “आफूमात्र भएको भए एक छाक टार्न मजदुरी गरेर खान्थेँ, घरमा १७ जनाको परिवार छ,” वड भन्छन् – “तिनलाई म एक्लैले गरेको मजदुरीबाट कमाएको पैसाले खान लाउन पुग्दैन, साहुले पनि पत्याउँदैन ।”
उनीमात्रै होइन यहाँकी जैसी नेपालीको पीडा पनि सहिनसक्नु छ । रुँदा रुँदा थाकेजस्तो मलिन अनुहार लिएकी तिनले भनिन् – “हाम्रो नाम पनि टिपेर लगिदिनुहोला सरकारले केही सहयोग गर्छ कि ।” उनका पीडा सुनेपछि त्यहाँ पुगेका सबैका आँखा रसाए, गला अवरुद्ध भए । घरमा एक छोरो, बुहारी र नाति नातिनी रहेका नेपालीले भनिन् – “छोरा र बुहारी आफूबाट छुट्टिएर बसेका छन, श्रीमान् छैनन् ।”
यता, चामुण्डाविन्द्रासैनी नगरपालिकाकी गौरा विकको व्यथा पनि उस्तै छ । यो वर्ष पाँच महिनासम्म आफ्नै उत्पादनले पुग्नेमा उनी ढुक्क थिइन् । समयमै पानी पर्दा गौराले लगाएका हिउँदे खेती विगतका वर्षको तुलनामा आशलाग्दो थियो । “तीन महिनाको चामल किन्ने पैसा बचाएर यसपटक साहुको ऋण तिर्ने योजना बनाएको थिएँ,” उनी भन्छिन् – “त्यो सपना चकनाचुर भयो ।”
“गाउँमा साहुको ऋण तिर्न बाँकी छ, साहुले उधारो चामल पत्याउँदैन, बेसाह गरेर खाने ठाउँ छैन, सबैले लगाएको हिउँदे खेती नष्ट गरिदियो,” उनी भन्छिन् । यस्तै पीडा यहाँका सबै वडाका करीब चार हजार घरधुरीमाथि परेको छ ।
असिनापानीले दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा लगाएको हिउँदे बाली नष्ट गरेपछि प्रभावित गाउँहरू उजाड भएका छन् भने पीडितहरू छिनछिनमा भक्कानिने गरेका छन् । ठूलो मात्रामा परेको असिनापानीले कृषकले लगाएका सबै बाली नष्ट गरेपछि यो क्षेत्रमा भोकमरी निम्तने खतरा बढेको छ । झण्डै ४० मिनेटसम्म लगातार परेको असिनापानीले कृषकले लगाएको गहुँ, बन्दा, सिमी, काउलीलगायतका बाली नष्ट गरेपछि भोकमरीको त्रास देखापरेको हो ।
खाने अन्न नभएपछि असिनापानी पीडितहरू राहतका लागि हारगुहार गरिरहेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले पीडितलाई उचित राहत दिने आश्वासन दिएका छन् । दैलेख पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटीकाँध गाउँपालिकाले उपलब्ध गराएका जानकारीअनुसार प्राकृतिक विपद्ले करीब ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
Leave a Reply