भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने
- आश्विन १, २०८३
भक्तपुर, ३ असोज । भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले ताइची खेल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको प्रशिक्षणको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरका विभिन्न वडामा क्रमशः ताइची प्रशिक्षण विस्तार गर्दै लैजाने बताउनुभयो ।
उहाँले प्रभावकारी प्रशिक्षणका लागि दक्ष प्रशिक्षक आवश्यक हुने भएकोले प्रशिक्षक उत्पादनमा समेत नगरपालिकाले ध्यान दिएको जानकारी दिनुभयो ।
“प्रशिक्षक राम्रो भए खेलको प्रभावकारिता पनि राम्रो हुन्छ । आफू प्रशिक्षक बन्ने हिसाबले पनि सिक्नुपर्छ,” उहाँले भन्नुभयो ।
नगरवासीको स्वास्थ्य राम्रो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले नियमित व्यायामसँगै खानपानमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुरका परम्परागत नाच तथा सांस्कृतिक गतिविधिहरू पनि व्यायामसँग सम्बन्धित रहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले व्यायाम गर्न सहज हुने पोसाक लगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ताइची प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले ४५ दिने प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । ताइची अभ्यासले शरीरका भित्री अङ्गहरूलाई बलियो बनाउन सहयोग गर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, विद्यार्थी निकेतनका प्रधानाध्यापक एन.बी. खाताखोले ताइची प्रशिक्षणका लागि विद्यालयको स्थान उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।
ताइची प्रशिक्षक रूपेश जकिबञ्जारले ताइची उसु खेलसँग सम्बन्धित रहेको बताउँदै यो खेल युवा तथा ज्येष्ठ नागरिक दुवैका लागि उपयुक्त रहेको उल्लेख गर्नुभयो । नियमित व्यायामसँगै खानपानमा पनि ध्यान दिन सके स्वास्थ्यमा धेरै फाइदा पुग्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले ताइची उसु खेलकै एक पद्धति रहेको बताउनुभयो । हाल प्रशिक्षार्थीहरूलाई छिकोङसम्बन्धी अभ्यास सिकाइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यको दृष्टिले ताइची निकै उपयोगी रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू सुनिता अवाल र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो ।
Leave a Reply