भर्खरै :

जनताको प्रजातन्त्र नभएसम्म जनतालाई दुःख हुने

बुटवल, ५ वैशाख । नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले जितगढीमा भारतीय सेनालाई परेड खेलाउन जग्गा दिने पूर्वप्रधानमन्त्री प्रचण्डलाई जितगढीको विजयोत्सवमा अतिथि बोलाउनु बुटवल उपमहानगरपालिकाको गलत काम हो भन्नुभयो ।
बुटवलस्थित रेडियो मुक्तिको ‘समय सन्दर्भ’ कार्यक्रममा प्रतिमा गौतमसँग संवाद गर्दै अध्यक्ष वासीले अङ्ग्रेजसँगको लडाइँ जितेको खुसीयालीमा पाल्पामा भगवती जात्रा मनाएजस्तै युद्ध जितेको स्थान बुटवलमा पनि विजयोत्सव मनाउन नेपाल मजदुर किसान पार्टीसमेत बुटवल उपमहानगरपालिकाको दलीय संयन्त्रले विजय दिनको पहिचान गर्न अध्ययन समिति बनाएको स्पष्ट पार्नुभयो । अध्ययन समितिले सिफारिस गरेको वैशाख ७ गते विजयोत्सव मनाउन नगरपालिकाले निरन्तरता दिनुलाई स्वागत गर्दै अध्यक्ष वासीले जितगढीको शानमाथि आक्रमण गर्ने भारतीय सेनाको क्याम्प राख्न जग्गा दिने प्रचण्ड देशद्रोही हो भन्नुभयो ।
सम्पूर्ण नेपाली जनताको शिक्षा स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने चर्चा गर्दै अध्यक्ष वासीले भारतीय पूर्व गोर्खा सेनाका परिवारको शिक्षा र स्वास्थ्यको लागि भारतीय सेनाकै क्याम्प स्थापना गर्नु लज्जाहीन र देशघाती कदम हो भन्नुभयो ।
एमाले र माओवादीले कम्युनिष्टको नाममा कम्युनिष्टहरूकै बद्नाम गरिरहेको चर्चा गर्दै अध्यक्ष वासीले ओली सरकार भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादीहरूको इसारामा चलिरहेको दाबी गर्नुभयो । ५० करोड डलर सहयोग पाउन संरा अमेरिकी नीतिको अधिनस्थ भई तिब्बती उपद्रवीहरूलाई छाडा छोड्नुपर्ने र सार्वभौम उत्तर कोरियाको विरोध गर्नुपर्ने सर्त नेपाल सरकारले स्वीकार गर्न लागेको उल्लेख गर्दै अध्यक्ष वासीले मजदुर किसानको नेतृत्वमा र राष्ट्रिय पुँजीपति वर्ग अनि देशभक्त, प्रगतिशील बुद्धिजीवीहरूको सहभागितामा सरकार हुने जनताको प्रजातन्त्र स्थापना नभएसम्म नेपाली जनताले दुःख पाउने स्पष्ट पार्नुभयो ।
उहाँले समाजलाई भ्रममा राख्न खोज्नेहरू कम्युनिष्ट नाम गरे पनि कम्युनिष्ट – साम्यवादी नभई सोफिष्ट – वितण्डावादीहरू हुन् भन्नुभयो । नेकपाभित्रको विद्वान भनेर चिनिएको घनश्याम भुसालले दलाल पुँजीवादको विरोध गरे पनि दलाल पुँजीवादको मिथ्या प्रचार गरेर आफै दलाल पुँजीवादका दलाल बनेको दाबी गर्दै अध्यक्ष वासीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा डो¥याउन व्यापक कामदार जनतालाई सैद्धान्तिकरूपमा सचेत र सङ्गठित बनाउन मजदुर दिवस मनाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *