भर्खरै :

सरकारी कर्मचारीलाई कामको नतिजामुखी बनाउनुपर्ने

काठमाडौँ, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारी कर्मचारीलाई दैनिक हाजिरीमुखीमात्र होइन कामको नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती विधेयक, २०७५ को दफावार छलफलमा मङ्गलबार सांसद सुवालले सरकारी कर्मचारीको ट्रेड युनियनलाई सुविधा र सहुलियतमा मात्र केन्द्रित नगरी कर्मचारीको नतिजामुखी काममा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारी स्वामित्व भएको तीनवटा बैङ्कमा भएका कर्मचारी सङ्ख्याको झण्डै आधा कर्मचारीले निजी ३०–३५ वटा बैङ्क सञ्चालन भइरहेको तस्वीरले सरकारी कर्मचारीको कार्यकुशलता देखाउँछ, सांसद सुवालले उल्लेख गर्नुभयो ।
बैठकमा प्रशासनमन्त्री लालबाबु पण्डितले विभागीय प्रमुखसम्म मात्र कार्यसम्पादन गर्नसक्ने बताएपछि सांसदहरूले सबै तहका कर्मचारीलाई कार्यसम्पादन करार गराई जिम्मेवार नबनाइएकैले सिंहदरबारका कार्यालयहरू फोहर भएको छलफलमा राखे ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७६ को सिद्धान्त र प्राथमिकतामाथि वैशाख २९, ३० र ३१ गते भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नबारे गोलमटोल जवाफ दिनुभयो ।
सभामुख कृष्णबहादुर महराले छलफलमा सांसदहरूले उठाएका बजेटमा समावेश गर्न अर्थ मन्त्रालयमा लेखी पठाउने जानकारी गराउनुभयो ।
प्रतिनिधिसभाको अर्काे बैठक जेठ ६ गते बिहान ११ बजेसम्मको लागि स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *