भर्खरै :

आजदेखि भूकम्प इन्जिनियरिङ र विपद्पछिको पुनःनिर्माणबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुर, ११ वैशाख । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिहीबारबाट तीनदिने भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बिहीबार बिहान ९ बजे कलेज प्राङ्गणमा सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।
सम्मेलनमा भूकम्प इन्जिनियरिङबारे स्वदेशी तथा विदेशी अध्येता र प्राज्ञहरूले ६२ भन्दा बढी कार्यपत्र प्रस्तुत हुने बुधबार आयोजक कलेजहरूले आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।
पत्रकार भेटघाटमा दिइएको जानकारीअनुसार सम्मेलनमा छिमेकी देशहरू – चीन र भारतलगायत जापान, बेलायत, दक्षिण कोरियाका १२ जना विषयविद्हरूले आ–आफ्ना अध्ययनका विषयमा प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा आर्किटेक्ट रजनी जोशीले ‘भक्तपुरको मूर्त र अमूर्त सम्पदाको पुनर्जीवन’ विषयमा, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका संरचनाविद् प्रा.डा. प्रेमनाथ मास्कले ‘भूकम्पपछिको पुनः निर्माणमा परम्परागत गारोवाला संरचना’ र पुल्चोक इन्जिनियरिङ कलेजका प्रा.डा. सुदर्शनराज तिवारीले ‘सहरी सम्पदा क्षेत्रको संरक्षणका चुनौती’ र जापानको टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रा.डा.सुसुमु कोनोले ‘आरसी भवनको लचिलोपना–जापानको प्रयास र सङ्घर्ष’ विषयमा प्रमुख व्याख्यान दिनुहुनेछ ।
कलेजकै आयोजनामा पहिलो सम्मेलन २०७३ सालको वैशाख १२ देखि १४ गतेसम्म भएको थियो । अघिल्लो सम्मेलनको तुलनामा यो वर्षको सम्मेलनमा अध्ययन निचोड प्रस्तुत गर्ने प्रस्तोतामध्ये दुवै आयोजक कलेजका प्राध्यापक, पूर्वविद्यार्थी र विद्यार्थी रहेको ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य तथा सम्मेलन स्टेरिङ समितिका संयोजक इ. सुजन माकले जानकारी दिनुभयो ।
“यो वर्ष आधाभन्दा बढी प्रस्तोता ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबाट हुनेछन् ।”, उहाँले भन्नुभयो ।
उहाँले अघिल्लो सम्मेलनको सफलतासँगै विभिन्न देशका विश्वविद्यालयसँग आयोजक कलेजहरूको शैक्षिक सम्बन्ध विस्तार भएको बताउनुभयो ।
“जापानको मिए विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीसँग मिलेर ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र विद्यार्थीले तीन वर्षको अनुसन्धान कार्यको समझदारी भएअनुसार भक्तपुरका प्रसिद्ध सम्पदा ङातापोल, पुजारीमठलगायतको विभिन्न सम्पदाको संरचनाको अध्ययन भइरहेको छ ।”, पत्रकार भेटघाटमा वितरीत वक्तव्यमा उल्लेख छ ।
प्राचार्य इ. माकले अन्तर्राष्ट्रिय सम्मेलन प्राज्ञिक कार्यक्रममात्र नभई यसबाट निकालिएका निचोड भूकम्पपछिको पुनःनिर्माणमा उपयोग गरिएको जानकारी दिनुभयो । “अघिल्लो सम्मेलनबाट निकालिएका निचोड पुस्तकाकारमा प्रकाशित गरी हामीले विभिन्न सम्बद्ध निकाय र अध्येताहरूसम्म पु¥याएका छौं । यसले भूकम्पपछिको पुनःनिर्माणमा सम्मेलनले योगदान गरेको हाम्रो विश्वास छ ।”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *