“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, ५ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले प्राचीन स्मारक संरक्षण ऐनअनुसार एक सय वर्ष पुराना भौतिक एवम् अभौतिक सम्पति सम्पदाको रूपमा स्थापित हुने उल्लेख गर्दै सम्पदा संरक्षण अन्धविश्वास होइन विज्ञानसम्मत हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारमा गएकाहरूले समाज परिवर्तनको निम्ति काम गर्न नसकेको औँल्याउँदै उहाँले देशको सन्तुलित विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांस्कृतिक सम्पदा संरक्षणले आन्तरिक तथा बाह्य पर्यटक बढाएर नगरवासीहरूकै आयवृद्धि हुने नीति निर्माण गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले अमानत र उपभोक्ता समितिमार्फत विकास निर्माणको कार्य अगाडि बढाउनु उचित हुने विचार व्यक्त गर्नुभयो ।
‘भक्तपुरलाई युनेस्कोले सम्पदा संरक्षण र सरसफाइको निम्ति पिस प्राइज र ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘सदाचारको टापु’ भनी पुरस्कृत भ्रष्टाचारविरोधी कामको निम्ति गरेको चर्चा गर्दै विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा अझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षणमा सङ्घ सरकारले उचित बजेट व्यवस्थापन गर्न नसकेको गुनासो व्यक्त गर्दै आवश्यक काठ, निर्माण सामग्री र दक्ष जनशक्तिको अभावका कारण पुनःनिर्माण कार्यमा समस्या भइरहेको बताउनुभयो ।
भक्तपुरका अव्यवस्थित तारहरू भूमिगत गर्ने प्रक्रिया अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले पर्यटकको बसाइ लम्ब्याउन आवश्यक व्यवस्थापन भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ‘भक्तपुर नगरपालिकाका भौतिक र अभौतिक सम्पदाको पुनःजीवन’ (Revitalisation of tangible and intangible heritages of Bhaktapur City) विषयमा प्रस्तुतीकरण दिँदै भक्तपुरको सांस्कृतिक सम्पदा जगेर्ना गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा संरक्षण कार्यमा भक्तपुर नगरपालिकाको काम सराहनीय भएको औँल्याउँदै कुनै पनि ठाउँको संस्कृति जोगाउन खुला स्थानहरूको जगेर्ना गर्नु आवश्यक भएको बताउनुभयो । इतिहासविद् श्रेष्ठले भक्तपुरको प्राचीन राजकुलो ब्युँताउन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर जिल्लाका सहायक प्रजिअ दिलिप लामिछानेले भक्तपुरको पुरानो स्वरूपको गहन अध्ययनको आवश्यकता औँल्याउँदै पर्यटककेन्द्रित गतिविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठ र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ख्वप इ. कलेजका विद्यार्थी आ. रविता शिल्पकारले भक्तपुर नपा वडा नं. ८ जेंलामा अवस्थित जेंला पुखुचा (पोखरी) को स्थलगत प्रतिवेदनबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
सोही कार्यक्रममा भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिलाई जेंला पुखुचाको स्थलगत अध्ययन प्रतिवेदन ख्वप इ. कलेजका प्राचार्य सुजन माकले हस्तान्तरण गर्नुभयो । विश्व सम्पदा दिवसको अवसरमा भक्तपुरको दरबार क्षेत्रमा सांस्कृतिक सम्पदाहरूको फोटो प्रदर्शनी पनि राखिएको जानकारी भक्तपुर नपाले दिएको छ ।
Leave a Reply