भर्खरै :

अत्यधिक गर्मीले विद्युतीय सामग्रीको व्यापारमा वृद्धि

– काशीराम शर्मा
बाँके, २९ वैशाख । नेपालगञ्जमा गर्मी अत्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार शनिबार यहाँका अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भन्नुभयो, “शनिबार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो ।” उहाँका अनुसार नेपालगञ्जमा सन् २०१२ जून १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सर्वाधिक गर्मीका साथै तातो हावा (लु) चल्न थालेपछि यहाँको जनजीवन उकुसमुकुस बनेसँगै गर्मी छल्न प्रयोग गरिने विद्युतीय सामग्रीको व्यापार नेपालगञ्जमा ह्वात्तै बढेको छ । गर्मी बढेसँगै चिसो राख्ने आवश्यक सामान किन्न बजार धाउनेहरूको सङ्ख्या बढ्न थालेको छ । गर्मी बढेसँगै विद्युतीय सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ ।
गर्मीबाट बच्न उपभोक्ताहरू पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्रीप्रति आकर्षित बनेका छन् । त्यसैले पनि यसको व्यवसायमा सक्रियहरूलाई यतिबेला भ्याइनभ्याई छ । वैशाखको सुरुआतदेखि नै बढेको पङ्खा, एसी, कुलरको व्यापार महिनाको अन्तिमसम्म आइपुग्दा दोब्बरले बढेको छ । अझै पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्रीको व्यापारमा वृद्धि हुने व्यवसायीहरूको विश्वास छ ।
नेपालगञ्जको घरबारी टोलमा रहेको सहनाज इलेक्ट्रोनिक्सका सञ्चालक सफिक अहमद साहका अनुसार गर्मी बढेसँगै गर्मीका समयमा प्रयोग गरिने विभिन्न घरायसी विद्युतीय सामग्रीहरूको व्यापार बढेको छ । गर्मीमा प्रयोग गरिने पङ्खा, एसी, कुलरलगायत सामग्रीहरूको माग बढ्दै गएको सञ्चालक साहले जानकारी दिनुभयो ।
सञ्चालक साहले भन्नुभयो, “गर्मी बढेपछि औसत व्यापार हुने भए पनि केही दिनयता गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीहरूको खपत बढेको छ ।”
नेपालगञ्ज–१९ का रविन शर्मा गर्मी अत्यधिक बढेका कारण आफूले घरमा एसी जोड्न बाध्य हुनुपरेको बताउनुहुन्छ । “गर्मीले रातभर सुत्न गा¥हो भयो, एसी जोडेपछि गर्मीबाट बच्न थोरै भए पनि राहत मिलेको छ,” शर्माले भन्नुभयो । गर्मी अत्यधिक बढेपछि उपभोक्ताहरूले विद्युतीय सामग्रीहरू खरिद गरेर प्रयोग गर्न थालेका हुन् ।
नेपालगञ्जमा तीन दर्जनभन्दा बढी इलेक्टा«ेनिक्स पसल रहेका छन् । यी सबै पसलमा गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीको बिक्री बढेको छ । व्यवसायीहरूले अघिल्लो वर्षको तुलनामा यस वर्षको गर्मीमा ५० देखि ६० प्रतिशतसम्मको व्यापार बढ्ने लक्ष्य लिएका छन् । उनीहरूका अनुसार अहिले नेपाली बजारमा दर्जनौँ नाम तथा ब्राण्डका एसीहरू भित्रिएका छन् ।
नाम र कम्पनीअनुसार मूल्य पनि फरक–फरक रहेको व्यवसायी बताउँछन् । बजारमा नक्कली सामानको बिगबिगी रहेकाले उपभोक्ताले पनि सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्राण्ड तथा फिचरका बारेमा सजग हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *