भर्खरै :

मैले पाएँ

श्यामकृष्ण खुलीमुली
बल्ल पाएँ ।
के ?
अहिले नभनूँ होला । फेरि थाहा पायो भने हङ्गामा मच्चिन्छ । पाइसकेको चीज पनि खोस्न के बेर ?
केही समय त हो नि । हो म धैर्य गर्छु । त्यसपछि देखा जाला । म पनि के कम छु र ? आखिर हार्ने केही होइन जिते संसारै आफ्नो ।
हुन त म उतै बस्न सक्थेँ । उतै दुःख सुख गर्नसक्थेँ । आखिर जता बसे नि एक छाक खानको लागि दिनभर पसिना बगाउनैपथ्र्यो, एक आङ ढाक्नको लागि पाखुरी बजाउनै पथ्र्यो ।
मेरो देश । मेरो मातृभूमि । मेरो भारत महान् । हो, मलाई मेरो जन्मभूमि प्यारो लाग्थ्यो । तर के गर्नु ? त्यसले मेरो छाक टार्न सकेन । आखिर बाँच्नै प¥यो, कमाउनै प¥यो । देश त थियो नि तर पेट रित्तै । त्यसैले म भौँतारिएँ, यताउति काम खोज्न थालेँ ।
म गरिब । न हातमा कुनै सीप छ न कुनै शैक्षिक प्रमाणपत्र । कुनै व्यापार गरुँ भने लगानी छैन । जागिर खाउँ भने पढाइ छैन राजनीति गरुँ भने कसले पत्याउने ? भोकको आगोलाई शान्त बनाउन मैले धेरै कोशिश गरेँ, भोकको क्षेत्रफल साँघुरो पार्न धेरै घोटँे । तर हात लाग्यो शून्य ।
हुन त मर्नै परेपछि खुट्टा तन्काएर मर्नु भन्थ्यो । हो, मेरो देशले मलाई पाल्न सकेन, काम दिन सकेन । त्यसैले म विदेशिन बाध्य भएँ । म कामको खोजीमा यो सानो छिमेकी मुलुकमा छिरेँ ।
मैले त सोचेको थिएँ । यति जाबो सानो मुलुकमा झन् के काम पाइन्छ र ? तर उल्टो भयो । यहाँ त जति पनि काम पाइने रहेछ । यहाँ त म जस्ता हजारौँ, लाखौँ स्वदेशी मित्र छन् । आफ्नै दाजुभाइ छन् ।
यहाँका युवाहरू सबै हामीजस्तै लाहुर पसेका छन् । सानातिना काम गर्ने कोही छैनन् । कामलाई हेला गर्नेहरू नभए त हाम्रो पेट पनि भरिन्न नि । सडक चोकमा तरकारी, चटपट, फलफूल बेच्नेदेखि लिएर पुराना शिशि, कागज, फोहोर उठाउने, गाउँसहर डुलेर कपडा, झुम्का बेच्नेदेखि लिएर झ्यालढोका हाल्ने, कपाल काट्नेदेखि लिएर लुगा सिउने, मिठाइ बेच्नेदेखि सुन बेच्नेसम्म सबैमा हाम्रै बाहुल्यता छ । कामसँग केको लाज ? जे गरे नि हुन्छ । सानोतिनो भनेर हुन्छ ? यस्तै सानोतिनो कामले हाम्रो पेट भरिराखेकै छ ।
अहिले आएर मलाई यो देश सा¥है राम्रो लाग्न थालेको छ । हामी सर्वसाधारण जनता आफ्नो देशबाट काम खोज्न यहाँ आउँछाँै तर यहाँका देश चलाउनेहरू भने हाम्रा नेताहरूसँग देश कसरी चलाउने भनेर ट्युसन पढ्न आउँछन् । क्या अचम्मलाग्दो छ भने ।
नपत्याएको !
कुनै नेतालाई एक सर्को खोकीमात्र लागे पनि मेरै देशमा नजँचाइ हुन्न । मेरो देशका तल्लो तहका कोही आए पनि यहाँका उपल्लो तहका ठूलठूला मन्त्री, प्रधानमन्त्री पछि लागेर हैरान गर्छन् । हाम्रो सल्लाहविना यहाँका पटुर पपेटहरू झिँगा पनि मार्न सक्दैनन् ।
म त असाध्यै खुसी छु । यो त नामले मात्रै छुट्टै देश रहेछ, आखिर हाम्रै छत्रछायाँमा छ । गरुडको अगाडि सर्पझैँ । सीमा मिचे पनि चुप, बाँध बाँधे नि चुप, असमान सन्धि गरे नि चुप, गिटी बालुवा ओसारे पनि चुप, बुद्ध र सगरमाथा चोरे पनि चुप । जे गरे नि हुने ।
एउटा कुरा भनूँ !
हुन त लागेको कुरा भनिहाल्नुपर्छ रे के ?
हो अब त मलाई यो देश आफ्नै लागिसकेको छ ।
म यहाँ मेरै छरछिमेक, मेरै साथीहरू, मेरै देशवासीमात्र देख्छु ।
अझै खुसुक्क भनूँ !
हिजोसम्म मसँगै तरकारी बेच्न हिँड्ने साथीहरू आज त यो देशका नेता, मन्त्री हुने क्रममा छन् । (त्यो कुरा पनि कसैलाई नभन्नु है, तपाईँलाई मात्र खुसुक्क भनेको हुँ नि ।)
पहिला पहिला तरकारी बेच्न जाँदा मस्र्या, भैया भन्नेहरू अब बिस्तारै अल्पमतमा पर्न थालेका छन् । अब त हामीले तरकारी नबेचे उनीहरूले के खान्छन् ? हामीले ‘तुच्छ’ काम नगरे उनीहरू कसरी बाँच्छन् ?
धेरै भो, यहाँ आएर काम गरेको । अब त म यही मरुँजस्तो लाग्छ । मेरो परिवार यतै छ । म उनीहरूको जीवन पनि सुरक्षित गर्न चाहन्छु ताकि उनीहरूले भविष्यमा मैलेजस्तै दुःख झेल्न नपरोस् । यो देशको सगरमाथा मेरै सगरमाथा हो, बुद्ध मेरै देशमा जन्मेका हुन् । मानौँ यो त मेरो आफ्नै देशको एउटा प्रदेश हो, सारा हिमालय एउटै हो । तर औपचारिक रुपमा त्यो हुन बाँकी नै छ । मलाई विश्वास छ, विस्तारै त्यो सपना पनि पूरा हुनेछ ।
यहाँका जनताले जति नै दागा धरुन्, जति नै विरोध गरुन् । आखिर देश चलाउनेहरू सब हाम्रै जुठोपुरो खान्छन् । कतिसम्म भने दुई चार हजार तलब र भत्ता, एउटा छात्रवृत्ति कोटा, एउटा एम्बुलेन्स सहयोग पाउँदा पनि उनीहरू आफ्नै आमालाई बेच्न तयार हुन्छन् । आफैलाई बन्धकमा राख्न तयार हुन्छन् । यस्ता कपुत, कुलद्रोही नेता त मैले कहिले देखेको थिएन, उनीहरूबीच नै कसले बढी हाम्रो सेवा गर्नसक्छ, को बढी बफादार छन् भनेर तँछाडमछाड गर्छन् । अनि एकले अर्कोले एजेन्ट भनेर गाली टोपल्छन् । गाली शिरोमणीहरू !
अब धेरै छैन । आखिर सिक्किम गाभिएकै हो । कसैले केही लछारपाटो लाउन सकेन । महेन्द्र चौधरीले फिजी हाँकेकै हो । अब यति जाबो सानो (मेरो देशको प्रान्तभन्दा नि सानो) देशलाई हाक्नलाई केको गा¥हो ?
देश भनेको भूगोलमात्र पनि हैन । आखिर जनमत पनि हो । हाम्रो योजना पनि अचम्मकै छ । ठूला नेताहरू माथिबाटै लुट्न खोज्छन् भने हामी स–साना अर्थात् सर्वसाधारण भने तलबाटै लुट्दै छौँ । बुझ्नुभएन मेरो कुरा !
पख्नुस् म बुझाउँदै छु ।
म यहाँ आएको दश वर्ष भयो । तर अब म भूमि छाडेर जान चाहन्न । मैले यहाँको माटो चिनिसकेको छु, मान्छे बुझिसकेको छु । म नभए पनि मेरा सन्तानले राम्रो गरोस् भन्ने चाहन्छु म । त्यसैले मैले आफूले पाएको कुरा खुसुक्क भनेको हुँ । यो कुरा अरुलाई नभन्नु है । किनकि अझै अलिकति अनुकूल समय बनिसकेको छैन ।
मैले आफ्ना कुरा राखिसकँे । अब के पाएँ भनेर त भन्नै बाँकी छ है । अब त्यो पनि खुलासा गर्छु । वास्तवमा मैले पाएँ । हो, मैले नेपालको नागरिकता पाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *