भर्खरै :

१३० आँै अन्तर्राष्ट्रिय श्रमिक दिवस गणतन्त्रका शासकमा राजश्री छाँटकाँट

भक्तपुर, १८ वैशाख । संसारका विभिन्न मुलुकमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो ।
यसैबीच नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिले बुधबार श्रमिक दिवसको अवसरमा भक्तपुरमा ¥याली तथा जनसभाको आयोजना ग¥यो । ज्याला बढाउने, कामको समय घटाउने र कार्य अवस्था सुधार्नेजस्ता माग राखी शिकागो सहरमा भएको मजदुरहरूको आन्दोलन सफल भएको स्मरणमा दत्तात्रयमा आयोजित मजदुरहरूको जनसभामा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले कामदार वर्गको हितमा काम गर्नु नै कम्युनिष्टको जिम्मेवारी हो भन्नुभयो ।
सामन्तवादी र पुँजीवादी व्यवस्था अन्त्य गर्न बलपूर्वक सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले कम्युनिष्टहरूले पुँजीवादी स्वामित्व उन्मूलन गरेर जनताको स्वामित्व कायम गर्छ भन्नुभयो ।
कम्युनिष्टको नाउँमा पुँजीवादी सरकारमा गएर राज्यकोषमा लुटपाट गर्ने दोषीहरूमाथि कारबाही गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचारको कारण सरकारी संस्थानहरू घाटामा गएको हो भन्नुभयो ।
“सरकारी संस्थान तथा उद्योगहरू घाटाको नाउँमा सरकारले कौडीको मूल्यमा बिक्री गरेर निजीकरण गर्नु जनविरोधी कदम हो, निजीकरण गरिएका संस्थानहरू फेरि सार्वजनिकीकरण गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
सरकारी संस्थान डुबाएर देशको राजस्वमा रजाइँ गर्ने भ्रष्ट कर्मचारीहरूकै कारण देशमा रोजगारीको समस्या बढेर, युवाहरू विदेश पलायन भई दासजस्तै बनिरहेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “बालुवाटार र सिंहदरबार ठगहरूको घेरामा छन्, देशमा संस्थागत भ्रष्टाचार भइरहेको छ, सार्वजनिक जग्गा लुट्दै भ्रष्टाचार गर्नेमा सरकारको संलग्नता छ ।”
गणतन्त्र स्थापना भइसकेपछि पनि राजश्रीको छाँटकाँट देखिरहेको उल्लेख गर्दै उहाँले वर्तमान नेकपाको सरकार नेपाल र नेपाली जनताको हितमा होइन भारतीय विस्तारवादको छत्रछायाँमा गठन भएको हो भन्नुभयो ।
“कम्युनिष्टको सरकारले व्यक्तिको सेवा–सुविधामा होइन कामदार वर्गको शासन ल्याउन वर्गसङ्घर्षमा जोड दिन्छ ।” उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले मजदुरहरूको गाँस, वास र कामको सुनिश्चित गर्न समाजवादी क्रान्ति गर्नुपर्ने आवश्यकता औल्याउँदै नागरिकतादेखि नागरिकसम्म बेचबिखन गर्ने सरकार सच्चा कम्युनिस्ट हुनैसक्दैन भन्नुभयो ।
विदेशीलाई पनि सजिलै नेपाली नागरिकता दिने नागरिकता विधेयक पास गरी नेपालीलाई अल्पमतमा पारेर नेपाललाई भारतमा विलय गराउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य थापामगरले भन्नुभयो, “जीवन निर्वाह गर्न पसिना बगाउने श्रमिकहरू स्वाभीमान, इमान र देश बेच्दैनन् तर सरकारले ती सबै बेचिरहेको छ ।”
देश निर्माणमा जुटिरहेका मजदुरहरूको स्वास्थ्योपचार र ज्याला वृद्धिमा ध्यान नराखी सामान्य रोगको उपचारमा विदेश लागेर देशको करोडौँ रकम खर्च गर्ने सत्तासीन दल जनताको सरकार नहुने उल्लेख गर्दै उहाँले कामदार जनता महँगीको मारमा परिरहेको बेला सांसदको तलब वृद्धि गरेर फेरि महँगी बढाउने कार्यको विरोधमा मजदुर आन्दोलन आवश्यक छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले कम्युनिस्ट पार्टीले पुँजीपति वर्गको होइन सर्वहारा वर्गको पक्षमा गरेको आन्दोलनको समर्थन गर्छ भन्नुभयो ।
कामदार वर्गको प्रतिनिधित्व गर्नुपर्ने सरकार माफियाहरूको जालोमा फसिरहेको उल्लेख गर्दै उहाँले जनताको सम्पत्ति जोगाउन जनता नै सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनताको शक्ति र विरोधले सार्वजनिक सम्पत्ति जोगेको दृष्टान्त उल्लेख गर्दै उहाँले जनताको प्रजातन्त्र हुने समाजवाद स्थापना गर्न सङ्घर्षको खाँचो छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले अवसरवाद, संशोधनवाद र भारतीय एकाधिकारको विरोधमा मजदुर वर्गीय आन्दोलनको आवश्यकता रहेको उल्लेख गर्दै नेमकिपाले सडक र सदनमा जनताको भावनाको कदर गर्दै सङ्घर्ष गरिरहेको बताउनुभयो ।
“वर्तमान सरकार पुँजीपति वर्गको सञ्चालक समिति हो, सरकार भू–तस्कर र सुन तस्करी गर्ने गिरोहको थलो बनेको छ”, सांसद गोसाईले भन्नुभयो ।
“साम्राज्यवाद, नवउदारवाद, विस्तारवादको विरोधमा संसारका शोषित–पीडित जनताको मुक्तिको पक्षमा लड्नु कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय कर्तव्य हो”, उहाँले भन्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सृजना सैंजूले मे दिवस श्रमिकमाथि भएको शोषण, दमन र अत्याचारको विरोधसित जोडेको प्रसङ्ग उल्लेख गर्दै पुँजीवादी व्यवस्थाविरूद्ध मजदुर आन्दोलन अपरिहार्य छ भन्नुभयो ।
उत्पादन श्रमसँग जोडेको शिक्षाले शारीरिक र बौद्धिक मजदुरबीच रहेको भेद अन्त्य ह्ने विचार राख्दै उहाँले निजी क्षेत्रलाई प्राथमिकता दिएर शोषणमुक्त समाज बन्दैन, विदेशी लगानीले बहुसङ्ख्यक जनताको हित गर्दैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालको सभापतित्वमा भएको सो जनसभामा निर्माण मजदुर विष्णुराम दुमरू, सिकर्मी मजदुरका प्रतिनिधि रामसुन्दर सुवाल, यातायात मजदुरका प्रतिनिधि शिवराम सितिखू, औद्योगिक मजदुर प्रतिनिधि हरिकाजी कार्कीले पनि मजदुर समस्याबारे बोल्नुभएको थियो ।
जनसभामा आयोजक समितिका उपाध्यक्ष उपेन्द्र सुवालले स्वागत मन्तव्य दिनुभएको थियो ।
सभा हुनुअघि सिद्धपोखरीबाट सुरू भएको जुलुस नगर परिक्रमापछि दत्तात्रयमा सभा भएको थियो ।
सिद्धपोखरीमा नेक्रामसङ्घका केन्द्रीय सदस्य विक्रम ढुकुछू र अनिता जधारीले मे दिवसको आवश्यकताबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *