“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, ४ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शासक दलहरूले जन्मको आधारमा नागरिकता दिने ऐन पारित गरेर गल्ती गरेकै कारण जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन खोजिएको बताउनुभएको छ ।
बुधबार माउन्टेन टीभीका सञ्चारकर्मी प्रकाश गिरीसँग ‘खरो प्रश्न’ कार्यक्रममा समसामयिक विषयमा कुराकानी गर्दै उहाँले देश क्रमशः फिजीकरणतिर अघि बढ्ने खतरा रहेको बताउनुभयो ।
भारतीय एकाधिकार पुँजी र विस्तारवादले नेपाललाई अझै पनि स्वतन्त्र राज्यको रूपमा हेर्न नचाहेको बताउँदै उहाँले भारतीय विस्तारवादको दबाबमै सरकारले देश हितविपरीतको नागरिकता ऐन–नियम बनाइरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “देशको अर्थतन्त्रको ५५ प्रतिशत निजी क्षेत्रलाई जिम्मा लगाउने सरकार समाजवादी वा कम्युनिष्ट होइन । नेकपाको सरकारले कम्युनिष्ट सरकारले गर्नुपर्ने काम गरिरहेको छैन ।”
सरकारको समृद्धिको नारा झूट भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारले भनेको समृद्धि सत्ता नजिकका सीमित मानिसको लागि मात्र हो । दास युगमा दास मालिकहरू समृद्ध थिए । दासहरू उत्पीडित थिए । दास मालिकहरूको लागि त्यो युग पनि समृद्धिको युग थियो ।”
“इतिहासमा स्वर्ण युग भनिएको युग दास मालिकहरूको सुखद् युग थियो, दासहरूको लागि उत्पीडनकारी शासन थियो ।”, उहाँले भन्नुभयो ।
सरकारले काममा भन्दा बढी प्रचार गरिरहेको बारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले प्रधानमन्त्रीले हल्ला गर्नुअघि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“पञ्चायतले हिजो जे गरेको थियो, नेपाली काङ्ग्रेसले त्यसैलाई निरन्तरता दियो । नेपाली काङ्ग्रेसले गरेको कामलाई एमालेले निरन्तरता दियो । त्यही भएर एमालेलाई भाइ काङ्ग्रेस भनिएको थियो । नेकपाको सरकारको पालामा भइरहेको भ्रष्टाचार र अव्यवस्था हेर्दा नेकपा दाइ काङ्ग्रेस जस्तो देखिएको छ ।”, उहाँले भन्नुभयो ।
नेपालमा कम्युनिष्ट आन्दोलनको आकार बिगार्ने काम एमालेबाट सुरू भएको र पछि माओवादी केन्द्रसमेत थपिएको धारणा राख्दै उहाँले जनतालाई झुक्याएर मत बटुल्नमात्र नेकपाले कम्युनिष्ट शब्द आफ्नो नाममा झुण्ड्याइरहेको बताउनुभयो ।
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष बनाउने नाममा सिद्धान्त लत्याएर हिँड्नु मानिसले हातले टेकेर हिँड्न खोज्नुजस्तै मूर्खतापूर्ण हुने उहाँको भनाइ थियो ।
सरकारले प्रतिबन्ध लगाएको विप्लव माओवादीबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै अध्यक्ष बिजुक्छेँले विप्लवको पार्टी अपराधी भए अहिलेको नेकपा पनि अपराधी पार्टी हुने बताउनुभयो ।
राजनीतिक विषयको समाधान राजनीतिक रूपमा नै गर्नुपर्नेमा जोड दिँदै उहाँले पुँजीवादी व्यवस्थामा अनेकन विकृति हुने भएकैले इतिहासमा समाजवादी व्यवस्थाको आवश्यकताबोध भएको विचार राख्नुभयो ।
पुँजीवादी व्यवस्थाले व्यापक कामदार जनताको हित गर्न नसक्ने धारणा उहाँले राख्नुभयो ।
Leave a Reply