भर्खरै :

हाम्रो काँठ र मे दिवस

भैरव रिसाल
आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम ! नेपाली हाम्रा लागि यो के हो ? कविता हो कि ? कथा हो कि ? व्यङ्ग्य हो कि ? जस्तो लाग्छ । यो सपना हो मेरा लागि र म जस्ता धेरै नेपालीका लागि । यो प्रसङ्क आज म कोठामा बसेर लेख्ने, पढ्ने र कुरा गर्ने तर अरू काम गर्न नसक्ने मेरो लागि यी पङ्क्ति कोरिरहेको छैन । हिजो र अस्ति जब म काम गर्न सक्थेँ हातले, जीउले र हिड्नमात्र होइन गोडाले दौडिन सक्थेँ । त्यो सन्दर्भमा कोरिएका हुन् यी अक्षर । झण्डै झण्डै १४ घण्टा, १५ घण्टा र कहिले त १६ घण्टासम्म पनि काममा घोटिनुपर्ने । कस्तो अर्थतन्त्र भएको परिवारमा जन्मिएछ । यो स्थिति मेरो परिवारको मात्र होइन । यो अपवाद पनि होइन । प्रायः आम नागरिकहरूको हो । यसको अपवादमा शासक वर्ग, व्यापारी, जागिरे, सामन्त, जमिनदार र मुखियाहरू पर्थे । मेरा आमाहरूको दिनचर्या त अझ कडा थियो । त्यो अस्ति हाम्रा – सर्वसाधारणका आमाहरू, पत्नी, दिदी–बहिनी के गरी बाँच्थे, के–कसरी नानी पाउँथे, के–कसरी हुर्काउँथे, बढाउँथे, जो सकेको पढाउँथे । त्यसको सूक्ष्म अध्ययन हुनु र खोतल्नु जरूरी छ । यतिमात्र हो र एउटी आमाले यति धेरै नानी जन्माउँथिन् आजको पुस्ता त पत्याउँदै पत्याउँदैन । २० जना केटाकेटी जन्मँदासम्म छिँडी वा पिँढीमा न्वारान गरे पनि २१ सौँ नानी जन्मँदा भने घरको धुरीमा न्वारन गर्नुपर्छ भन्ने रहेछन् । धुरीमा न्वारन त सम्भव हुँदैन । किनभने धुरीमा आगो बाल्न हुँदैन तर न्वारनका लागि आगो नबाली हुँदैन । धुरीमा न्वारन गर्ने भनेको प्रतीकात्मक होला ।
समान काम असमान ज्याला
सन् १८८६ मा संरा अमेरिकाको शिकागो सहरमा एउटा आन्दोलन सुरू गरे औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूले काम गर्ने निश्चित समय किटान हुनुपर्छ भनेर । त्यतिबेला यस्ता माग अनौठा ठानिन्थे । तर, विश्वका मजदुर एक भएपछि यो आन्दोलन सफलतातिर अघि बढ्यो । २४ घण्टाको दिन र रातलाई तीन भागमा बाँडियो – आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम गर्ने गरी २४ घण्टाको समय विभाजन गरिन लागियो । हुँदा हुँदा यो आन्दोलनको नारा आज यस्तो हुन पुगेको छ । सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान । औपचारिकमात्र होइन अनौपचारिक क्षेत्रमा समेत काम गर्ने मजदुरले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष यो मजदुर दिवस धूमधामसँग मनाउने गरिन्छ । तर श्रमिकका पक्षमा भने नेपालमा खासै उल्लेखनीय काम हुनसकेको अनुभव भएको छैन । सङ्कठित वा औपचारिक क्षेत्रका समेत मजदुरहरू मे दिवसको उज्यालोमा पुग्न सकेको छैन भने अनौपचारिक या असङ्कठित क्षेत्रमा यो दिवस पुग्न सकेको छैन । अझै पनि महिला मजदुर र पुरूष मजदुरहरूबीच समान काममा पनि ज्याला असमान छ । ज्यालामात्र कहाँ हो र खाजामा समेत असमानता छ । असारमा धान रोपाइँ गर्दा लाठे (पुरूष) र रोपार (महिला) ज्यालामा करिब आधा नै फरक छ । ज्यालामात्र होइन खाजा पनि त्यस्तै घटीबढी छ । लाठेले दुईमाना च्यूरा खाजा पाउँछन् भने रोपाहारले एकमानामात्र पाउँछन् । यहाँ माना भनेको सरकारी छाप भएको मानो होइन परम्परागत तामाको मानो हो । त्यो सरकारी छापा मानोभन्दा सानो हुन्छ ।
यी सबै आफ्नै उत्पादन
नेपालको अर्थतन्त्र आधुनिक हुन सकेको छैन । नेपाली समाजको परम्परा सकेसम्म आफूलाई वर्ष दिनसम्म चाहिने उपभोग एवम् प्रयोगका वस्तु आफैँ उत्पादन गर्ने, आफैँ बनाउने । बजार नपुगेको अर्थतन्त्र र आफू र आफ्नो परिवारका निम्ति आवश्यक सबै वस्तु आफ्नै परिवारले उत्पादन गर्ने । धान, मकै, गहुँ, भटमास, कोदो, मास, मस्याङ, जौ, गहत, अदुवा, बेसार, आलु, साग, लसुन, प्याज, छ्यापी, गोलभँेडा, भण्टा, काउली, बन्दा, मूला, ग्याँठ, गान्टेमुला, गाजर, बोडी, सिमी, थरीथरीका करेला, तीते करेला, झुसे करेला, बरेला, चिचिण्डा, लौका, कुविण्डा, रायो, तोरी, चौँसुर, पालुङ्को, मेथी, सूप, धनियाँ, डुण्डु, कालतोरी आदिका साथ आफ्नै जग्गामा उब्जाई खाने चलनले गर्दा पनि मनोरञ्जन गर्न र आराम गर्न त आठ आठ घण्टा कहाँ पाउनु ! यसका साथै कति जनाले त कपासका बोट पनि लगाउने । धान खेतको आलीमा मास अथवा भटमास रोप्ने जसले गर्दा महिला किसानलाई अरू काम थपिने । धान सप्रियो भने ढल्ने, धानका सबै बाला खेतको हिलोमा नै टाँसिने । बेलैमा ढलेको धानको बोटको मुठा बाँधेन भने धान नै कुहिने । तसर्थ ढलेको धानको मुठा बाँध्नुपर्ने । ढलेको धानको मुठा पार्न विशेष जानेको मान्छे हुनुपर्ने जसको ज्याला पनि बढी पर्ने । त्यो युगमा प्रायः घरका छाना छ्वाली वा परालले छाएका हुने । त्यो घरको धुरी छाउने मान्छे पनि विशेषज्ञजस्तै खास सीप भएको हुनुपर्ने । जसको ज्याला पनि बढी । त्यसरी घर छाउने मान्छे धुरीबाट खसेर मरेका पनि घटना छन्, त्यसरी लडेर घाइते हुनेहरू त धेरै जना छन् ।
दसैँको तयारी कहाँ आराम !
दसैँ आउन लाग्यो चिउरा चाहिने । त्यतिबेलाको समाजमा काँचो इँटको हिलोमा लगाएको गारो, कच्ची छाने च्यूराको लागि छिटो पाक्ने थापाचिनियाँ धान खेतको छेउ र भित्तोमा लगाउने चलन । त्यो धान छिटो पाक्थ्यो, काट्यो, ल्यायो । च्युरा कुट्यो । पुरानो धानको चामल नहुनेहरूले दसैंमा त्यही थापाचिनियाँको भात पनि हुने । अब दसैँमा घर बाहिर भित्र पोत्नुपर्ने । त्यो घरको बाहिरी भाग पोत्न पनि कुशल मान्छे नै चाहिने । घरको पिँढीमा कति जनाकोमा काठका फलैचा–खाट–पनि हुने । त्यसरी फलैँचा, पिँढी र छिँडी, मूल ओछ्यानमा बस्दा भित्तामा अडेस लागिने । अडेस लाग्दा भित्तामा पोतेको रातो माटो अडेस लाग्ने मान्छेको लुगामा फोहर लाग्ने हुँदा गोबरमा घिरौला कुटेर मिसायो, बेस्करी घोल्यो र अडेस लाग्ने भित्तामा त्यो घिराँैलाको पात र गोबरको लेदो दलेपछि लुगामा भित्ताको रङ नसर्ने रहेछ । त्यसमा कुनै पनि रसायन मिसिएको नहुने । यस्तो रैथाने विज्ञान र कला खाँटी नेपालीको अनुसन्धानबाट पत्ता लागेको हो । अब घरको बाहिरी भाग र भित्री भाग पोत्ने, अडेस लाग्ने ठाउँका भित्तामा लेदोको लिउन लाउने काम सकियो । दसैंका लागि चामल, च्यूरालगायत तयार गर्ने काम सकियो । काट्ने भाँडा, खुकुरी, खुँदा, चुलेसी, चक्कु, कर्द, हतियारहरू साँध लगाउन कामी र कर्मीकहाँ लानुपर्ने । दसैँ तयार गर्दा कहाँको आठ घण्टा आराम ?
यसको के तात्पर्य, के अर्थ ?
यिनै ताक बारीको काम पनि छ्याप्पै हुने । मकैको टुप्पा भाँच्ने, मकै भाँच्ने, मकै नङ्ग्याउने, झुत्ता बनाउने, पुड्का र नपुड्का छुट्याउने, झुत्ताको थाङग्रो हाल्ने, पुड्का मकै छोडाउने र सुकाएर थन्क्याउने, बारीको भटमास उखेल्ने र घर ल्याएर सुकाउने । उता ढोड फाँड्ने, बारी खन्ने, त्यसअघि नै मल बोकेर बारीमा लैजाने र मल छर्ने, मकैका जरा उखेलेर घरमा ल्याई सुकाउने, भटमास चुट्ने, केलाउने, भटमास सुकाउने, भटमासको बोट पनि सुकाउने, मकैका ढोड पनि सुकाउने, सुकेपछि परालका जुइनाले बिटा पार्ने र थन्क्याउने, बारी खन्ने, तोरी छर्नेलगायतका काम पनि दसैँताक नै पर्ने नेपाली पहाडी बस्तीको प्रचलन । अब दसैँको लगत्तै धान पाक्ने हुँदा धान काटचुट, धान बोकेर घर ल्याउने, थुपार्ने, केही दिनपछि धान सुकाउ, बताउ, थन्क्याउ । तलसिङ (जग्गाधनीकहाँ) कुत लैजाउ । ताइचुन धान आएपछि धान थ्रेसरले झार्नुपर्ने हुँदा पठुवा चुट्ने, नलुवा (धानको बोट) को कुनिउँ लाउन नपर्ने पठुवा चुट्न नपर्ने, परालको मुठा पार्न, मुठाको कल्ली पार्न पनि नपर्ने भो । नत्र त्यसअघि, तौली, मार्सी, थापाचिनियाँ, मसिनो, गुण्टे तौलीजस्ता विभिन्न जातका धान खेती गर्दा नलुवाको कुनिउँ लाउनुपर्ने, पठुवा चुट्नुपर्ने, परालको मुठा बाँध्न सुकाउने, सुकेपछि परालको कल्ली पार्ने, ती पराल घर लगेपछि परालको कुनिउँ लाउनुपर्ने । उता खेत खन्न त्यसअघि नै मल छर्नुपर्ने । १८–२० घण्टा काममा जोतिनुपर्ने अनि यो तीन वटा आठ घण्टाको के तात्पर्य, के अर्थ ?
आजको मान्छे रोगी छ
यही आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको सैद्धान्तिक पक्षलाई ध्यान दिँदा पनि हाम्रो नेपालको अर्थतन्त्र कृषिमा आधारित छ । अझै पनि नेपालको अर्थतन्त्रको ६५ प्रतिशतभन्दा बढी अंश कृषिमै निर्भर छ । कृषि पनि असङ्कठित छ, व्यक्तिगत, नितान्त व्यक्तिगत । यो आर्थिक वर्षमा ६ लाख लगभग मेट्रिक टन बढी धान फल्यो । जसका कारण नेपालको आर्थिक वृद्धि दर झण्डै ७ प्रतिशत बढेको देखियो । यसको तात्पर्य नेपालको विकास धानको विकासमा अडेको छ भन्दा बढी नहोला । यो परिप्रेक्ष्य र नेपालको धानखेतीको परम्परागत प्रचलनतर्फ ध्यान दिँदा वा खोतल्दा निजी घरायसी पारिवारिक परिवेशमा यी आठघण्टे शैली निर्वाह गर्न असहज छ । यसका विकल्प छन्, छैनन्, भए के के छन् । नभए के गर्न सकिन्छ भन्नेजस्ता बुँदाहरूतर्फ ध्यानाकर्षण गराउन उपस्थित भएको हुँ । म किशोर वा युवक छँदाको अवस्था छैन अहिले यद्यपि, तथापि अहिले परिवर्तित सन्दर्भमा त्यतिबेलाको जीवनशैली छैन । घरमा गाई–भैँसी पाल्ने चलन निकै पातलिएको छ । र त केटाकेटी र पाको पुस्ताले शुद्ध दूध दही पनि खान पाउँदैनन् । अनेक हानिकारक रसायन मिश्रित असुरक्षित दूध खान्छ, असुरक्षित पानी खान्छ । असुरक्षित तरकारी र रङ्क मिसिएको दाल र गेडागुडी खान्छ । ती सबैका कारण धेरै रोग बोकेर बाँचेको छ आजको नेपाली मान्छे । माथिको आठघण्टे जीवन प्रणाली नआउँदासम्मको नेपाली मान्छे काम गथ्र्यो, शारीरिक एवम् मानसिक एक्सरसाइज पुग्यो, खाएको पच्थ्यो, निदाउँथ्यो र स्वस्थ हुन्थ्यो । तर आज त्यो छैन ।
पुनरावलोकन खाँचो
आजको काठमाडौँ खाल्डोको काँठको जीवन के हराएको के हराएको जस्तो भएको छ । बाहिरबाट आएका चार आना, तीन आना, दुई आना जग्गा किनेर त्यतिमै घर बनाई निर्वाह गर्नेहरूको बाहुल्य भएको छ । नवआगन्तुकहरू खतरासँग जुध्न सक्ने र केही न केही सीप वा कार्य क्षमता भएको मान्छे हुन्छ प्रायः । केही न केही पेशा व्यवसाय गर्ने नै छन् प्रायः केटाकेटीको पढाइमा बढी ध्यान दिन्छन् तिनीहरू जो रैथाने काँठे त्यति लागिपरी गर्दैनन् । अस्ति पराल, धुस्नु, छ्वाली, ढोड, नर्कट, मकैको बोटको जराले खाना पकाउँथ्यो । ऊ आज ग्यासमा खाना पकाउँछ । जग्गाको भाउ अकस्मात् धेरै बढ्यो । तब जग्गा बेचेर सम्पन्न भएका छन् केही । काँठको जीवनशैली २०२१ सालको भूमिसुधार, ताइचिन धान र लेभो गहँुको बीउ आएपछि उकासिन थालेको हो । जग्गाधनीलाई रोपनीको बढीमा २३ पाथी दुई माना धान वर्षमा तिरेपछि अरू सम्पूर्ण उत्पादन मोही किसानको हुन लागेदेखि काँठको चालचलन, संस्कृति र सभ्यतामा परिवर्तन आउन लागेको हो । मलाई गाउँमा भन्दै थिए, वन जोगाउन कठिन छैन अचेल किनभने भान्साका लागि दाउरा चाहिँदैन, ग्यास चुल्होमा पकाउँछन् । घर बनाउँदा चाहिने खापा, चौकोस, दलिन, निदाल, थाम, चिर्पट, भाटा, चोयाजस्ता केही सामान प्रयोग हुँदैनन् हिजो आज । ती सबै सामान कि आयात गरिएका काठबाट बनाइन्छ कि फलामबाट, त्यसकारण पनि वन सुरक्षित छ रे । अबको काठे जरूरी शारीरिक काम पनि नगरेर, तास खेलेर वा अर्काले खेलेको हरेर समय बर्बाद गर्दैछ एउटा पुस्ता । तसर्थ काँठको जीवनशैली पुनरावलोकनको खाँचो परेको छ ।
किन उठाएनौ यो मुद्दा ?
यो काठमाडौँ खाल्डोको काँठको सन्दर्भ विश्व मे दिवसको आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आरामको मुटु छुने नाराले उठाउन सगसग लाग्यो । म त्यहीँ युगको सक्कली काँठे न परेँ । जन्मेको गुण्डुको तिथली । ताथली होइन है ! ताथली त मामाघर हो । आमालाई झाडावान्ताको रोग लागेपछि अस्पताल नलगी पशुपति आर्यघाट लगिएछ । उहाँको त्यहीँ प्राणान्त भएछ । तीन वर्षमै म टुहुरो भएँ, बा विधुर हुनुभो । त्यो विरक्तिले बा बसाइँ सरी दधिकोट आउनुभएछ । मैले दधिकोटबाट लुभू भाषा पाठशालामा पढ्न पाएँ । कक्षा १० पढ्ने बेलामा काठमाडौँ रानीपोखरी संस्कृत प्रधान पाठशालाबाट तीनधारा पाठशालामा भर्ना भएरमात्र पढ्न पाएको हुँ । अन्यथा म पनि गाउँको पुरेत भएर जीवन व्यतित गर्थेँ । आज मानिसहरू सजिलो जीवन खोज्छन् । सजिलो शैलीमा हुर्केको, बढेको, पढेको प्रायः मान्छेले खतरायुक्त काम सारै कम या अपवादले मात्र गर्छन् तसर्थ जीवन सङ्घर्षपूर्ण भएन भने बाँचेको स्वाद आउँदैन भन्छ मेरो विगत । म खाँटी काँठे । कस्तो थियो त्यतिबेला काँठको जीवनपद्धति भन्ने बुझेर नआत्तिन र नमात्तिन सघाउ पुगोस् भन्ने उद्देश्यले मात्र यो लेख्ने प्रयास गरेको हो । संरा अमेरिका अढाइ सय वर्ष अघिसम्म एक प्रथा जङ्कली सभ्यतामा नै थियो । बल्ल बल्ल जर्ज वासिङटन राष्ट्रपति भएपछि नयाँ उज्यालो पाएको हो । तर सन् १८८६ मै शिकागोमा आठघण्टे आन्दोलन प्रारम्भ गरेछ । हाम्रो सभ्यता र संस्कृति धेरै अघिदेखि सम्पन्न हुँदाहुँदै पनि त्यसो गर्न सकेनौँ भनी यो मुद्दा उठाएको हुँ ।
२०७६ वैशाख २२

Leave a Reply

Your email address will not be published. Required fields are marked *