भर्खरै :

असान्जको मामिलामा दोहोरो मापदण्ड किन ?

ग्लोबल टाइम्सको सम्पादकीय
गएको बिहीबार विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनबाट पक्राउ गरियो । लन्डनमा असान्जलाई शरण दिंदै आएको इक्वेडरले शरण दिने निर्णय फिर्ता ग¥यो र बेलायती प्रहरीलाई ‘बोलाएर’ उनलाई दूतावासबाट बाहिर निकालियो । असान्जलाई अन्ततः संरा अमेरिकामा सुपुर्दगी गरिनेछ । त्यहाँ उनीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
असान्जले सन् २००६ मा विकिलिक्स स्थापना गरेका थिए । उनले विकिलिक्समार्फत विभिन्न देशका गोप्य दस्तावेजहरू सार्वजनिक गरेका थिए । सन् २०१० मा लाखौँको सङ्ख्यामा संरा अमेरिकाको सरकारका गोप्य दस्तावेज सार्वजनिक गरेपछि विकिलिक्स संसारभरि चर्चित भयो । वाशिङ्टनले असान्जविरुद्ध गुप्तचरीको आरोप लगाएको छ भने स्वीडेन सरकारले उनीविरुद्ध बलात्कारको आरोप लगाएको छ । सन् २०१२ मा तारिखमा छोडिएको अवस्थामा उनले लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका थिए ।
संरा अमेरिकाले असान्जमाथि आफ्ना सरकारी कम्प्युटरबाट सूचना चोर्ने प्रयास गरेको आरोप लगाएको छ । इक्वेडरको दूतावासबाट गिरफ्तार गरी बाहिर ल्याइँदा ४७ वर्षका असान्जको कपाल र दारी पुरै सेतो देखिएको थियो । उनले अब ठूलो समस्या सामना गर्नुपर्ने हुनसक्छ ।
असान्जले संसारका धेरै सरकारलाई समस्यामा पारेका थिए । तीमध्ये पनि सबभन्दा बढी समस्यामा भने संरा अमेरिकाको सरकारलाई पारेका थिए । धेरै देशले असान्जले कुन उद्देश्यले यस्ता काम गरिरहेका छन्, बुझ्न खोजिरहेको बेला वाशिङ्टनले एक पाइला अघि सरी उनलाई साइबर अपराधीको दोषारोपण गरे ।
संरा अमेरिकाले गैरपश्चिमा देशहरूमाथि प्रेस स्वतन्त्रता हनन र आफ्ना विरोधीमाथि दमन गरेको आरोप लगाउने गरेको छ । विकिलिक्सले यदि चीन, रुस, इरानजस्ता देशलाई निशाना बनाएको भए संरा अमेरिका र उसका सहयोगी देशहरू खुसीले नाच्थे । असान्जलाई एकतन्त्रविरुद्ध लड्ने नायकको पदवीले सुशोभित गरिन्थ्यो ।
तथापि असान्ज राजनीतिक मनसायका व्यक्ति होइनन् । उनी आदर्शवादी अराजकतावादी हुन् । आफ्नो देशको सरकारप्रति विमति राख्ने गैरपश्चिमा देशका नागरिकभन्दा उनी कम चलाख देखिए । गैरपश्चिमा देशका ती आफ्ना सरकारविरोधीहरू सबैले सूचना चुहाउने काम नै गरेका थिए । तीमध्ये कतिजनाले त जेलमा हुँदासमेत नोबेल शान्ति पुरस्कार पाए । असान्ज भने पश्चिमा देशहरूको शिकार बने । उनी आफ्ना देशको सत्तासँग विमति राख्नेहरूमध्ये सबभन्दा ठूलो पराजयी व्यक्ति बनेका छन् ।
असान्जको दुःखान्तले कुनै पनि सरकारले आफ्नो देशको कानुनी व्यवस्थामा प्रभाव पार्ने गरी इन्टरनेट गतिविधिलाई छुट नदिने कुरा प्रस्ट हुन्छ । आजको विश्वमा निरपेक्ष सूचनाको स्वतन्त्रता हुनसक्दैन । कुनै पनि देशको सरकारको प्रेस स्वतन्त्रताप्रतिको मान्यता उसको राजनीति अभिप्रायमा भरपर्ने कुरा पनि यसले प्रस्ट बनाएको छ । न्याय सिद्धान्तले यो कुराको निर्णय हुनसक्दैन ।
एडवार्ड स्नोडेनले गरेको काम असान्जको भन्दा भिन्न थियो । तर, दुवैले संरा अमेरिकाको राष्ट्रिय छवि धमिल्याएको छ । स्नोडेनलाई संरा अमेरिकाले अपराधी घोषणा गरे पनि कुनै कुनै देशले उनलाई नायकको रुपमा हेरेको छ । असान्ज र स्नोडेनले सूचना बाहिर ल्याएर उनीहरूले विश्वको आजको सत्य उजागर गरेको छ ।
संरा अमेरिकाले असान्जलाई सुपुर्दगी गराउन हुन्छ वा हुँदैन भन्नेमा हामी केही भन्न सक्दैनौं । तर, वाशिङ्टनले दोहोरो मान्यता राख्नु हुन्न । एकातिर संरा अमेरिकी विचारलाई चुनौती दिनेलाई लखेट्ने अनि अर्कोतिर द गैरपश्चिमा देशमा त्यहाँको सरकारविरुद्ध बोल्नेलाई बुइँ चढाउनुहुन्न । पश्चिमा देशहरूले आफ्नो नीतिमा स्थिरतामात्र ल्याउने हो भने संसारमा अराजकता कम हुनेछ ।
नेपाली अनुवादः अनिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *