भर्खरै :

ह्वान ग्वाइडोका मुख्य सहयोगी पक्राउ

काराकस, ९ मे । भेनेजुयलाको राष्ट्रिय संविधानसभाका अध्यक्ष डायोसडाडो काबिल्लोले विपक्षी नियन्त्रित राष्ट्रिय सभाका उपनेता एडगर जामब्रानोलाई बुधबार गएको अप्रिल ३० को असफल सत्ताविप्लवमा संलग्न भएको अभियोगमा गिरफ्तार गरेको पुष्टि गर्नुभएको छ ।
स्थानीय समाचारस्रोत अनुसार पूर्ण कानुनी आधारसहित गुप्तचर विभागले जामब्रानोको निजी कारबाट गिरफ्तार गरेको थियो । बुधबार राति टेलिभिजनमा प्रसारण गरिएको मन्तव्यमा डायोसडाडोले जामब्रानोको अधिकारको ‘पूर्ण रक्षा’ गरिने बताउनुभयो ।
गिरफ्तारीपछि जामब्रानोले अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय सभाका नेता ह्वान ग्वाइडोको नेतृत्वमा भएको असफल सत्ताविप्लवसम्बन्धी महत्वपूर्ण सूचना दिनुभएको बताइएको छ ।
संविधानसभाले असफल सत्ताविप्लव प्रयासमा सहभागी बनेका सात जना राष्ट्रिय सभा सदस्यलाई कानुनी विशेषअधिकारबाट वञ्चित गर्ने निर्णय गरेको छ । सात जना सदस्यमध्ये जामब्रानो पनि हुन् ।
भेनेजुयलाको सर्वोच्च अदालतले षड्यन्त्र, विद्रोह र देशद्रोह गरेको अभियोगमा उनीहरूविरुद्ध कानुनी कार्वाही गर्न आदेश जारी गरेको छ ।
काबिल्लोले राष्ट्रिय सभाका अन्य तीन जना सदस्यलाई पनि सो सत्ताविप्लवमा सामेल भएको अभियोगमा विशेष अधिकारबाट वञ्चित गर्न र गिरफ्तार गर्न आदेश जारी गरेको छ ।
यसअघि बुधबार विपक्षी दलका नेता ग्वाइडोले जामब्रानोलाई गुप्तचर निकायले कब्जा गरेको भन्दै आफ्ना सहयोगीलाई अपहरण गरेको र संसदको ‘नियमित कारबाही’ मा दख्खल पु¥याउन खोजेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *