भर्खरै :

बीआरआई र ल्याटिन अमेरिका

कार्लोस अक्वीनो  (Carlos Aquino)
चिनियाँ राष्ट्रपति सी चिनफिङले क्षेत्र र मार्ग अगुवाइ (बेल्ट एन्ड रोड इनिसियटिभ) घोषणा गर्नुभएको ६ वर्ष भइसकेको छ । छोटोमा यसलाई बीआरआई भनिन्छ । आजको मितिसम्ममा विश्वका धेरै देश बीआरआईमा सामेल भइसकेका छन्, त्यसको समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । जसमध्ये १८ वटा देशहरू ल्याटिन अमेरिका र क्यारिबियाका छन् ।
सर्वप्रथम त क्षेत्र र मार्ग अगुवाइ (बीआरआई) ले करिब २ हजार वर्षभन्दा अगाडिदेखि नै एसिया र युरोपलाई जोड्ने प्राचीन रेशम मार्ग (Silk Road ) को पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । यो विचार प्राचीन स्थल मार्गलाई ब्युँताउने विचार थियो । पछि २१ औँ शताब्दीका लागि समुद्री रेशम मार्ग थप गर्ने अगुवाइ पनि अगाडि आयो, त्यसले चीनलाई दक्षिण एसिया, अफ्रिका र बाँकी विश्वसित जोड्छ । पाँच सय वर्ष अगाडि क्रिष्टोफर कोलम्बसले गरेको जहाजी यात्राले पनि २१ औँ शताब्दीको समुद्री रेशम मार्गको अवधारणालाई प्रेरित गरेको देखिन्छ ।
त्यसबाहेक हामीले सो¥हौँ शताब्दीको आधाआधीदेखि उन्नाइसौँ शताब्दीको पहिलो दशकसम्म मनिला ग्यालेओन्स व्यापारले स्पेनको उपनिवेश रहेको ल्यािटन अमेरिकासित चीन र समग्र एसियाको सामुद्रिक व्यापार हुने गरेको थियो । त्यसैले पूर्वी सामुद्रिक रेशम मार्ग पहिल्यै रहेको मान्न सकिन्छ ।
एउटा महादेशबाट अर्को महादेशमा सामान र मानिसहरू लान, जस्तै – एसियाबाट युरोप, एसियाबाट अफ्रिका र एसियाबाट ल्याटिन अमेरिकामा जान पूर्वाधारहरूको पुनः संरचना अत्यन्तै आवश्यक भइसकेको छ । व्यापार र लगानी भनेका कुरा यातायातको बन्दोबस्तले नै सजिलो र सस्तो बनाउने गर्छ । व्यापार, लगानी र यातायातको बन्दोबस्त नै आर्थिक विकास गर्ने र जनताको जीवनस्तर उकास्ने इन्जिनहरू हुन् । यस अर्थमा राष्ट्रपति सी चिनफिङको क्षेत्र र मार्गको अगुवाइको अवधारणा एउटा असल विचार हो ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूमा यातायातको सुविधा सुधार गर्न पूर्वाधार निर्माणमा लगानी अत्यावश्यक छ । तर, तीमध्ये धेरै देशहरू आफैले पूर्वाधार निर्माण गर्न र आफैले खर्च गर्न सक्दैनन् । यस्तो स्थितिमा चीनले पूर्वाधार निर्माणको लागि प्राविधिक सहयोग र निकै सहुलियत दरको ऋण उपलब्ध गराइरहेको छ र यसको सर्वत्र प्रशंसा भइरहेको छ । त्यतिमात्र होइन चीनका निर्माण कम्पनीहरूले ठूला–ठूला विकासका पूर्वाधार निर्माण गर्न आवश्यक प्रविधिहरू विकास गरिसकेका छन् र चीनमा मात्र नभई विश्वका विभिन्न देशमा बन्दरगाह, विमानस्थल, सडक, रेल्वे मार्ग, पुल, जलविद्युत् प्रसारण लाइन र आणविक ऊर्जा स्टेशनहरू समेत निर्माण गरिरहेका छन् । तिनीहरूले यस्ता पूर्वाधारहरू विश्वका अरू देशका कम्पनीहरूले भन्दा तुलनात्मकरूपमा कम लागतमा निर्माण सम्पन्न गरिरहेका छन् ।
त्यसैले जब चीनले क्षेत्र र मार्ग अगुवाइ (बीआरआई) घोषणा ग¥यो, त्यस देशले क्रमशः त्यसका लागि आवश्यक कयौँ वित्तीय संस्थानहरू पनि स्थापना ग¥यो । विशेषगरी रेशम मार्ग कोष (The Silk Road Fund) र एसियाली पूर्वाधार लगानी बैङ्क (Asian Infrastructure Investment Bank) को स्थापनाले बीआरआई अवधारणालाई व्यवहारमा लागू गर्न चालेको आवश्यक कदमको रूपमा लिन सकिन्छ ।
क्षेत्र र मार्ग अगुवाइले धेरै देशका रुचिहरूलाई आकृष्ट ग¥यो । सन् २०१७ मे महिनामा पेइचिङमा अन्तर्राष्ट्रिय सहयोगका लागि पहिलो बेल्ट एन्ड रोड फोरम त्यसको पुष्टि भयो । अहिले दोस्रो बेल्ट एन्ड रोड फोरम भइरहेको छ, धेरै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले उक्त सम्मेलनमा भाग लिइरहेका छन् ।
(दोस्रो बेल्ट एन्ड रोड फोरम यही अप्रिल २५–२७ सम्म पेइचिङमा सम्पन्न भइसकेको छ ।)
ल्याटिन अमेरिका र बीआरआईको सन्दर्भमा अघि पनि उल्लेख गरिसकेँ, यस क्षेत्रका १८ वटा देशले बीआरआईको समझदारीमा हस्ताक्षर गरिसकेका छन् । बीआरआईमा सामेल नभएको एउटैमात्र ल्याटिन अमेरिकी देश पेरु हो । तर, त्यस देशको चीनसित स्वतन्त्र व्यापार क्षेत्र सम्झौता छ, जुन सम्झौताले सन् २०१० देखि लगातार दुई देशबीचको व्यापार वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भइरहेको छ । अहिले चीन पेरुको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ (सन् २०१८ मा) र पेरुको सबैभन्दा बढी वैदेशिक निर्यात (झण्डै २८ प्रतिशत) चीनमा मात्र हुन्छ भने संरा अमेरिकामा १७ प्रतिशत निर्यात हुन्छ । चिली, कोस्टारिका र पेरु मिलेर चीनसित स्वतन्त्र व्यापार क्षेत्र सम्झौता गरेका थिए । उक्त सम्झौतापछि चीनसितको व्यापारबाट तीनवटै देशले ठूलो लाभ प्राप्त गरिरहेका छन् ।
लगानी र वित्तीय सहायताको सन्दर्भमा पनि पेरुले चिनियाँ लगानी र आर्थिक सहयोगको ठूलो भाग प्राप्त गरिरहेको छ । चिनियाँ लगानी पेरुको खानी र ऊर्जा क्षेत्रमा मात्र नभई पूर्वाधार निर्माण र सडक स्तरोन्नतिमा समेत पुगेको छ । केही महिना पहिले विश्व आर्थिक मञ्च (डाभोस फोरम) को क्रममा चिनियाँ कम्पनी कोस्को शिपिङ् पोर्टस्ले पेरुको चान्क्या बन्दरगाह निर्माणका लागि ३ अर्ब अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेको थियो । चान्क्या बन्दरगाह पेरुको राजधानी लिमाबाट उत्तरमा अवस्थित अत्यन्त महत्वपूर्ण व्यापारिक सहर हो ।
जनता जनताबीचको सम्बन्धको कुरा गर्दा हालैका वर्षहरूमा कयौँ प्राज्ञिक आदानप्रदानहरू भएका छन् । ल्याटिन अमेरिकाका विद्यार्थीहरू चीनमा अध्ययन गर्न जाने र चिनियाँ विद्यार्थीहरू ल्याटिन अमेरिकी देशहरूमा अध्ययन गर्न जाने सङ्ख्यात्मकरूपमा निकै बढ्दो छ । त्यस्तै प्रशान्त महासागरको दुवैपट्टिबाट ठूलो सङ्ख्यामा प्राध्यापकहरूको पनि आवतजावत बढेको छ । म स्वयम् पनि त्यस्तैमध्ये एक हुँ । एक अर्काको भाषाको सिकाइ आपसी समझदारी विकासमा महत्वपूर्ण देखिएको छ ।
सारमा, बीआरआईले चीन र ल्याटिन अमेरिकाबीच मुख्य व्यापार, लगानी र आपसी समझदारी सुधार गर्नमा अत्यन्तै नयाँ मार्ग प्रदान गरेको छ । यस प्रकार मनिला–ग्यालेओन व्यापार मार्गको एक प्रकारले पुनरुत्थान भएको छ र ल्याटिन अमेरिकालाई चीन र बाँकी एसियासित जोड्ने सपना यथार्थमा परिणत भएको छ ।
मनिला ग्यालेओन व्यापारको क्रममा ल्याटिन अमेरिकाबाट चाँदी लगेर चीनमा तयारी वस्तु बनाइन्थ्यो र त्यही वस्तु फेरि ल्याटिन अमेरिका फर्काइन्थ्यो । व्यापारको यो विशेषता अहिलेको चीन–ल्याटिन अमेरिकाको व्यापारमा पनि देखिन्छ । तर, यसप्रकारको व्यापारको प्रवृत्तिलाई बदल्ने प्रावधान बीआरआई समझदारीमा उल्लेख छ । ल्याटिन अमेरिकाले अहिले पनि चीनमा खनिज र कृषि उत्पादनहरू पठाइरहेका छन्, साथसाथै चीनको आर्थिक विकासको अनुभव र चिनियाँ प्रविधि पनि भित्याइरहेका छन् ।
चालिस वर्ष अगाडि अर्थात् चीनले आर्थिक सुधार थाल्नु अगाडि विश्वसित त्यस देशको व्यापार खासै ठूलो थिएन । मुख्यतयाः केही कृषिजन्य उत्पादन र केही खास कलात्मक वस्तुमात्र निर्यात गर्ने गर्दथ्यो । तर, पछि आधुनिक प्रविधिको परिचयसँगै श्रमशक्तिको स्तरीयकरणसँगै त्यस्तै वस्तु सयौँ गुणा बढी परिमाणमा उत्पादन गर्ने गरेको छ । भौतिक पूर्वाधारहरूको साथै विभिन्न क्षेत्रको आधुनिकीकरणसँगै चीन आज विश्वकै आर्थिक शक्तिकेन्द्र बन्दै गएको छ जसले विश्वभरि नै आÇना स्तरीय तयारी वस्तु निर्यात गर्ने गर्दछ । ल्याटिन अमेरिकाले चीनको यस उदाहरणबाट सिक्नुपर्छ । चीनले नै मात्र पूर्वाधारको आधुनिकीकरणका लागि लगानी सँगसँगै प्रविधि पनि हस्तान्तरण गर्छ । ल्याटिन अमेरिकाले चीनको अनुभवबाट श्रमशक्तिलाई सुधार गर्ने सीप सिक्नुपर्छ ।
चीन र ल्याटिन अमेरिका परिपुरक अर्थतन्त्र भएका देशहरू हुन् । क्षेत्र र मार्ग अगुवाइले आर्थिक सम्बन्ध स्तरीयकरण गर्न सघाउ पु¥याउने निश्चित छ । ल्याटिन अमेरिकी देशहरूले यो अवसरलाई खेर फाल्नु हुँदैन र चीनले अत्यन्त व्यावहारिकरूपमा जीत–जीतको सम्बन्धलाई यथार्थमा परिणत गर्दै गएको छ ।
(लेखक पेरुको मायोर डे सान मार्को राष्ट्रिय विश्वविद्यालयको एसिया अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।)
(The Belt and Road Initiative and Latin America)
–People’s Daily online, April 26, 2019
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *