भर्खरै :

पूर्वाधार र तयारी विना सेमेस्टर प्रणाली लागु गरिएकोमा नेक्राविसंघद्धारा त्रिविको ध्यानाकर्षण

काठमाण्डौ, ७ चैत्र । विना पूर्वाधार र तयारीविना नै त्रिविले उपत्यकाका सम्पूर्ण आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा सेमेष्टर प्रणाली अन्तर्गत स्नात्तकोत्तर तहमा भर्ना लिन प्रक्रिया थालेको प्रति नेपाल क्रान्तिकारी विद्यार्थी संघले सोमबार त्रिवि उपकुलपतिसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
२०७० सालमा भौतिक पूर्वाधारको विकास, शैक्षिक गुणस्तर, पाठ्यक्रममा सुधार, नियमित शैक्षिक कार्यतालिका कार्यान्वयन गर्ने आश्वासनमा त्रिविले केन्द्रीय क्याम्पस किर्तिपुरलगायत अन्य केही क्याम्पसमा निश्चित विषयमा सेमेस्टर प्रणाली लागु गरेको थियो । तर वर्षौं वितिसक्दा पनि त्रिविले आफ्नो प्रतिबद्धता पूरा नगरेको र विना पूर्वाधार, विना तयारी उपत्यकाका अन्य क्याम्पसमा पनि सेमेस्टर प्रणाली लागु गर्ने त्रिविको निर्णयप्रति संघले असन्तुष्टि पोखेको थियो ।
‘नेक्राविसंघ सेमेस्टर प्रणालीको विरोधमा छैन । तर विगतको गम्भीर समीक्षा नै नगरीकन तयारी नै नगरीकन उपत्यकाका क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागु गर्न खोज्नु न्यून आर्थिक अवस्थाका हजारौं विद्यार्थीहरुलाई विश्वविद्यालय शिक्षाबाट बञ्चित गर्ने षड्यन्त्र हो । त्रिविले सेमेस्टर प्रणालीको नाममा कोटा लागु गरेर, शिक्षण शुल्क वृद्धि गरेर विद्यार्थीहरुलाई उच्च शिक्षाबाट बञ्चित गर्ने प्रयास गरेको छ ।’ – संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले भन्नुभयो । संघकोतर्फबाट त्रिवि उपकुलपति तीर्थ खनियाँलाई ज्ञापन पत्र बुझाउनुहुँदै उहाँले व्यापक छलफल र बहसपछि मात्र सेमेस्टर प्रणाली लागु गर्ने नगर्ने निचोडमा पुग्न त्रिविको ध्यानाकर्षण गर्नुभयो ।
त्रिविका उपकुलपति तीर्थ खनियाँले त्रिविको कुल बजेटमध्ये ४० प्रतिशत मात्र सरकारले बेहोर्ने भएको हुँदा विश्वविद्यालय अवस्था माथि उठ्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय सचिव नरेश खत्रीलगायतका अन्य विद्यार्थीहरुले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *