भर्खरै :

इरानबाट तेल आयात गर्न अमेरिकाको रोक : नेपालमा पनि तेलको मूल्य बढ्ने सम्भावना

काठमाडौँ, २३ वैशाख । गएको वैशाख १९ गतेदेखि संरा अमेरिकाले इरानसँग तेल आयात गर्न सबै देशलाई पूर्णरूपमा रोक लगाएको छ । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले गत महिना वैशाख १९ देखि लागू हुने गरी इरानसँग तेल आयात बन्द गर्न सबै देशलाई सूचना जारी गरेको थियो । इरानसँग तेल आयात गर्ने देशहरूमा विशेषतः भारत, चीन, जापान, दक्षिण कोरिया र टर्की छन् । वैशाख १९ को म्याद दिएर पम्पेओले कदाचित त्यसपछि पनि इरानसँग तेल खरिद बन्द नगरे तेल आयात गर्ने देशमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
संरा अमेरिकाको यस्तो घोषणाले सबभन्दा बढी प्रभावित हुने देश भारत हो । भारतले आफूलाई आवश्यक पर्ने कुल पेट्रोलियम पदार्थमध्ये ८० प्रतिशत आयात गर्छ । भारतले आयात गर्ने तेलको प्रमुख स्रोतमध्ये इरानको तेल पनि पर्दछ । भारतले आयात गर्ने कुल अप्रशोधित तेलको ११ प्रतिशत इरान एक्लैले आपूर्ति गर्दै आएको छ । संरा अमेरिकाले गरेको पछिल्लो घोषणाले भारतको तेल आयातमा गम्भीर असर पर्ने भएको छ । नेपाल पनि तेलको लागि भारतप्रति हालसम्म पूर्ण निर्भर रहँदै आएको छ । भारतीय आयल निगम नै नेपालमा तेल पठाउने एउटैमात्र आधिकारिक निकाय हो । भारतको तेल आयातमा हुने समस्याले नेपालको तेल आपूर्ति र मूल्यमा प्रभाव पार्ने देखिएको छ ।
इरानबाट तेल आयात गर्न संरा अमेरिकाले रोक लगाएपछि भारतले अन्य देशबाट तेल आयात गर्न प्रारम्भिक तयारी थालेको छ । भारतमा सत्रौँ लोकसभा चलिरहेको समयमा सरकारले तत्कालै जनस्तरमा असर पर्ने कुनै कदम चाल्न चाहेको छैन । त्यसो गर्दा चुनावी परिणाममा असर पर्नेमा सरकार सजग देखिएको छ ।
भारत संसारकै तेस्रो सबभन्दा ठूलो तेल खपतकर्ता देश हो । भारतले खपत गर्ने तेलमध्ये केही प्रतिशत नेपालमा पनि आयात हुने गर्छ ।
अर्को छिमेकी देश चीन इरानको सबभन्दा ठूलो तेल आयातकर्ता हो भने भारत इरानको तेल आयात गर्ने दोस्रो ठूलो साझेदार हो । तर, चीनले संरा अमेरिकाको सो घोषणा मान्ने मनस्थितिमा छैन । भारतले भने संरा अमेरिकाको आदेश नकारी हाल्ने अवस्थामा छैन । त्यसो त चीनले संरा अमेरिकी नीति नमान्दा त्यसको लाभ भारतले पनि उठाउन सक्ने नयाँ दिल्लीको विश्वास छ ।
कदाचित भारतले इरानसँग तेल आयात बन्द गरे भारतमा तेलको मूल्य निकै बढ्नेछ । तेलको मूल्यवृद्धिसँगै अन्य उपभोग्य तथा औद्योगिक उत्पादनको मूल्यमा समेत ठूलो वृद्धि हुनेछ । यसको प्रत्यक्ष मार भारतीय जनतामात्र होइन, नेपालीहरू पनि पर्ने स्थिति छ ।
सरकारले चीनसँग पनि तेल ल्याउन सक्ने सैद्धान्तिक सम्झौता गरे पनि त्यसको कार्यान्वयन भने अझै निकै टाढाको विषय हो । चीनबाट तेल ल्याउन अझै पनि उचित पूर्वाधारको बन्दोबस्त हुनै बाँकी छ ।
२०७२ सालमा भारतले नेपालमा थोपरेको नाकाबन्दीको समयमा तेलको वैकल्पिक स्रोतबारे निकै छलफल र अनेक प्रस्ताव आए तापनि नाकाबन्दीको अन्त्यसँगै छेपारोको कथाजस्तै भयो । सरकारले उत्तरबाट तेल आयात गर्न पूर्वाधार विकासमा ध्यान दिएन । सस्तो लोकप्रियताको लागि सरकारले लगातार चीनबाट रेल ल्याउने कुरा फलाक्दै ग¥यो । तर, अत्यावश्यक तेल आयातको लागि पूर्वाधार विकास गर्नसकेन । भारतीय तेल कर्पोरेसनबाहेक अन्य तेल आपूर्ति गर्ने निकायसँग पनि सम्झौता गर्नुपर्नेमा सरकार गम्भीर बन्न सकेन ।
इरानको तेल आयात बन्द भएलगत्तै भारतीय बजारमा तेलको कमी हुनेछ । आफ्नै बजारमा तेल अपुग भएपछि भारतले नेपाललाई या त निकै महँगोमा तेल बेच्नेछ अथवा निकै कममात्र तेल आपूर्ति गर्नेछ । यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्र र जनजीवनमा पर्नेछ । अन्तर्राष्ट्रिय परिस्थितिमा तेलको मूल्य दिनानुदिन बढ्दै जाने छनक देखिन्छ । तेल उत्पादक देशहरूको सङ्गठन भेनेजुयलाको राजनीतिक अस्थिरता र संरा अमेरिकी नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अझ बढ्दै जाने देखिन्छ ।
नेपाल आफैसँग पेट्रोलियम खानी नभएको अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न दीर्घकालीन योजनाको खाँचो छ । विशेषतः सवारी साधनमा खपत हुने तेलमात्र पनि हामीले कम गर्न सके नेपालमा तेलको आयात कम गर्न सकिन्छ । यसको लागि विद्युतीय सवारी प्रयोगबारे अनेकन पटक चर्चा भयो । तर, यो कुरा कुराकानीमा मात्र सीमित भएको छ । सस्तो लोकप्रियताको भोक मेटाउन प्रधानमन्त्रीले केही समयअघि केही विद्युत्तीय गाडीको उद्घाटन गरे । त्यसमा प्रधानमन्त्री विवादित बने । त्यसपछि कुनै पनि साना ठूला विद्युतीय योजनाको आयातबारे सरकारले योजना ल्याएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *