भर्खरै :

नेपालको कम्युनिष्ट आन्दोलनमा अवसरवादको प्रश्न–३

– नारायणमान बिजुक्छें (रोहित)
संशोधनवादका दुई तत्व
क्रान्तिको दुइटा आधार हुन्छ । माओ त्सेतुङले भन्नुभएजस्तै–फुलबाट चल्ला काढ्नको निम्ति दुई तत्वको आवश्यकता हुन्छ– एउटा, फुलभित्र बीऊ र दोस्रो अनुकूल परिस्थिति । चल्ला काढ्नको निम्ति फुलमा बीऊ हुनुपर्छ र त्यस्तै २१ दिनसम्म आवश्यक तापमान पनि । नेपाल कम्युनिष्ट आन्दोलनको भित्री तत्व नेपालीहरू हुन् । हामीहरू क्रान्ति गर्न चाहँदैनाँै भने अन्तर्राष्ट्रियअनुकूल परिस्थिति भएर पनि हामी क्रान्ति गर्नसक्दैनौँ । फुलमा बीऊ छैन भने २१ दिन त के ५० दिनले पनि चल्ला निस्कँदैन । त्यसरी नै यदि हामीमा क्रान्तिकारी चरित्र छैन, क्रान्ति गर्न चाहँदैनौँ भने, अन्तर्राष्ट्रिय परिस्थिति भए पनि क्रान्ति हुँदैन । अन्तर्राष्ट्रिय परिस्थिति छैन तर बीउ छ भने समय चाहिँ लाग्छ, त्यो परिस्थितिलाई पर्खनुपर्ने हुन्छ, क्रान्ति हुन्छ । त्यसकारण लेनिनले भन्नुभएको थियो–देशको मात्र परिस्थिति तयार हुँदैमा अन्तर्राष्ट्रिय परिस्थिति तयार छैन भने क्रान्ति हुँदैन । त्यसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति खास गरेर छिमेकी देशहरूको अनुकूल परिस्थितिले क्रान्तिलाई सहयोग पु¥याउँछ भन्नुको अर्थ त्यही हो ।
नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा संशोधनवादको भित्री कारण सामन्ती र पुँजीवादी तत्व हुन् भने बाहिरी तत्व संसदबाटै सत्तामा पुग्ने सम्भावना हो ।
सोभियत सङ्घ र पूर्वी युरोपमा पुँजीवादको पुनःस्थापनापछि पाकिस्तानको कम्युनिष्ट पार्टीको बहुमतले कम्युनिष्ट पार्टीलाई बिसर्जन ग¥यो । रुसको समर्थनले कम्युनिष्ट पार्टी रह्यो, रुसमा समाजवादको पतनपछि पाकिस्तानको कम्युनिष्ट पार्टी समाप्त भयो । त्यहाँ पनि नयाँ क्रान्तिहरू उठ्दै छन् । हाम्रा कम्युनिष्ट पार्टीहरू त्यसो हुनुभएन, नेपालको कम्युनिष्ट आन्दोलन त्यस्तो हुनुभएन भन्ने मात्र मेरो आग्रह हो । जहिलेसम्म हामीले जनताको बीचमा समाजवाद नआएसम्म काम गरी खाने वर्गको मलाइ कहिल्यै हुँदैन भनी प्रचार कार्य गदैनौँ, समाजवाद भनेको तल्ल वर्गको शासन सत्ता हो भनेर कामदार जनतासम्म पु¥याउन सक्दैनौँ, तहिलेसम्म जनताले त्यसलाई आत्मसात गर्नेछैन र त्यसो नगरेसम्म त्यो एक शक्तिको रूपमा विकास हुन्न । साँचो अर्थमा हामीले समाजवादबारे तल्लो वर्गसम्म पु¥याउन बाँकी नै छ ।
हातले टेकेर हिँड्ने नयाँ प्रयोग
अब केही साथीहरूको नयाँ प्रयोग, विशिष्ट परिस्थितिबारे कुरा गरौँ । मलाई लाग्छ, खुट्टाले हिँड्नुपर्ने ठाउँमा हातले टेकेर हिँड्नुलाई नयाँ प्रयोग भनिँदैन । स्वस्थ मान्छेले त्यो काम गर्दैन । विशिष्ट परिस्थितिको कुरा गर्ने हो भने संसारमा कुनै पनि देशको परिस्थिति जस्ताको तस्तै कुनै पनि देशसँग मिल्दैन । मुख्य–मुख्य कुरो मिल्छ कि मिल्दैन भन्ने कुरा महत्वपूर्ण छ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराका नीतिहरू तयारी मालसामान या तयारी पोशाक होइन, जसलाई पनि ठिक्क भएको होस् । नेपालीहरूको जीउको आफ्नो आकार छ, रुसीहरूको आफ्नै, चिनियाँहरूको र जापानीहरूको आ–आफ्नै होला । रूप रङ्गा पनि फरक छ । तर, विशिष्ट परिस्थिति भनेर मुख्य मुख्य कुरालाई लुकाउन भने सकिन्न ।
हिजो पनि बहुदलीय जनवादबारे प्रश्न उठ्यो । एमालेका एकजना साथीले एक चिनियाँ कम्युनिष्ट मित्रलाई भने–तपाईंहरूको देशमा बहुदल छ हगि ? चिनियाँ मित्रले ठाडै उत्तर दिए –होइन चीनमा जुन आठ वटा राजनीतिक पार्टीहरू छन्, तिनीहरू जापानसँग लडार्इँको बेला हामीलाई सहयोग गरेको हुनाले ती पार्टीहरू सहयोगी पार्टीका रूपमा छन्, विरोधी पार्टीको रूपमा होइन । संसदीय व्यवस्थामा विरोधी पार्टीहरूले सत्तासीन पार्टीलाई जालझेल गरेर पनि उल्टाएर आफू सत्तामा जानु विरोधी पार्टीको धर्म र अधिकारको कुरा हुन्छ । तर, चीनमा त्यस्तो होइन बरु सहयोगी पार्टीका रूपमा छन् ।
साथसाथै जनवाद भनेपछि चीनको जस्तो हो, प्रजातन्त्र भनेपछि अर्कै हो भन्ने एउटा भ्रम कार्यकर्ताहरूमा फैलाइएको छ । सायद हाम्रो सांस्कृतिक स्तरको कमीबाट कुनै पार्टीले फाइदा उठाएको होला । मैले बुझेसम्म जनवाद भन्नु, प्रजातन्त्र भन्नु, जनतन्त्र भन्नु, लोकतन्त्र भन्नु एउटै हो, त्यसको अङ्ग्रेजी शब्द डेमोक्रेसी नै हो । साधारणरूपमा डेमोक्रेसीभन्दा बुर्जुवा डेमोक्रेसी नै हो । हाम्रो जनवाद भनेको नयाँ प्रजातन्त्र र तिनीहरूका प्रजातन्त्र पुँजीवादी हो भन्ने खालका भ्रम जनतालाई दिने काम भएको छ, त्यो गलत हो । त्यो पाखण्ड हो । जनवादको अर्थ नयाँ जनवाद होइन, जनवादको अर्थ प्रजातन्त्र हो, डेमोक्रेसी हो, सरल भाषामा पुँजीवादी प्रजातन्त्र ‘बुर्जुवा डेमोक्रेसी’ नै हो ।
गोटी चालको सरकार
घटनाहरू नीतिसँग सम्बन्धित हुन्छन् । अचानक घट्ने घटना या एक्सिडेन्ट र कामबाट आउने परिणाम वा घटनामा फरक छ । मोटरको दुर्घटना र हामीले काम गर्दाको घटना फरक छ । हामीले त नियोजितरूपले काम गरेका हुन्छौँ । त्यसलाई साधारण घटना भन्न मिल्दैन, बरु त्यो क्रिया हो । पार्टीको गतिविधिहरू उसको नीतिअनुसार हुन्छ । त्यसकारण मैले पार्टीको गतिविधिका घटनाक्रमबाट त्यस पार्टीको नीतिलाई निर्णय (निर्धारण) गर्न खोजेको हुँ । कपर्निकसको बेलामा स्पुतनिक वा भू–उपग्रह केही पनि थिएन । उसले हिसाब र तर्कको आधारमा पृथ्वी गोल छ भन्ने पत्ता लगाए । त्यसलाई ग्यालिलियो र ब्रुनो जिओेर्डानोले सावित गरे । अहिले त झन् प्रस्ट भइसकेको छ । त्यसकारण एमालेको तमाम गतिविधि र कार्यकलापको आधारमा एमाले एउटा पुँजीवादी पार्टी हो भन्ने कुरालाई सावित गर्न खोजेको मात्र हुँ र सावित भएको छ भन्ने म दावा गर्छु । उदाहरणको रूपमा ९ महिना भए पनि कम्युनिष्ट पार्टी शासनमा गएको भए उसले पुँजीवादी प्रजातन्त्रको निम्ति होइन, जनताको प्रजातन्त्रको निम्ति काम गर्दथ्यो जसलाई उसले खेल्दा भन्ने गर्छ– ज्यान गए पनि घोडा खान दिन्न, किन ? घोडा खाएपछि माथ गर्न नसक्ने हुन्छ । सरकारमा गएपछि त्यो कम्युनिष्ट पार्टीले आफ्नो कार्यक्रम अनुसार काम गर्नसक्दैन, यसकारण त्यसलाई मन्त्रिमण्डलमा फसाउनुपर्छ भन्ने पुँजीवादी पार्टीहरूको मनसाय हुन्छ । दासढुङ्गाा, टनकपुर, मल्लिक आयोग आदिबारे एमाले असफल हुन्थ्यो । त्यसकारण मैले भनेको थिएँ, मेरो कार्यपत्रमा पनि छ–त्यो के हो भने, एमालेको ९ महिनाको सरकार, नेपाली काङ्ग्रेस र राप्रपाको गोटीचालमा फसेको सरकार हो ।
दोस्रो विश्वयुद्धताका चर्चिलको शासनमा पुँजीवाद चल्नै नसक्ने स्थितिमा पुगिसकेको बेला बेलायतको मजदुर पार्टीलाई पनि सरकारमा सामेल ग¥यो । आम चुनावबाट मजदुर पार्टी सरकारमा आएपछि पुँजीपति वर्गलाई फाइदा हुने सबै कामहरू तिनीहरूबाट गराइयो । पछि त्यो बेलायती मजदुर पार्टी विस्तार विस्तारै, एक एक पाइला गरेर पुँजीवादी पार्टीमा पतन भयो । मैले नेपालमा त्यही सन्दर्भ जोड्न खोजेको हुँ । समयमा नै सचेत भयो भने जोगिन्छ हैन भने पतनको बाटोबाहेक अरु छैन । सिद्धान्ततमा एकचोटि चिप्लेपछि हिमालमा चिप्लेटी खेलेजस्तै हो, बीचमा रोकिने छैन, त्यो तलैसम्म झर्छ ।
राजनैतिक शिष्टाचार
सामाजिक जीवनमा पनि एउटा शिष्टता र आचार भन्ने हुन्छ । छिमेकीहरू आपसमा मिलेर बसेका हुन्छन् । एउटा घरको कुखुरा वा सामान अरुको घरमा पुग्दा तपाईंको कुखुरा म कहाँ आएको छ, तपाईंको सामान मेरो घरमा परेको छ भनी फिर्ता दिने गर्छन् । दोस्रो कुरा राजनीतिमा मित्र शक्ति भन्ने हुन्छ । मित्र शक्ति घोषणा नगरेसम्म जे गरे पनि हुनेछ मित्र शक्ति घोषणा गरेपछि मित्रको विरोधमा एक पक्षले अर्को पक्षलाई अहित हुने काम गर्नुहुन्न र कसैबाट मित्रलाई अहित हुने थाहा भयो भने एक मित्रले अर्को मित्रलाई सूचना दिनु कर्तव्य हुन्छ ।
दोस्रो विश्वयुद्धको बेलामा हिन्दुस्तानका क्रान्तिकारीहरूले रुसमा गएर बेलायतको विरोधमा सशस्त्र सङ्घर्ष गर्न खोज्दा रुसीहरूले त्यसो गर्न दिएनन् । किनभने त्यसबेला बेलायत, संरा अमेरिका र सोभियत सङ्घको मित्र शक्तिको बीचमा एउटा सम्झौता थियो । राजनीतिमा यस्तो प्रकारको आचारसंहिता हुन्छ, शिष्टता हुन्छ, शिष्टाचार हुन्छ । एमालेलाई मित्र शक्तिको रुपमा, तुलनात्मकरुपले प्रगतिशील भनेर हामीले भनेका थियौँ । एमालेको कर्तव्य थियो हाम्रो पार्टीमा त्यस्तो घात हुने स्थिति देखेपछि हाम्रो पार्टीलाई सूचना गर्नुपथ्र्यो, त्यो मित्रको काम हो । शत्रु भएको भए त्यसलाई कसरी खसाल्ने, कसरी जित्ने भन्ने कुरा हुन्थ्यो जुन स्वाभाविक हो । अहिले हामीले घोषणा ग¥यौँ अब एमाले भनेको नेपाली काङ्ग्रेस र राप्रपाजस्तै एक पुँजीवादी पार्टी हो । अहिले एमालेलाई कसैले घात गर्छ र गर्न खोज्छ भने उसलाई जोगाउनु वा सूचना दिनु अब हाम्रो कर्तव्यभित्र पर्दैन । त्यसकारण पहिले हामीले एमालेप्रतिको दृष्टिकोणबारे घोषणा ग¥यौँ ।
माओ त्सेतुङ विचारधाराको अर्थ किसान क्रान्ति, सामन्तवाद र साम्राज्यवादको विरोध वा लडाइँ, गाउँबाट शहरको घेरा, संयुक्त सरकार, लाल इलाका, जनवादी क्रान्ति, चीनमा समाजवादको निर्माण आदि हुन् । सारमा यो माक्र्सवाद–लेनिनवादलाई चीनको भूमिमा लागू गर्दाको अध्यक्ष माओ र चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव हो ।
नेमकिपा कोरियाली मजदुर पार्टीको जुच्छे विचार, क्युवाको क्रान्ति, भियतनाम र चीनको क्रान्तिबाट पनि शिक्षा लिन्छ र किम इल सङ, क्याष्ट्रोजस्तै संसारका सबै साम्राज्यवादविरोधी पुराना र नयाँ क्रान्तिकारीहरूलाई आदर गर्छ ।
हामी जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिकताविरोधी छौँ, हामी सबै जाति, क्षेत्र र सम्प्रदायमा भएको शोषण र शोषक वर्गको विरोधी छौँ ।
कुनै पार्टी वा देश बलियो हुँदैमा न्यायी र राम्रो हुन्छ भन्ने होइन । साम्राज्यवाद र साम्राज्यवादी पार्टीहरू बलिया थिए । पञ्चायत र नेपाली काङ्ग्रेस पनि तुलनात्मकरुपले बलिया थिए, राम्रो पक्षलाई खसाल्न बाहिरी वा विपक्षी तत्वको पनि हात हुन्छ । जनतामा बुद्धधर्मको प्रभावलाई समाप्त पार्न राजा–महाराजाहरूले नक्कली भिक्षुहरू प्रयोग गरेका थिए र ग्राम्सन्सको नियमअनुसार खोटो सिक्काले राम्रो सिक्कालाई बजारबाट विस्थापित गर्छ ।
वामपन्थी अवसरवाद प्रगतिशील भावनाले प्रेरित हुन्छ, परिणाम मात्र खराब हुन्छ, दक्षिणपन्थी अवसरवादले पुँजीवादी दृष्टिकोणलाई सहयोग पु¥याउँदछ र प्रतिक्रियावादले समाजलाई पछाडि धकेल्न खोज्छ ।
मानिसलाई रोग लागेजस्तै पार्टी र कार्यकर्ताहरू पनि गलत विचारका शिकार हुन्छन् । नेपाल क्रान्तिकारी युवा सङ्घले जुवातास, मादक पदार्थ र फागुमा महिलाहरूलाई गर्ने अभद्र व्यवहारको विरोधमा प्रदर्शन र सभाहरू गरेको छ ।
जार सरकार ढलिसकेको र करेन्स्कीको पुँजीवादी सरकारले जग हाल्न नपाएको अवस्था फेब्रुअरी क्रान्ति हो । त्यस सरकारमा मेन्शेभिकहरूले भाग लिए, बोल्शेभिकहरू नोभेम्बर क्रान्तिको तयारीमा लागे । राष्ट्रियसभाको निर्वाचनमा हामीले आफ्नै उम्मेदवारलाई एक नम्बर दियौँ, खाली गरेनौँ ।
फोहोर राजनीतिविरुद्ध आक्रोश
आफ्नो विश्वास र सिद्धान्तअनुसार मानिसहरू मन लागेको पार्टीमा लाग्नसक्छन् तर निर्वाचनमा एउटा पार्टीको घोषणापत्र र चिह्न लिएर जनताको मतले सांसद भएको व्यक्ति संसदमा राजीनामा गरेरमात्रै अरु पार्टीमा जानसक्छन्, नत्र त्यसले जनता, मतदाता र पार्टीलाई विश्वासघात गरेको हुन्छ । त्यसले नेपालको राजनीतिमा दलबदल, आयाराम–गयाराम र पद एवम् पैसामा सांसदहरू किनबेच हुने फोहर राजनीतिले प्रश्रय पाउनेछ । माओ त्सेतुङ विचारधारा मान्ने हरेक क्रान्तिकारीले विश्वासघात, गद्दारी र गल्ती कामको विरोधमा, उदारतावाद र आत्मसमपर्णवादको विरोधमा रिस र आक्रोश व्यक्त गर्छ, यो स्वाभाविक कुरा हो, पार्टीहरूमा सिद्धान्त र अनुशासन खुकुलो भए क्रान्तिकारी कार्यमा बाधा पुग्छ ।
स्रोत ः समाजवाद र सान्दर्भिक विषयवस्तु
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *