भर्खरै :

आन्दोलनरत शिक्षक र शिक्षामन्त्रीबीच वार्ता

काठमाडाँै, ३१ बैशाख । अनसनरत अस्थायी एवम् करार शिक्षकहरू र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच मङ्गलबार वार्ता भएको छ । सङ्घर्षरत शिक्षक प्रतिनिधिहरूसँगको वार्तामा मन्त्री पोखरेलले शिक्षकहरूका माग पूरा गर्न आफू संवेदनशील भएको भन्दै सरकार, शिक्षक महासङ्घ र आन्दोलनरत शिक्षकबीचको संवादले समस्याको निकास आउनेमा आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आमरण अनसनको उपलब्धि हासिल होला । तर, अनसन बसेको व्यक्तिको जीवन फिर्ता गर्न सकिंदैन । त्यसैले आन्दोलनरत शिक्षकहरू स्वयम् त्यसमा गम्भीर हुनुपर्छ ।”
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले अस्थायी एवम् करार शिक्षकहरूको रोजगारी सुनिश्चितताको पहल गर्न र अनसनरत शिक्षकहरूको स्वास्थ्य बिग्रँदै गएको अवस्थामा जीवन रक्षाको लागि सबै पक्ष एक ठाउँमा आउन जरुरी भएको बताउनुभयो ।
वार्तामा अस्थायी एवम् करार शिक्षक केन्द्रीय सङ्घर्ष समिति आन्दोलन परिचालन समितिका संयोजक होमनाथ चौलागाईंले शिक्षकहरूको रोजगारीको सुनिश्चितता नै आन्दोलनको पहिलो माग भएको बताउनुभयो । “हामीलाई छिटोभन्दा छिटो विद्यालय जाने अवस्था सिर्जना गरियोस् । हाम्रा माग पूरा गरेर सकेसम्म चाँडो कक्षाकोठामा जान चाहन्छौं ।”, उहाँले भन्नुभयो ।
समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले आन्दोलन पूरा नभए आमरण अनसन बस्ने शिक्षकहरूको सङ्ख्या बढ्दै जाने चेतावनी दिनुभयो । वार्तामा शिक्षा सचिव खगराज बराल, शिक्षा मन्त्रालयको वार्ता टोलीका संयोजक कृष्ण काप्री, अस्थायी एवम् करार शिक्षक आन्दोलन परिचालन समितिका सह–संयोजक जीवन सुवाल, विगु शाह, रेणु प्रधानलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *