भर्खरै :

उसुमा आर्मीलाई १४ स्वर्ण

राँझा, १० वैशाख (रासस)ः आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत उसुमा आर्मी क्लबले सर्वाधिक १४ स्वर्ण पदक जितेको छ । आर्मीले एक रजत र तीन कास्यसमेत जितेको छ । एपिएफ क्लबले पाँच स्वर्ण, आठ रजत र पाँच कास्य तथा पुलिस क्लबले दुई स्वर्ण, एक रजत र पाँच कास्य जित्यो । बाँकी एउटा स्वर्ण कर्णाली प्रदेशले जितेको छ । आज थाउलोको महिला चियन सू÷छियाङ सुमा एपिएफकी कविता थापा मगरले स्वर्ण जितिन् । सुदूरपश्चिम प्रदेशकी अलिसा खातीले रजत तथा आर्मी क्लबकी मुना शिरिष मगरले कास्य प्राप्त गरिन् । पुरुष ताव सू÷कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण, एपिएफका कुमार सिञ्जालीले रजत र प्रदेश ५ का राजीव तामाङले कास्य जिते । सान्सौँको महिला ५२ किलोमा आर्मीकी एलिना चौधरीले सुदूरपश्चिम प्रदेशकी गौरी घर्ती मगर, ५६ किलोमा पुलिस क्लबकी जुनी राईले एपिएफकी कमला बोहरा तथा ६० किलोमा आर्मीकी लुमन्ती श्रेष्ठले एपिएफकी निशा विकलाई पराजित गरी स्वर्ण पदक जितिन् । महिला ६५ किलोमा एपिएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्तालाई, ७० किलोमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दासलाई तथा ७५ किलोमा आर्मीकी शिलु डङ्गोलले गण्डकी प्रदेशकी अनिशा आले मगरलाई स्वर्ण जितिन् । सुटिङमा सुस्मिताको कीर्तिमान आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले आज राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनशिपमा बनाएको २३३ अङ्कलाई भङ्ग गर्दै २४० पूर्णाङ्कमा २३४ अङ्क बनाई कीर्तिमान बनाइन् । दुई सय २७ अङ्कका साथ आर्मीकी कल्पना परियारले रजत तथा २०३ अङ्कका साथ पुलिस क्लबकी अस्मिता राईले कास्य जितिन् । नेपालगञ्ज रङ्गशालास्थित सुटिङ रेञ्जमा भएको प्रतियोगिताअन्तर्गत सुटिङतर्फ पुरुष १० मिटर एयर राइफलमा प्रदेश ५ का अर्नव घिमिरेले कूल २४० अङ्कमा २१६ अङ्कसहित स्वर्ण, २१४ अङ्क जोडेका पुलिस क्लबका हरिबहादुर थापाले रजत तथा १९६ अङ्क जोडेका आर्मी क्लबका सुरेश चौधरीले कास्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *