आमूल परिवर्तनको नयाँ विचार बोकेका युवाहरूमा त्याग, तपस्या र बलिदान जरुरी हुन्छ
- आश्विन ३, २०८३
काठमाडाँै, १० वैशाख । आपसी खिचातानी, साङ्गठनिक अव्यवस्था र वैचारिक अस्पष्टताका कारण नेपाली काङ्ग्रेसले सदन र सडक दुवै ठाउँमा बलियो प्रमुख प्रतिपक्षको भूमिका खेल्न सकिरहेको छैन । २०४६ साल यता नेपाली काङ्ग्रेसले लामो समय सरकार चलायो । लामो समय सरकार चलाएर पनि देशको विकासमा नेकाले फड्को मार्न सकेन । बरु देशले आज भोगिरहेका धेरै समस्या र विकृतिको लागि नेका दोषी छ । नेकाको यस्तो दोषी छविका कारण पनि उसलाई यतिबेला प्रमुख प्रतिपक्ष दलको हैसियतमा सशक्त भूमिका खेल्न नैतिक बन्देज छन् ।
वर्षौँ सिंहदरबारभित्र समय बिताएको नेकाका नेता–कार्यकर्ताले सरकारबाहिर पनि राजनीति हुन्छ भन्ने कुरा लगभग भुलिसकेका थिए । लामो समयको सत्ता राजनीतिका कारण नेकाका अधिकांश नेता कार्यकर्तालाई सत्तासुखले जुम्सो र लोभीपापी बनाइसकेको छ । सत्ताभोगले उनीहरूमा शरीरमा बोसो र दिमागमा अल्छीपना बाक्लो गरी जमिसकेको छ । सिंहदरबारको दृष्टिबिन्दुमा राजनीति गर्ने प्रवृत्तिले अधिकांश कार्यकर्ता संसारमा आइरहेका परिवर्तन बेखबर रहे । सत्ताको छायामा रमाउने बानीले नेकासम्बद्ध कतिपय बुद्धिजीवीहरू बौद्धिक चिन्तनबाट च्युत बने । बौद्धिकताको धज्जी उडाउँदै उनीहरू नेताको ताबेदारी गर्नुमै आफ्नो भविष्य खोज्न थाले । फलतः नेकाभित्र बढ्दो विकृति सफा गर्नतिर लाग्ने बुद्धिजीवी कम हुँदै गए । नेताका आँगनमा चाकडी गर्ने लाममा ती पनि सामेल भए ।
चिन्तनको धारा जब सुस्त हुन्छ, राजनीतिमा व्यक्तिगत र गुटगत स्वार्थको भेल पस्ने गर्छ । नेकामा पनि चिन्तनको धारामा खडेरी प¥यो, पार्टी पैसाको खोलो बगाउनेको नियन्त्रणमा गयो ।
गत साल भएका तीन तहका निर्वाचनका नतिजा नेकाका नेता कार्यकर्ताको लागि अनपेक्षित थियो । जसरी पहिलो पटकको संविधानसभा निर्वाचनमा माओवादीले चुनावमा प्राप्त गरेको नतिजा एमाले र नेकाको लागि अनपेक्षित थियो । अनपेक्षित चुनावी नतिजापछि केही समय त काङ्ग्रेसले अलमलिएर नै बितायो । सरकारबाट कम्तीमा पाँच वर्ष बाहिर बस्नुपर्ने कल्पना मात्रले पनि नेकाका धेरै नेता कार्यकर्ता अत्तालिए । सरकारबाहिर बस्नुपर्दा नेकाले धेरै कुरामा कटौती गर्नुपर्ने बाध्यता भोगिरहेको छ । सरकारी सुविधा र पैसाबाटै कार्यकर्ता परिचालन गर्ने नेकाको लामो समयदेखिको अभ्यासलाई कम्तीमा पाँच वर्ष रोक्नुपर्ने अवस्थाले नेकाभित्र भूकम्प गएको हो । सिंहदरबार वरपरै काङ्ग्रेसको राजनीति गरिरहेका धेरै नेता कार्यकर्ता आ–आफ्नो व्यवस्थापनमा चिन्तित छन् ।
साङ्गठनिक अनुशासनहीनता र अराजकता नेकाको पुरानो रोग हो । नियमित महाधिवेशन नहुने, भ्रातृ सङ्गठनमा नेतृत्वको लागि छिनाझम्टी, लोकतन्त्रको नाममा साङ्गठनिक अराजकताले नेका चुनावमा भोगेको अनपेक्षित पराजयपश्चात् पनि जुमुर्राइहाल्ने अवस्था छैन । नेकाको नेता उत्पादन गर्ने भ्रातृ सङ्गठन कहलिएको नेविसङ्घको द्वन्द्वको दलदल नेकाको साङ्गठनिक अराजकताको उदाहरण हो । पार्टीभित्रको गुट–उपगुटबीचको सिद्धान्तहीन लडाइँले नेकालाई व्यवस्थित बनाउने केही नेताहरूको प्रयासले पनि सार्थकता पाउन सक्दैन । लोकतान्त्रिक पार्टीभित्र यस्तो हुनु स्वाभाविक हो भनी नेकाले आफूभित्र पालेको रोगका कारण परीक्षाको घडीमा ऊ सधैँ असफल हुँदै आएको छ । आज त्यसैको सिलसिला संसद् र सदनभित्रको प्रमुख प्रतिपक्षको भूमिका नेका कमजोर भएको छ । नेकपाको गणितीय रुपमा बलियो सरकारसँग लड्न नेकाका नेता र सांसदहरू नुर गिरेका मानिसजस्ता भएका छन् । सत्तापक्षको कुर्सीमा बस्न अभ्यस्त नेकाका सांसदहरू संसद्मा कुनै मुद्दामा विरोध गर्दा पनि भर्खरका कालीगढजस्ता देखिएका छन् । सरकारको नीतिविरुद्ध नाराबाजी गर्दा पनि हिजोको आफ्नो विगत सम्झेर लजाएका जस्ता देखिन्छन् ।
नेकाका सांसदहरूले सरकारको नीति र गतिविधिबारे बोल्दा ‘कम्युनिष्ट अधिनायकवादी’ को सूत्रबद्ध रटानमात्र दोहो¥याइरहेका हुन्छन् । हिजो नेकाका सरकारले गरेका केही उदाहरणसहित कसैले प्रतिकार गरे घामले गलाएको कर्कलोझैँ गल्ने गरेका छन् ।
नेकाका नेता डा.नारायण खड्का स्वयम् भन्छन्,“पार्टीमा एकता नहुँदा र विचारमा अनेकता हुँदा संसद्मा जतिसुकै प्रभावकारी भूमिका खेले पनि कमजोरी नै देखिँदोरहेछ ।” संसद्मा नेकाको भूमिका कमजोर भएको भन्ने आरोपको खण्डन गर्न ९ वैशाखको अन्नपूर्ण पोस्ट दैनिकमा लेखेको लेखमा खड्काले पनि नेकाको कमजोरीबारे नलेखी सुखै भएन ।
नेका संसद्भित्र प्रमुख प्रतिपक्ष खेमामा बसे पनि सत्ताभोगमा उसले भागवण्डा माग्न छोडेको छैन । नेका कतिबेला निकै जुझारुरूपमा प्रस्तुत हुनुको भित्री आन्तर्य भागशान्ति नमिल्दाको जलनमात्र हो । विश्वविद्यालय पदाधिकारी, न्यायाधीशलगायत सरकारी नियुक्तिमा आफ्नो हिस्सा खोसिएपछि सरकार ‘अधिनायकवादी’ भएको भन्दै कुर्लिन्छ । भागशान्ति मिल्दासम्म तंै चुप मै चुप बस्ने गरेको छ । त्यसकारण नेका राजनीतिकरूपमा प्रमुख प्रतिपक्ष भए पनि व्यवहारतः उसले सत्तासुख भोग गरिरहेकै छ । नेकाले प्रमुख प्रतिपक्षको रुपमा सत्ता सुखमा अझै ¥याल चुहाउनु अनैतिकता हो । जबसम्म सत्तासुखमा भागीदारी खोज्छ, नेकाले राजनीतिकरूपमा प्रमुख प्रतिपक्षको भूमिका खेल्न सधैं उसलाई नैतिक बाधा भइरहनेछ ।
संसद्भित्र नेकाको भूमिका शक्तिशाली बनाउने ध्येयले छाया सरकारको पनि अभ्यास गर्न खोज्यो । तर, छाया सरकारमा समेत आपसमा झगडा हुँदा त्यो प्रभावकारी हुनसकेको छैन । यधुवंशको अन्त्यको विनाश कुनै बाह्य आक्रमणबाट भएको थिएन । आपसी द्वन्द्वकै कारण यधुवंशको विनास भयो । श्रीकृष्ण विचारा दाजुभाइलाई मिलाउन नसकेरै मरे ।
ललिता निवासको जग्गा प्रकरण, एनसेल भ्रष्टाचार काण्ड, वाइडबडी विमान खरिद घोटाला, ३३ किलो सुन प्रकरणमा सरकारको असफलतालाई नेकाले क्यास गर्न सकेन । यस्ता विषयमा सरकारको विरोध गर्न नेकाले हच्किरह्यो । किन ? यसको जवाफ नेपाली काङ्ग्रेससँग छ । वास्तवमा ती सबै प्रकरणमा नेका स्वयम् पनि कुनै न कुनै रुपमा संलग्न भएकै कारण उसले त्यसको विरोधमा सङ्घर्ष गर्ने नैतिक साहस देखाउन सकेन ।
राजनीति सधैं एक गति र र दिशामा अघि बढ्ने गर्दैन । राजनीतिमा आरोहअवरोह स्वाभाविक हो । तर, समयले सबैलाई सधैँ पर्खिंदैन । नेकालाई समयले दिएको जिम्मेवारीलाई स्वार्थवस फेरि पनि पूरा गर्दैन भने कसैले नकुर्ने समयले नेकालाई पनि कुर्नेछैन ।
Leave a Reply