भर्खरै :

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

– हिक्मतबहादुर नेपाली
दुल्लु, १६ वैशाख । सामान्यतया चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर, यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाति राउटे खोला बढ्ने डरले अलि पर सरेका छन् ।
सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोलाबीचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थाल्नुभयो ।
बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न सङ्कटको पीडा त्यतिकै छ, सरकारले दिने महिनाको २ हजार रुपैयाँले महिनाभरि प्राण धान्न मुस्किल हुन्छ । उहाँले भन्नुभयो, “सरकार हामीलाई पाल र खाद्यान्न देऊ ।”
“बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ”, उहाँले भन्नुभयो । मुखिया शाहीले प्रतिनिधिसभा सदस्य डा. सङ्ग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गर्नुभयो ।
काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनिधिसभा सदस्य डा. सङ्ग्रौलाले भन्नुभयो, “मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुनर्जागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुङ्गे युगमा छन् ।”
लोपोन्मुख जातिको रूपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले उनीहरूलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
“नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद डा. सङ्ग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस कदम चाल्न सरकारलाई आग्र्रह गर्नुभयो ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेरमात्र नहुने बताउँदै डा. सङ्ग्रौलाले उनीहरूलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्छ भन्नुभयो । राउटे समुदायमा सामाजिक घुलमिलनको अभियान चलाउनुपर्नेमा जोड दिदैं उहाँले यस समुदायका कला संस्कृतिलाई बचाइराख्नुपर्ने बताउनुभयो ।
राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा १ सय ४६ जनाको सङ्ख्यामा रहेको राउटेले यसअघि जङ्गलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जङ्गली जनावर नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *