भर्खरै :

कृषिमा योगदान गर्ने पुरस्कृत

काठमाडौँ, २५ वैशाख (रासस) : नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेवापत पत्रकार, कृषक, कृषि संस्थालाई पुरस्कृत गरेको छ ।
परिषद्को २८औँ वार्षिकोत्सवका अवसरमा गोरखापत्रका सुरेशकुमार यादव, कृषि टेलिभिजनकी लक्ष्मी चौधरी तथा कृषक धनकुटाका ईन्द्रकुमार श्रेष्ठ, महोत्तरीका अनिलकुमार सिंह, नुवाकोटका सनोज महत, रुपन्देहीका ज्ञानकुमारी पुन, सुर्खेतका पे्रमबहादुर बोहरा, डडेल्धुराका टेकराज भट्ट र कास्कीस्थित मर्दीखोला रेन्बो ट्राउट फार्मलाई जनही रू पाँच हजारका साथै सम्मानपत्र प्रदान गरिएको छ ।
पुरस्कृत व्यक्ति तथा संस्थाले बेमौसमी तरकारी खेती तथा प्रविधि विस्तार, कृषि यान्त्रिकरणको विस्तार, उन्नत नश्लका बाख्राको स्रोत केन्द्र स्थापना, अन्नबालीको स्रोत बीउ उत्पादनका साथै सूचना तथा समाचार प्रवाहमा योगदान गर्नुभएको जनाइएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कृषि उत्पादन वृद्धि गरी राष्ट्रिय पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने उद्देश्यले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो ।
समाजवादी अर्थतन्त्रको विकासका लागि अनुसन्धानमा आधारित उत्पादन गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पछिल्लो समय विकास भएका प्रविधिलाई कृषि क्षेत्रमा उपयोग गर्नुपर्छ, कृषि उत्पादन बढाउन गरिने अनुसन्धान कृषकमैत्री बनाउनुपर्छ ।” दुई तिहाई जनता कृषि क्षेत्रमा आश्रित रहेकाले यसलाई मर्यादित पेशाका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै राज्यमन्त्री चौधरीले परिवर्तित संरचनामा ऐन नियममा भएका केही कानूनी समस्या संशोधनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव युवकध्वज जिसीले प्रादेशिक तहमा हुने हावापानी र उत्पादनको उत्पादकत्व परिमाणमा वृद्धि गर्न परिषद्ले अनुसन्धानलाई बढाउनपर्नेमा जोड दिनुभयो । परिषद्का कार्यकारी निर्देशक टेकबहादुर गुरुङले विभिन्न १३० बाली प्रजातिका ११ हजार ५०० बीउ सङ्कलन गरी जिन बैङ्कमा संरक्षण गरिएको बताउनुभयो । उक्त कार्यक्रममा परिषद्का २६ कर्मचारीलाई दीर्घसेवा पदक वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *