भर्खरै :

किसानको कहर

वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । सबै जना नवीन आशा र ऊर्जाका साथ नयाँ वर्षलाई स्वागत गरिरहेका थिए । तर, देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र असिनाले विशेषतः किसानहरूको लागि नयाँ वर्षको पहिलो दिन निकै दुःखद बन्यो । दैलेख जिल्लामा परेको पानी र असिनाले जिल्लाका अधिकांश किसानले छाक काट्नुपर्ने बाध्यता आइपर्ने भएको छ । भित्याउन ठीक्क भएको हिउँदे बाली असिना र वर्षाले नष्ट हुँदा दैलेखी जनताले पुरानो भाका गाउन थालेका छन्,“दही खानु दैवले लैगो, मही खानु हराई गो ।” दैलेखको पश्चिम भेग चामुण्डा बिन्द्रासैनी, ठाँटीकाँध, दुल्लुलगायतका ठाउँ प्राकृतिक विपत्तिको शिकार बनेका छन् ।
वैशाख १ गते भक्तपुर जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरमा परेको भारी वर्षा र असिनाका कारण स्थानीय किसानका धेरै बालीनाली नष्ट भएका छन् । व्यवसायिक रुपमा गरिएको आलु खेती र गहुँ बाली ज्यादै प्रभावित बनेका छन् ।
एक त कृषि उत्पादनको बजार मूल्य किसानले कम पाउने, त्यसमाथि किसानहरूले गाँस मुखैमा राख्ने बेलामा यसरी खोसिंदा मिहिनेती किसानमा कृषि पेशाप्रति नै विरक्ति आउन सक्छ । विचौलियाको चंगुलमा परी आफूले उत्पादन गरेको कृषि उत्पादनको किसानले मूल्य पाउने गरेका छैनन् । त्यसमाथि प्रकृतिसँग सधैंभरि लडिरहनुपर्ने अवस्थाले किसानमा कतिबेला हतासभावना आउन सक्छ ।
कृषि उत्पादन नभई देशको पेट भरिन्न । किसानको पसिना नबगी देश निर्माण हुन्न । किसानको हात रोकिए समाजको गति पनि अवरुद्ध हुन्छ । किसान चुप लागे सरकारको आधार खुस्किन्छ । त्यसकारण किसानलाई आफ्नो पेशामा उत्साहित बनाउने दायित्व सरकारको हो । सरकारले किसानलाई कृषि कर्ममा उत्साहित गरिरहन सके देशको विकासले गति पाउने हो । प्राकृतिक विपत्तिका कारण किसानले भोग्नुपरेको क्षति आफ्नै पसिनाबाट तिर्नुपर्ने बाध्यताले कालान्तरमा किसानी पेशाप्रतिको आकर्षण कम हुँदै जानेछ । आज नेपाली युवा आफ्ना खेतखलिहान खन्न छोडेर विदेशी मरुभूमिमा गोठाला बन्न जानुको मूल कारण पनि कृषि क्षेत्रमा बढ्दो निराशा नै हो ।
दैलेख, भक्तपुर, बारा, पर्सालगायतका जिल्लाका किसानले भोग्नुपरेको क्षतिको उपयुक्त क्षतिपूर्ति सरकारले दिन आवश्यक छ । मल, बीउबिजन, कृषि औजारमा सरकारले पीडित किसानलाई क्षतिपूर्ति दिन सके किसानले भोलिका दिनमा पनि आफ्नो कोही भरोसा भएको विश्वास मान्नेछन् । किसानको आँसु पुछ्न स्थानीय तहको सरकारले तदारुकता देखाउन जरुरी छ । बजार मूल्यको निकै कम प्रतिशतमात्र किसानको हात पर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । कृषि भूमिमा आवास वा अन्य निर्माण गर्न निरुत्साहित गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्छ । कृषि बजारमा सिधै किसानको पहुँचको लागि सरकारले उपयुक्त अवस्था बनाउनु पर्छ ।
कृषि उत्पादनको लागि आवश्यक सामग्री जस्तैः मल, बीउबिजन र औजार उत्पादन गर्ने कलकारखाना नेपालमै स्थापना गरिनुपर्छ । नेपालको आर्थिक समृद्धि र विकासको आधार भनेका ती नै पूर्वाधार हुन् ।
परम्परागत खेती प्रणालीकै कारण प्राकृतिक प्रकोपको बेला नेपालको कृषि क्षेत्र ज्यादै प्रभावित हुने गरेको छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिको कार्यान्वयन गर्न सके सामान्य प्राकृतिक प्रकोपबाट कृषि क्षेत्र प्रभाव मुक्त हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *