भर्खरै :

व्यापार घाटा कम गर्न पानी निर्यात गर्ने तयारीमा सरकार

काठमाडौँ, ६ वैशाख । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।
विश्वमा उपलब्ध पिउनयोग्य तीन प्रतिशत पानीमध्ये नेपालको हिमनदीमा मात्रै एक दशमलव तीन प्रतिशत पानी उपलब्ध छ । देशभित्र उपलब्ध रहेको पानीमध्ये ३० प्रतिशत पानी मूलबाट सोझै पिउनयोग्य रहेको सन्दर्भमा व्यापार घाटा अन्त्यका लागि ‘पानी अर्थतन्त्र’ लाई प्रश्रय दिन लागिएको हो ।
खानेपानी मन्त्रालयले हिमाली क्षेत्रको पानीलाई विभिन्न ‘ब्राण्ड’ मा उत्पादन गर्दै गुणस्तरीयतामा ध्यान दिई अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले विभिन्न २८ वटा हिमनदीको पानी उत्पादन र त्यसलाई बजारीकरण गर्ने लक्ष्यसाथ प्रारम्भिक अध्ययनको काम सुरु गरिसकेको छ ।
नेपालमा उपलब्ध विभिन्न जडीबुटी तथा वनस्पतिको स्वादमा अन्तर्राष्ट्रिय बजारमा पानी निर्यात गर्न सके त्यसले व्यापार घाटा घटाउनमात्रै सहयोग गर्ने नभई रोजगारीको अवसर सिर्जना गर्ने विश्वास लिइएको छ ।
मन्त्रालयले अध्ययनको क्रममा दूधकुण्ड, क्यासाई, इङ्खु, मेरा हिमनदीमा अध्ययन गर्ने भएको छ । यस्तै मनाङका पाङ्गुरी, लाप्चे, पङ्खे, सुती ताललगायत ६ हिमनदीमा अध्ययन गर्ने तयारी गरेको छ ।
सर्वोच्च शिखर सगरमाथाको पानी भन्ने ‘ब्राण्ड’ स्थापित गर्ने लक्ष्य मन्त्रालयको छ । त्यसका लागि सार्वजनिक निजी साझेदारी ढाँचामा उद्योग स्थापना, अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाको स्थापना, गुणस्तरमा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय बजारमा पानीको बजार खोज्ने सरकारको तयारी छ ।
तर उत्पादनका अन्य क्षेत्रको विकास र विस्तारमा ध्यान दिनुको सट्टा सरकारले पानी निर्यातको प्रस्तावले देशको आर्थिक विकासमा ठूलो फड्को आउने समय निकै टाढा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *