भर्खरै :

पेचिलो बन्दै भेनेजुयला सङ्कट :भेनेजुयला, निकारागुआ र क्युवाविरूद्ध संरा अमेरिकाको थप नाकाबन्दी

वाशिङ्टन, १८ अप्रिल । संरा अमेरिकी सरकारले बुधबार भेनेजुयला, निकारागुआ र क्युवामाथि थप नाकाबन्दी र बन्देजका शृङ्खलाबद्ध निर्णय गरेको छ ।
संरा अमेरिकी अर्थ विभागले आफ्नो विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले भेनेजुयलाको केन्द्रीय बैङ्क र त्यसका निर्देशक जोसेफा रूजा तेरनमाथि नाकाबन्दी थोपरेको बुधबार घोषणा ग¥यो । सोही दिन ओएफएसीले निकारागुआका राष्ट्रपति ड्यानिएल ओर्टेगाका छोरा ओर्टेगा मुरिल्लो र उपराष्ट्रपति रोसारिओ मुरिल्लोलाई पनि कालो सूचीमा राखेको छ । साथै निकारागुआको बैङ्क बान्को कपोराटिभो एसएलाई पनि कालो सूचीकृत गरेको छ ।
संरा अमेरिकाले यसरी नाकाबन्दी थोपरेको र कालोसूचीमा समावेश गरेका व्यक्ति वा संस्थाको नाममा रहेका संरा अमेरिकी क्षेत्राधिकारभित्रका सबै सम्पत्तिमाथि रोक्का गरिएको छ । साथै संरा अमेरिकाका कोही पनि व्यक्तिलाई ती व्यक्ति वा संस्थासँग कुनै पनि प्रकारको कारोबार गर्न रोक लगाएको छ ।
ट्रम्प सरकारले क्युवाली सेनाको स्वामित्वमा रहेका पाँच संस्थालाई पनि बन्देजको सूचीमा समावेश गरेको छ । त्यस्तै संरा अमेरिकी सरकारले क्युवामा जाने रेमिट्यान्समा पनि रोक लगाउने निर्णय गरेको छ । तेस्रो पक्षीय वित्तीय संस्थाबाट डलरमा हुने कारोबारमा रोक लगाउनुका साथै क्युवामा पारिवारिक भेटघाटबाहेकका सबै भेटघाटमा रोक लगाएको छ ।
संरा अमेरिकी विदेशसचिव माइक पोम्पेओले बुधबार ट्रम्प सरकारले क्युवाली स्वतन्त्रता र प्रजातान्त्रिक ऐक्यबद्धता ऐनको दफा तीनलाई थप निष्क्रिय नराख्ने घोषणा गरेका छन् । त्यो ऐन सक्रिय बनाएपछि क्युवाले कब्जा गरेको संरा अमेरिकी सम्पत्तिमा कुनै पनि विदेशी कम्पनीले सञ्चालन गरे मुद्दा चलाउन पाउनेछ ।
हेल्स–बुर्टन ऐन भनेर पनि चिनिने सो ऐन क्युवाविरूद्ध नाकाबन्दीलाई बलियो बनाउन सन् १९९६ मा पारित गरिएको थियो ।
संरा अमेरिकी सरकारको सो कदमको प्रतिक्रियामा क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले ‘संरा अमेरिकी निर्णय अन्तर्राष्ट्रिय कानुनविरूद्ध र क्युवा तथा अन्य तेस्रो देशको सार्वभौमिकतामाथिको हमला’ भएको भनी ट्वीट गरे ।
उनले क्युवाविरूद्ध संरा अमेरिकी आक्रामक कदम असफल हुने बताए ।
संरा अमेरिकाको सो कदमलगत्तै युरोपेली सङ्घले तत्कालै वक्तव्य जारी गरी ‘एक पक्षीय रूपमा आफ्नो क्षेत्रभन्दा बाहिर गएर क्युवासँग सम्बन्धित कदम अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै कडा विरोध’ जनाएको छ ।
बे अफ पिग्स हमलाको ५८ औँ वार्षिकीको अवसरमा मायामीमा क्युवाली प्रवासीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले नयाँ नाकाबन्दी भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको सरकारको पक्षमा भेनेजुयलामा सैनिक पठाउने रूसलगायत अन्य बाह्य शक्तिविरूद्ध बलियो चेतावनी भएको बताए ।
रूसी विदेश मन्त्रालयले भेनेजुयलामा रूसी सेनाको उपस्थिति दुई देशबीच सैनिक–प्राविधिक सहकार्यसम्बन्धी सम्झौतामा आधारित भएको बताए ।
मस्कोले वाशिङ्टनलाई पटक–पटक भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिंदै आएको छ । मस्कोले भेनेजुयलाको सङ्कट संवादमार्फत समाधान गर्न आह्वान गर्दै आएको छ ।
वाशिङ्टनले भेनेजुयलामा विपक्षी दलका नेता ह्वान ग्वाइडोको समर्थनमा भेनेजुयलाको निर्वाचित सरकारविरूद्ध आर्थिक नाकाबन्दी र कूटनीतिक रूपमा एक्लो बनाउने नीति लिएको छ ।
गएको जनवरी २३ मा वाशिङ्टनले ग्वाइडोलाई ट्रम्प सरकारले ‘अन्तरिम राष्ट्रपति’ को मान्यता दिएको थियो । माडुरोले दोस्रो कार्यकालको लागि राष्ट्रपति पदमा सपथ लिएको केही दिनमा वाशिङ्टनले यस्तो निर्णय गरेको थियो ।
वाशिङ्टनको सो कदमविरूद्ध माडुरो सरकारले संरा अमेरिकी सरकारसँग सबै ‘कूटनीतिक र राजनीतिक सम्बन्ध’ तोड्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *